पाठ्यपुस्तकमा फेरि तनाव “पैसै छैन्, कसरी छाप्नु ?”



ईश्वरराज ढकाल
काठमाडौं
द्यालय तहको पाठ्यपुस्तक छाप्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले रकम अभाव भएको कारण देखाउँदै २५ करोड रुपियाँ माग गरेको छ।

केन्द्रले तत्काल रकम उपलब्ध नगराए पाठ्यपुस्तक छाप्नै नसक्ने चेतावनी दिएको छ। केन्द्रका अधिकारीले तत्काल पाठ्यपुस्तक छपाइ गर्न उक्त रकम माग गरेको हो। शिक्षा राज्यमन्त्री धनमाया विक, जनक शिक्षा बोर्डका अध्यक्ष एवं शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ, शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीसहित बसेको बोर्ड बैठकमा तोकिएको समयमा पाठ्यपुस्तक पुर्याउन सबै सरोकारवाला लागिपर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

बैठकमा तत्काल केन्द्रमा महाप्रबन्धक नियुक्त गर्नुपर्ने विषयमा चर्को बहस भएको थियो। हाल पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक काप्रीलाई केन्द्रको महाप्रबन्धकको जिम्मेवारी दिइएको छ। अर्थ मन्त्रालयले केन्द्रको वास्तविक अध्ययन गर्न एडीबीलाई अनुरोध गरेको र एडीबीले दुई सदस्यीय समिति गठन गरी केन्द्रको वास्तविक विषय अध्ययन गरेको थियो।

केन्द्रको बोर्डले एडीबीका कन्सल्टेन्टद्वय अजितनारायण सिंह र विमल वाग्लेलाई बोलाएको थियो। कन्सल्टेन्टले केन्द्रमा महाप्रबन्धक नियुक्ति गरी थप काम अघि बढाउनुपर्ने बताएका थिए। केन्द्रका निर्देशक कपिल पोखरेलले राजनीतिक नियुक्तिबाट नभई शिक्षा मन्त्रालय र केन्द्रबाटै महाप्रबन्धक बनाउनुपर्ने धारणा एडीबीको रहेको बताउनुभएको थियो। ‘त्यसो भए मात्रै एडीबीले तत्काल केन्द्रमा पाठ्यपुस्तक छपाइ गर्न २५ करोड उपलब्ध गर्न सक्ने बताएका थिए’ –बोर्डको बैठकको बारेमा जानकारी गराउँदै निर्देशक पोखरेलले भन्नुभयो।

केन्द्रले माग गरेअनुसार रकम उपलब्ध नगराए आउँदो शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छपाइ गर्न नसकिने पोखरेलको भनाइ छ। केन्द्रले हाल साझा प्रकाशनबाट लिनुपर्ने १४ करोड रुपियाँ अर्थ मन्त्रालयबाट लिएर पाठ्यपुस्तक छपाइको काम गर्दै आएको छ। ‘रकम छैन के गरी पुस्तक छाप्ने? तत्काल माग गरेको २५ करोड रुपियाँ नदिए केही दिनपछि काम गर्ने सक्ने अवस्था रहँदैन’ –केन्द्रका निर्देशक पोखरेलले भन्नुभयो।
पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशकलाई केन्द्रको समेत जिम्मा दिएका कारण काम भद्रगोल हुँदै आएको जनकका कर्मचारीले बताएका छन्। ‘पाठ्यक्रम विकास केन्द्र हेर्ने कि जनकको महाप्रबन्धकको हैसियतले काम गर्ने?’, ती कर्मचारीले भने– ‘दुवैतिर काम गर्दा दुवै निकायलाई समस्या परेको छ।’

उता तोकेको समयमा पाठ्यपुस्तक छपाइ गर्न नसक्दा आगामी शैक्षिक सत्रमा पाठ्यपुस्तकको चरम अभाव हुने देखिएको छ। जनकले महाप्रबन्धक खोज्ने र निजीले अधिकार खोज्दै अहिलेसम्म काम नगर्नाले आगामी वर्ष पाठ्यपुस्तकको चरम अभाव देखिने भएको हो। निजीका प्रतिनिधि दीपक भण्डारीले कक्षा १ र २ को रंगिन पुस्तक छपाइ गर्ने भनेको सरकारले अहिलेसम्म तयारी नै नगरेको आरोप लगाउँदै भन्नुभयो– ‘गत वर्ष स्टक भएको एक कलरको किताब फिर्ता नलिएसम्म निजीले काम गर्न सक्ने अवस्था देखिँदैन।’

पुस्तक फेर्दै जाने अनि घाटा जति निजीले बेहोर्ने गर्दा समस्या परेको उहाँको भनाइ थियो। आगामी वर्षका लागि निजीले रंगिन पुस्तक छपाइ गरे पनि बाँकी भएको पुस्तक फिर्ता लिने ग्यारेन्टी सरकारले लिनुपर्ने उहाँको भनाइ थियो। निजीले केही दिनपछि मात्रै पाठ्यपुस्तकको छपाइ गर्ने बताउँदै उहाँले भन्नुभयो– ‘सरकारले व्यवस्थित रूपमा अधिकार दिए तोकिएकै समयमा पाठ्यपुस्तक छपाइ गर्नेछौं।’ निजीले फ्ल्यास रिपोर्टमा रहेको तथ्यांकको आधारमा पाठ्यपुस्तक छपाइ नगर्ने स्पष्ट पारेको छ।

‘फ्ल्यास रिपोर्टको आधारमा पाठ्यपुस्तक छपाइ गर्यो बिक्री हुँदैन, त्यसको जिम्मेवारी सरकारले पनि लिँदैन। कसरी छाप्ने? त्यसैले आवश्यकताको आधारमा मात्र पाठ्यपुस्तक छपाइ गर्छौं।’ –उहाँको भनाइ थियो। कलर पुस्तक छपाइ गर्नुपर्ने भएकाले कभर छपाइ गर्न आर्ट पेपरको अभाव हुने उहाँको भनाइ थियो। ‘पुस्तक छपाइ गर्ने बेला भयो कभरका लागि कागज छैन कसरी ल्याउने भन्ने विषयमा सोचिरहेका छौं।’ –भण्डारीले भन्नुभयो।

मन्त्रालयले यो वर्ष केन्द्रलाई ६ कक्षादेखि १० सम्मको पुस्तक छाप्न निर्देशन दिएको हो। तर, केन्द्रले कक्षा १ देखि १० सम्मको पाठ्यपुस्तक छपाइ गर्न पाउने अधिकार छ। यो वर्ष पनि सरकारले निजीलाई कक्षा १ देखि ५ को पाठ्यपुस्तक दिएको छ। शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले जस्तोसुकै कुरा गरे पनि सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउनै पर्ने बताउनुभयो। पाठ्यपुस्तक छपाइ गर्ने बेलामा कुनै पनि वहानाबाजी गर्न नमिल्ने बताउँदै सबै निकायले सरकारले तोकेअनुसारको काम गर्नुपर्ने बताउनुभयो।
विभागले ५ गतेसम्म सम्पूर्ण योजना पेस गर्न निर्देशन दिएको छ। जनकले भने यही अवस्थामा पाठ्यपुस्तक छपाइ गर्न समस्या पर्ने बताउँदै आएको छ। जनक शिक्षा सामग्री केन्द्रका निर्देशक कपिल पोखरेलले सरकारले दिएको जिम्मेवारीअनुसार पाठ्यपुस्तक छपाइ गर्न लागेको उल्लेख गर्नुभयो। ‘हामीसँग रकमको अभाव छ, करिब ४५ करोड रुपियाँ माग गरेका छौं, उक्त रकम उपलब्ध गराउनासाथ काम अघि बढाउनेछौं।’ –उहाँले भन्नुभयो। उहाँले सो कुरा बताए पनि केन्द्रका निर्देशक कपिल पोखरेल भने आवश्यक पाठ्यपुस्तक पुर्याउने काममा केन्द्र लागेको दाबी गर्नुहुन्छ।

यसैबीच केन्द्रले अहिलेसम्ममा कक्षा ६ र ७ का आवश्यक ३ लाख ५० हजार थान किताबमध्ये १ लाख ५० हजार थान, कक्षा ८ का लागि आवश्यक ४ लाखमध्ये २ लाख, कक्षा ९ को ४ लाखमध्ये ३ लाख र कक्षा १० का लागि आवश्यक ५ लाख सेटमध्ये भर्खर १ लाख सेट किताबमात्र छापेको छ।

तथ्यांकअनुसार यो वर्ष १ देखि १० कक्षासम्म ५७ लाख ५७ हजार ७ सय ४४ जना विद्यार्थी छन्। गत वर्षको तुलनामा यो वर्ष करिब २ लाख विद्यार्थी घटेका छन्। ती विद्यार्थीका लागि ३ करोड ७२ लाख ५१ हजार ९ सय ५५ थान पाठ्यपुस्तक आवश्यक पर्छ। ६ देखि १० सम्म ७२ लाख ५० हजार १५ थान पाठ्यपुस्तक आवश्यक पर्छ। १ देखि ५ कक्षासम्म १ करोड ७२ लाख ५० हजार १ सय १५ थान पाठ्यपुस्तक आवश्यक पर्ने शिक्षा विभागले जनाएको छ। सरकारले यो वर्षबाट कक्षा १ र २ का लािग रंगीन पाठ्यपुस्तक उपलब्ध गराउने निर्णय गरेको थियो। हाल १५ लाख १३ हजार ५ सय ७ जना विद्यार्थी कक्षा १ र २ मा अध्ययनरत छन्। ती विद्यार्थीका लागि ७५ लाख ६७ हजार ५ सय ३५ थान रंगीन पाठ्यपुस्तक आवश्यक पर्छ।

प्रतिक्रिया दिनुहोस्