गर्भपतन गराउने औषधिको मनपरि प्रयोग



गर्भपतन गराउने औषधिको गैरकानुनीरुपमा हुने बिक्री वितरण अझै रोकिएको छैन । साथै बढी मूल्य तिरेर भए पनि यस्तो औषधि सेवन गरी असुरक्षित गर्भपतन गराउनेहरू पनि उत्तिकै छन् । हालै मात्र विश्रामपुर, रौतहटकी रेश्मी देवीले आफूखुशी औषधि पसलबाट गर्भपतनको औषधि किनेर खाँदा उनको झन्डै ज्यान गएको समाचार प्रकाशमा आएको छ । ४५ दिनको आफ्नो गर्भ तुहाउन डाक्टरको प्रेस्कृप्सनविना नै स्थानीय औषधि पसलबाट औषधि किनेर खाँदा तल्लो पेट दुखेर रक्तश्राव भई तीन दिनसम्म उनी छटपटाइरहिन् । आखिर उनलाई चन्द्रनिगाहपुर अस्पतालमा उपचारका लागि लगिएकाले बाँच्न सफल भएको समाचार छ । जथाभावी औषधिको सेवन गर्दा उनको ‘इन्कम्प्लिट एवर्सन’ भएको उपचारमा सम्लग्न डाक्टरको भनाइ छ ।

गर्भपतनको औषधि आफूखुशी सेवन गरी गर्भपतन गराउन खोज्ने उनी मात्र होइनन्, प्रकाशमा नआएका असुरक्षित गर्भपतनका प्रयासहरू ग्रामीण भेगमा अन्य पनि हुन सक्छन् । ग्रामीण भेगका मेडिकलमा ३ सय रुपियाँ पर्ने गर्भपतनको औषधि ५ हजारमा बिक्री हुने गरेको समाचारले नै यसको पुष्टि हुन्छ । डाक्टरको प्रेस्कृप्सनविना मेडिकलले गर्भपतनको औषधि बेच्नु कानुनी अपराध हो । त्यसमा पनि बढी मूल्य लिएर महिलाको स्वास्थ्य जोखिममा पार्नु झनै महाअपराध मानिन्छ । तर मुनाफाका लागि ज्यान जोखिममा पर्न सक्ने औषधि पनि मेडिकलबाट डाक्टरको प्रेस्कृप्सनविना नै बिक्री हुँदै आएको छ । यसरी विनाप्रेस्कृप्सन गर्भपतन गराउने औषधि बेच्ने कार्य र त्यस्ता औषधि आफूखुशी सेवन गर्ने कार्यलाई निरुत्साहित गर्न नसक्नु सरकारको लाचारीपन हो ।

रौतहटको कुरा मात्र नभएर राजधानीलगायतका शहरबजारमा समेत डाक्टरको प्रेस्कृप्सनविना नै बिरामी र उनीहरूका आफन्तले औषधि किनिरहेको देख्न सकिन्छ । मलाई यस्तो स्वास्थ्य समस्या भएको छ, केही औषधि दिनुपर्यो भनेर मौखिकरुपमा बताएको भरमा विनास्वास्थ्य जाँच औषधि किन्ने र बेच्नेहरू पनि पाइन्छन् । यस्तो स्वास्थ्यजस्तो संवेदनशील विषयमा आफूखुशी गर्दा बिरामीको ज्यान नै जान सक्ने हुँदा बिरामी र बिरामीका आफन्तहरू सजग हुनुपर्ने देखिन्छ । यस्ता कार्यप्रति निरुत्साहित गर्न चेतना जगाउनु सरकारको कर्तव्य हो । साथै विनाप्रेस्कृप्सन औषधि बेचेको पाइएमा त्यस्ता औषधि पसलेलाई हदैसम्मको कारबाही गर्न सम्बन्धित निकाय पछि पर्नुहुँदैन । त्यसमा पनि बढी मूल्य लिएर गर्भपतन गराउने औषधि बेच्नेलाई कडा कारबाही गर्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्