अदालतले आफ्ना कर्मचारी अख्तियारलाई नै बुझायो



काठमाडौं, (नेस)। घूससहित पक्राउ परेका भनिएका ललितपुर जिल्ला अदालतका नायब सुब्बा श्याम अर्याललाई अनुसन्धान गर्न भनी न्यायालयले पुनः अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै फर्काइदिएको छ। केही साताअघि पक्राउ परेका अर्याललाई अख्तियारले न्याय सेवाका कर्मचारीलाई अनुसन्धान गर्ने अधिकार नभएको उल्लेख गर्दै न्यायालयले फर्काउन दबाब दिएको थियो। सो दबाबपछि अख्तियारले अर्याललाई न्यायालयको जिम्मा लगाएको थियो।

न्यायालयले घूस खाएको आरोपितलाई पनि अनुसन्धान गर्न नदिएको उल्लेख गरी त्यसको चर्को आलोचना भएको थियो। सो आलोचनापछि आरोपित अर्याललाई सोमबार अख्तियारमा नै पठाइएको छ। अख्तियारका प्रवक्ता जीवराज कोइरालाले थप अनुसन्धान गर्न भनी न्यायालयले अर्याललाई अख्तियारमा नै फिर्ता पठाइदिएको नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

 

प्रतिक्रिया दिनुहोस्