आगलागीबाट रु पाँच लाखको क्षति



राजविराज, ५ माघ । सप्तरीको शम्भुनाथ नगरपालिका–६ स्थित एक पसलमा मङ्गलबार आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ ।

स्थानीय विनोदकुमार गुप्ताको किराना पसलमा विद्युत् सर्ट भई अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।

सो आगलागीबाट गुप्ताको पसलभित्र रहेका खाद्यान्न सामग्री र नगद गरी अन्दाजी रु पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगोलाई स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएका थिए ।

कम्बल वितरण

यसैबीच, धर्मी हल्फा महिला विकास क्लब, लालापट्टीले सप्तरीको तिलाठी गाविसको ८ र ९ नं वडामा मङ्गलबार कम्बल वितरण गरेको छ ।

केही दिनदेखि तराई मधेसमा बढेको चिसोका कारण प्रभावित क्षेत्रमा धर्मी हल्फा महिला विकास क्लबले यहाँका विपन्न परिवारलाई कम्बल वितरण गरेको हो ।

क्लबका अध्यक्ष समाजसेवी इन्जिनियर सूर्यनारायण यादवले १०० विपन्न, अपाङ्ग, एकल महिला र दलित परिवारलाई एक–एक थान कम्बल वितरण गर्नुभएको हो ।

यस्तै, सो क्लबले यसअघि जिल्लाको इटहरि विष्णुपुर गाविसको ६, ७, ८ र ९ वडाका रन्जितपुर र गोरगामा रहेका विपन्न, दलित, विधवा र अपाङग गरी १०२ परिवारलाई ब्लाङ्केट समेत वितरण गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्