फेरि १५ किलो सुन र विदेशी मुद्रा बरामद



चिनियाँ व्यापारी समातिए
ईश्वरराज ढकाल, काठमाडौं
रसुवा नाका खुला हुन थालेपछि काठमाडौंबाट डलर तस्करी हुने र चीनबाट अवैध सुन तस्करी हुन थालेको खुलासा भएको छ। नेपालमा डलर नपाइरहेको अवस्थामा चीनका व्यापारीहरूले नेपालमै बसेर डलर सटही गर्दै चीनबाट सुन ल्याउन थालेका हुन्।

गत वर्षको भूकम्पले तातोपानी नाका बन्द भएपछि केरुङ नाका प्रयोग हुँदै आएको छ। सो नाकाबाट अहिले सुन र डलर तस्करी बढ्दै गएको प्रहरीको दाबी छ। महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले राजधानीबाट डलर र चीनबाट सुन तस्करी हुने गरेको आशंका व्यक्त गर्नुभयो। प्रहरीले हिजो शुक्रबार बिहान साढे ३ बजे काठमाडौंबाट केरुङतर्फ जाँदै गरेको बा१य १२३२ नम्बरको पर्यटकका लागि प्रयोग हुने रातो स्कारपियोबाट ४ करोड ७० लाख रुपियाँ बराबरको विदेशी मुद्रा बरामद गरेको थियो।

महानगरीय प्रहरी वृत्त बालाजुले करिब उस्तै समयमा बिहान साढे १ बजे रसुवाबाट काठमाडौं आउँदै गरेको ना१ज ४९६४ नम्बरको टाटा सुमोबाट करिब ७ करोड २ लाख रुपियाँ बराबरको १५ किलो सुन बरामद गरेको थियो। यो घटना हेर्दा काठमाडौंबाट अवैध विदेशी मुद्रा र चीनबाट सुन भित्रिने गरेको हुनसक्ने एसएसपी खनालको भनाइ छ।

प्रहरीले केरुङ नाकाबाट पटक–पटक अवैध सुन बरामद गर्दै आइरहेको छ। गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ३३ किलो सुन बरामद गरेको ८ दिनपछि प्रहरीले १५ किलो सुन बरामद गरेको हो। रसुवा–काठमाडौं चल्ने गोसाइँकुण्ड यातायातको टाटा सुमोको इन्जिनको ब्याट्री राख्ने भागको पछाडितर्फ फल्स बटम बनाई ल्याइएको सुनसहित प्रहरीले भक्तपुर सूर्यविनायक निवासी चालक रवीन्द्र भुजेललाई पक्राउ गरेको थियो। प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक एसपी प्रद्युम्नकुमार कार्कीले विशेष सुराकीको आधारमा सो सुन चमतीबाट बरामद गरिएको जानकारी दिनुभयो।

प्रहरीले सुन ल्याउने चालकविरुद्ध संगठित अपराधमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ। ‘अनुसन्धान गर्ने दुई महिनासम्मको म्याद हुन्छ, त्यतिन्जेलसम्म अपराधमा संलग्न सबैलाई पक्राउ गर्नेछौं’– एसपी कार्कीले भन्नुभयो। गाडी चालक पक्राउ परे पनि गाडीको मालिक र सुन कारोबारीसम्म पुग्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। परिसरले सो विषयमा अनुसन्धान जारी रहेको जानकारी गराउनुभयो।

अपराध महाशाखाले बरामद गरेको अवैध विदेशी मुद्रासहित ४७ वर्षीय चिनियाँ व्यापारी चाङतोङफाङ, ४३ वर्षीय चौस लियन र ४४ वर्षीय चाउ लियाङ फङल र रसुवाका पेम्बा तामाङलाई पत्राउ गरेको छ। रसुवाका तामाङले चिनियाँ सुन व्यापारीसंग सेटिङ मिलाउने काम गर्ने गरेको हुनसक्ने प्रहरीको अनुमान छ।

पक्राउ परेका चिनियाँ नागरिकका साथबाट २ लाख ७० हजार अमेरिकी डलर, १ लाख ३२ हजार ४ सय ५० युरो, ४ हजार ६ सय ५० अस्ट्रेलियन डलर, २ हजार ४ सय क्यानेडियन डलर, २१ लख ४७हजार जापानीय ऐन, ३ हजार २ सय ७० चाइनिज युआन, ३ हजार २ सय ७० स्वीस फ्याङक बरामद गरेको छ। करिब एक वर्ष अघिदेखि नेपाल बस्दै आएका तीन व्यापारीले विभिन्न मनि चेन्जर र क्यासिनोबाट विदेशीमुद्रा संकलन गर्ने गरेको अपराध महाशाखाका एसएसपी खनालले बताउनुभयो। ‘पक्राउ परेकामा एक पुरुष र दुई महिला रहेका छन्। यसअघि हामीले विदेशी मुद्रा बोक्ने भरिया मात्र पक्राउ गरेका थियौं, अहिले व्यापारी नै पक्राउ परेका छन्’– एसएसपी खनालले भन्नुभयो। १५ किलो सुन बरामद गरिएको र डलर चीन लैजान लागेको करिब एकै समय परेकाले विदेशीमुद्रा दिएर सुन लिन लागेको हुनसक्ने प्रहरीको अनुमान छ।

चिनियाँ व्यापारी ठमेलको गजुर होटलबाट निस्किएर रसुवातर्फ लाग्ने क्रममा नागढुंगामा पक्राउ परेका हुन्। चिनियाँ व्यापारी नेपालमा बस्ने र विदेशी मुद्र्राको सटही दरभन्दा महंगो रकम तिरेर विदेशीमुद्रा संकलन गर्ने गरेका छन्। कोही पनि नेपाली वा विदेशीले नेपालमा विदेशी मुद्रा सटही गर्दा नपाइरहेको अवस्थामा तस्कर बढेपछि प्रहरीले सो घटनालाई नयाँ ढंगले छानविन गर्ने भएको छ।

बैंकलेसमेत डलर वा अन्य मुद्रा सटही गर्दा नभएको जानकारी दिने गरेको छ। तर करोडौं रुपियाँ तस्करी हुँदासमेत सरकारले खासै चासो दिएको पाइँदैन।

प्रतिक्रिया दिनुहोस्