संशोधन असफल गराइदिन्छौंः ज्ञवाली



काठमाडौं, (नेस) नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले प्रचण्ड नेतृत्वको सरकार प्रदेश हेरफेरसहितको संविधान संशोधन प्रस्ताव लिएर आए त्यसलाई व्यवस्थापिका संसद्बाटै असफल बनाइदिने चेतावनी दिनुभएको छ।

एमालेसहितका विपक्षी ९ दलले पुस २२ मा गर्ने बृहद् प्रदर्शनको तयारीका लागि प्रेस चौतारी ललितपुरले आयोजना गरेको अन्तरक्रियामा ज्ञवालीले सो चेतावनी दिनुभएको हो। ‘सीमांकन हेरफेरको कुरा असंवैधानिक भएको उल्लेख गर्दै भन्नुभयो– ‘यस्तो असंवैधानिक प्रक्रियालाई हामी व्यवस्थापिका संसद्मा छलफल हुनै दिँदैनौं। व्यवस्थापिक संसद्मा सांसदहरूले बोलेका आवाजलाई असंवैधानिक भनेर रेकर्ड नगराउने सरकारले असंवैधानिक प्रस्ताव ल्याउँदा मान्न कुनै जरुरी नभएको दाबी गर्नुभयो।
कसैको इसारामा ल्याइएको संशोधन प्रस्ताव एमालेलगायत प्रतिपक्षी दललाई कुनै हालतमा पनि मान्य नहुने बताउँदै दोहोर्याउनुभयो– ‘यो राष्ट्रहितविपरीत छ संशोधन प्रस्ताव कुनै हालतमा पनि मान्य हुँदैन।’

‘सीमांकन हेरफेरको कुरा असंवैधानिक छ’, ज्ञवालीले भन्नुभयो– ‘यस्तो असंवैधानिक प्रक्रियालाई हामी व्यवस्थापिका संसद्मा छलफल हुन दिँदैनौं उहाँहरूले त्योबाहेकको अरू प्रस्ताव जस्ताकोतस्तै ल्याउनुभयो भने हामी छलफलमा सहभागी हुन्छौं र संसद्बाटै असफल बनाइदिन्छौं।’

ज्ञवालीले शुरुमै २ नम्बर प्रदेशमा सहमतिका लागि पहाडका जिल्ला नराख्दा गल्ती भइसकेको भन्दै अब पुनः सहमतिका नाममा ५ नम्बरबाट पहाड अलग गर्ने कुरा दोस्रो किस्ता मात्र हुने बताउनुभयो। त्यसपछि क्रमशः एक नम्बर र ७ नम्बरबाट पनि तराईलाई सम्पूर्णरूपमा अलग गरेर नेपाल दुई राष्ट्रियता भएको राज्य हो भन्ने सावित गर्ने षड्यन्त्रअनुरूप सीमांकनको बखेडा झिकिएको ज्ञवालीको दाबी छ।

उहाँले आगामि पुस २२ गते एमालेसहितका दलहरूले गर्ने शक्ति प्रदर्शनले संविधान संशोधन प्रस्तावविरुद्ध जनमत संग्रहको झल्को दिने दाबीसमेत गर्नुभयो। उहाँले सरकारले संशोधन प्रस्ताव फिर्ता लिएर अघि बढे एमाले सहमतिमा आउन तयार रहेको पनि बताउनुभयो। ‘सरकार निर्वाचनका लागि तयार भयो भने एमाले सहमति गरेर अघि बढ्न तयार छ’ –उहाँको भनाइ थियो।

कार्यक्रममा प्रेस चौतारीका सचिव एवं ललितपुर पार्टी प्रचार विभाग प्रमुख अमृतनाथ तिमल्सिना, प्रेस चौतारी काठमाडौंका इन्चार्ज शान्तराम बिडारी, ललितपुरका अध्यक्ष दिल्लीराम आचार्यलगायतले २२ गतेको प्रदर्शनमा सक्रियताका साथ सहभागी हुन आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्