सिंगै टोल भूमाफियाको नाममा ८७ घरधुरी स्थानीयको बिचल्ली



सञ्जय कार्की, रौतहट
तहटको लक्ष्मिनिया गाविस–२ विजयपुर टोलको झन्डै चार बिघा जमिन भूमाफियाले आफ्नो नाममा पास गराएको रहस्य खुलेको छ। भूमाफियाले आफ्नो नाममा गराएको दुई बिघा ९ कट्ठा ८ धुर जग्गामा ८७ घरधुरीको सिंगो बस्ती रहेको छ भने १ बिगाहा ५ धुर जग्गा खोला किनारमा रहेको खुलेको छ।

भूमाफियाले बस्तीको घर आई आफ्नो नम्बरी जमिन भन्दै भत्काउन भनेपछि यसको रहस्य खुलेको हो। सरकारी कागजपत्र कीर्ते गरी पर्सा जिल्लाबाट नेपाली नागरिकताको प्रमाणपत्र बनाउन सफल भारत कोलकाता निवासी जयन्त कृष्णमैत्रको नामबाट तत्कालीन सरकारले २०२५ सालमा २८ बिघा जग्गा छोडेर हदबन्दी भन्दा बढीको जमिन राष्ट्रियकरण गरेको थियो। २०३६ सालमा लालबकैया नदीमा आएको बाढीले फतुवा हर्षाहा गाविसको बस्ती नै बगाएपछि तत्कालीन जिल्ला प्रशासन र जिल्ला पञ्चायतको निर्णयबाट बाढीपीडितलाई लक्ष्मिनियाको विजयपुरमा स्थानान्तरण गरिएको थियो। भारतीय उनै मैत्रको नाममा रहेको सो स्थानको जग्गा भूमाफियाले काठमाडौं जिल्ला अदालतको अधिकृत वारेशनामाको आधारमा फतुवा हर्षाहा–४ का नवलकिशोर राय यादवको नाममा पास गराएको खुल्न आएको छ।

बाढीपीडितका लागि राज्यले उपलब्ध गराएको जग्गामध्येको कित्ता नम्बर १०८ र २४६ को १ बिघा ९ कट्ठा १३ धुर जग्गा नवलकिशोर राय यादवको नाममा पास गरिएको छ भने बस्तीसहितको २ बिघा ८ कट्ठा जग्गा भने जिल्ला प्रशासन रौतहटले तत्कालका लागि रोक्का गरेको छ। मालपोत कार्यालय रौतहटका निमित प्रमुख चन्द्रबहादुर भण्डारीले भने हाल बस्ती रहेको २ बिघा ८ कट्ठा जग्गा प्रमुख जिल्ला अधिकारीको आदेशमा रोक्का गरिएको भए पनि दुई कित्ता जग्गा भने काठमाडौं जिल्ला अदालतको वारेशनामाकै आधारमा नवलकिशोर राय यादवको नाममा पास गरिएको बताउनुभयो।

मैत्रको नाममा जारी गरेको नागरिकता प्रमाणपत्र नम्बर १६०३०३३१४ को रेकर्ड हेर्दा सो नागरिकाता दुर्गाकुमारी ठकुरीको नाममा फेला परेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। पिताको नाम गोपाल कृष्ण मैत्र र ठेगाना वीरगन्ज–५ पर्सा लेखिएको सो नागरिकता नक्कली रहेको जिल्ला प्रशासन कार्यालय पर्साको ठहर छ। २०३२⁄३३ सालको रेकर्डमा सो नागरिकता एक महिलाको नाममा रहेको देखिन्छ।

पर्सा जिल्ला प्रशासन कार्यालयबाट जारी भएको देखाइएको नक्कली नागरिकताको प्रमाणपत्र र लक्ष्मिनिया दोस्तीया गाविसको नक्कली सिफारिसका आधारमा यादवसहितको संलग्नतामा भूमाफियाले काठमाडौं जिल्ला अदालतबाट वारेसनामा बनाएर रौतहट मालपोतमा पेस गरेर सो बस्ती भएको जमिन बिक्री गरेका हुन्।

भूमाफियाले लक्ष्मिनिया दोस्तीया गाविसको नक्कली लेटरप्याड र सरकारी छापसमेत कीर्ते बनाएर आफैंले घरबाटो प्रमाणित गरेर मालपोत कार्यालयको नाममा काटेको पत्रसमेत नक्कली रहेको छ। लक्ष्मिनिया दोस्तीया गाविसको कार्यालयका अनुसार २०७३ मंसिर ३ गते मालपोत कार्यालय रौतहटलाई लेखिएको पत्रको चलानी नं ३२३ मा घरबाटो प्रमाणितसम्बन्धी कुनै पत्र नकाटिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्