स्वास्थ्यचौकी भवन अभावमा उपचार प्रभावित



नेपाल समाचारपत्र
राजविराज
सप्तरीका एक सय चौध स्वास्थ्य चौकीमध्ये अधिकांशको आफ्नै भवन नभएका कारण उपचार सेवा प्रभावित भएको छ। जिल्लाको तोपा, कञ्चनपुर, कल्याणपुर र कडोरवोना गरी चार प्राथमिक स्वास्थ्य केन्द्रको आफ्नो भवन भए पनि स्वास्थ्य चौकी भने अधिकांश भवनविहीन रहेका कारण उपचारमा समस्या भएको हो।

जिल्लाको अति विकट मानिएको गोवरगाढामा भवन अभावका कारण गाई गोठमा स्वास्थ्य चौकी सञ्चालन गर्नु परिरहेको स्थानीय रामभरोसी यादवले बताए। उनले भने– ‘गोठको एउटा दराजमा केही औषधि थुपारेर राखिएको छ, तर स्वास्थ्यकर्मी पनि दैनिक नआई कहिलेकाहीं मात्र आएर फर्कने गरेका छन्।’ गाउँमा कोही बिरामी परे उपचारका लागि ठूलो समस्या ब्यहोर्नुपर्ने उनको दुःखेसो छ।

कतिपय स्वास्थ्य संस्थाको आफ्नै भवन भएपनि कोठा थोरै भएका कारणले पनि उपचार सेवा प्रभावित भइरहेको स्थानीयको भनाइ छ। खरचुहियामा ३ कोठे स्वास्थ्य चौकी भवन भए पनि चौबीस घण्टे प्रसूति सेवाका लागि कोठा अपुग भएको स्वास्थ्यकर्मीले बताए।

यस वर्ष मधुवापुर, पत्थरगाढा, मैनासहश्रवाहु, टिकुलीया ए, मलहनिया र मधुपट्टीमा स्वास्थ्य चौकी भवन वन्ने निश्चित भए पनि जग्गाको अभावले गर्दा बाँकीका लागि भवन निर्माण गर्न नसकिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका सूचना अधिकारी छेदीप्रसाद यादवले जानकारी दिए।
उनका अनुसार तत्कालीन ९ वटा इलाका स्वास्थ्य चौकीको आफ्नै भवन पहिलेदेखि नै रहेको र पिप्रापूर्व, पिप्रापश्चिम, वनरझुल्ला, फत्तेपुर र वसवलपुर स्वास्थ्य चौकीको भवन बनिसकेको छ। भवन निर्माणका लागि कम्तीमा ७ कठ्ठा नम्बरी जग्गा हुनु आवश्यक रहेको बताउँदै सूचना अधिकारी यादवले जग्गा दाताको खोजी भइरहेको जानकारी दिएका छन्।

जग्गाको व्यवस्था हुन सके भवन निर्माणका लागि केन्द्रबाट बजेट मगाएर काम सञ्चालन गर्न सकिने यादवको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्