पिकेका छात्राहरुबीच कुटाकुट, केही घाइते



 

सुरेश तामाङ
काठमाडौं ।
बागबजारस्थित पद्म कन्या क्याम्पसमा सत्तारुढ घटक नेपाली कांग्रेस र माओवादी केन्द्र निकट छात्राहरुबीचको झगडामा दुवै तर्फका केही विद्यार्थी घाइते भएका छन् । दुई विद्यार्थी संगठनबीच आइतबार झडप भएको हो । झडपमा परी नेविसंघकी नेतृ सीता मिजार तथा क्रान्तिकारीकी ईकाई अध्यक्ष वषन्ता भण्डारी, सदस्यहरु दर्सना नेपाली, दिपा जोशी र सरीता श्रेष्ठ घाइते भएका छन् ।
स्ववियु निर्वाचनको प्रचार प्रसारका लागि गरेको भित्ते लेखनका विषयलाई लिएर झडप भएको घाइतेहरुले बताएका छन् । हामीले क्याम्पस हातामा स्ववियु चुनावको प्रचार गर्न भित्ते लेखन गर्दै थियौँ क्याम्पस इकाइ अध्यक्ष वषन्ता भण्डारीले बताइन् ।
त्यहाँ नेविसंघले रङ घोप्ट्याउने र लेखेको पेन्टिङ मेट्ने काम गर्दै आक्रमणपनि सुरु गर्यो । रड र झ्यालको सिसाले हानेर मलाई घाईते बनाएको छ ,अध्यक्ष भण्डारीले भनिन् ।
घटनाबारे छानविन गरी दोषीलाई कारबाही गर्न भन्दै दिएको निवेदन महानगरीय प्रहरी वृत्त कमलपोखरीले लिन नमानेको उनले बताइन् ।
त्यस्तै अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले चुनावको प्रचार प्रसारमा लाग्दा हस्तक्षेप गर्नु निन्दनीय काम भएको भन्दै घटनाको घोर भत्र्सना गरेका छन् ।
यो सबै चुनाव विथोल्नका लागि गरिएको षड्यन्त्र हो, उनले भने – घटनाको छानविन गरी दोषि माथि कारबाहीको माग गर्दछौं ।
नेवि संघकी इकाइ अध्यक्ष साधना घिमिरेका अनुसार क्याम्पसमा परीक्षा चल्दै गर्दा परिक्षार्थीलाई डिस्टर्ब गर्दै भित्ते लेखन गर्ने काम क्रान्तिकारीले गर्यो । ‘हामीले परीक्षाको बेला यसो नगर्न भन्दै क्याम्पस प्रशासनमा दबाब दिँदा क्रान्तिकारी तोडफोडमा उत्रियो । हामीले तोडफोड नगर भनेर सम्झाउँदा उल्ट हामीमाथी आक्रमण गरे’ उनले भनिन् ।
तस्वीरमा घाइते नेविसंघकी छात्रा सीता मिजार

प्रतिक्रिया दिनुहोस्