१८ गते मधेसी मोर्चाले प्रदर्शन गर्ने



नेपाल समाचारपत्र
काठमाडौं
संविधान संशोधन प्रस्ताव परिमार्जन गरी पारित गराउन दबाब स्वरूप संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जिल्ला सदरमुकामहरूमा प्रदर्शन गर्ने भएको छ। पुस १८ गते सोमबार दिउँसो १ बजे मोर्चाले प्रत्येक जिल्ला सदरमुकाममा ‘खबरदारी विरोध प्रदर्शन’ गर्ने निर्णय गरेको छ।

मधेसी मोर्चाको बिहीबार र शुक्रबार काठमाडौंमा बसेको बैठकले दबाब स्वरूप विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो। मोर्चाले पुराना अडानहरू पुनः दोहोर्याएको छ। संशोधन विधेयक पारित नभएसम्म कुनै पनि निर्वाचनमा जान नसकिने जनाउँदै यथास्थितिमा निर्वाचनमा गए देशमा द्वन्द्व निम्तिने चेतावनी मोर्चाले दिएको छ।

मोर्चाले स्थानीय तह निर्धारण आयोगको प्रतिवेदनलाई पनि अस्वीकार गरेको छ। नेपालको संविधानको धारा ५६ को (४) र (५) तथा धारा २९५ (३) को विपरीत आयोगको प्रतिवेदन आएकाले मोर्चाले अस्वीकार गर्ने निर्णय गरेको हो।

प्रतिपक्षी दलसहितले संविधान संशोधनको विरोधमा गर्दै आएको आन्दोलन र सदन अवरुद्धको भत्र्सना गर्दै मोर्चाले एमालेलाई संशोधनमा सहयोग गर्न आग्रह गरेको छ। मोर्चाको निर्णय सार्वजनिक गर्न तराई मधेस लोकतान्त्रिक पार्टी कार्यालयमा आयोगजित पत्रकार सम्मेलनमा बोल्दै मोर्चाका नेताहरूले संविधान संशोधनको विषयवस्तुमा लचकता देखाए पनि परिमार्जनको माग गरेका थिए।
पत्रकार सम्मेलनमा बोल्दै तमलोपा अध्यक्ष ठाकुरले मधेसी मोर्चाको माग सम्बोधन नभए कठोर आन्दोलनमा जाने चेतावनी पनि दिए। तर, मोर्चाका अधिकांश नेताहरू मध्यमार्गी बाटो अपनाएर जाने मनसायमा देखिएका छन्। मोर्चाभित्रको छलफलमा अहिलेको संशोधन विधेयकलाई समान्य हेरफेर गरेर पारित गराउने र थप विषयमा संशोधनका लागि आन्दोलन गर्ने बताएका छन्। तसर्थ मोर्चाका नेताहरू अहिले लचक देखिएको बैठकमा सहभागी नेताहरूले नेपाल समाचारपत्रलाई बताएका छन्।

प्रतिक्रिया दिनुहोस्