सरकारी गाडीमा आगजनी



नेपाल समाचारपत्र
काठमाडौं
युवा संघ बाँकेका उपाध्यक्षमाथि खुकुरी प्रहार गरी घाइते बनाएको विरोधमा आन्दोलनमा उत्रिएको युवा संघ नेपालका कार्यकर्ताले नयाँ बानेश्वरमा एउटा सरकारी गाडीमा आगजनी गरेका छन्।

चक्काजामको अवज्ञा गरेको भन्दै अर्को एक गाडी तोडफोड गरेका छन्। युवा संघका कार्यकर्ताले बा२झ १३९२ नम्बरको सरकारी स्कर्पियोमा आगो लगाइदिएका थिए।

गाडी पूर्णरूपमा क्षति भएको छ। त्यसै गरी बा२झ २५५५ नम्बरको गाडीमा तोडफोड गरेका थिए। तोडफोडमा गाडीको सिसाहरू फुटेका छन्। गाडीमा आगजनी भएपछि दमकल बोलाएर आगो नियन्त्रणमा लिइएको थियो।
गाडीमा आगजनी र तोडफोड गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ। तर, युवा संघले भने स्वतःस्फुर्तरूपमा चक्काजाम गर्न सडकमा उत्रिएका जनताबाट आगजनी गराएको हुनसक्ने दाबी गरेको छ।

युवा संघका उपाध्यक्ष रमेश पौडेलको कमान्डमा खटिएको युवा संघका कार्यकर्ताले हातमा संघको झन्डा लिएर तोडफोड गरेका थिए। संघका उपाध्यक्ष पौडेलले सरकारले जनातको सुरक्षा दिन नसकेर दिनहुजसो आक्रमण हुन थालेपछि आन्दोलनमा उत्रिएको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘दुई साताअघि युवा संघ रूपन्देही अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भयो, युवा संघ बाँकेको उपाध्यक्ष सन्तोष बुढाथोकीमाथि सांघातिक आक्रमण भयो, केही महिनाअघि युवा संघका नेता वकिल बममाथि कांग्रेसका कार्यकर्ताले खुकुरी प्रहार गरे, यसरी एकोहोरोरूपमा युवा संघका नेतामाथि आक्रमण गर्दासमेत सुरक्षा दिन नसकेको सरकारविरुद्ध सडकमा उत्रिएका जनाताले आक्रमण गरेका हुन्।’

बिदाको दिन खाजा खान अनि सिक्न सरकारी गाडीको दुरूपयोग गरेको जनताले जानकारी पाएपछि सरकारी गाडीमा आगजनी र तोडफोड गरेको हुनसक्ने बताउँदै भन्नुभयो– ‘हामीले आगजनी गरेका होइनौं, जनताले गरेको हुनसक्छ। आगजनीलगत्तै युवा संघको कार्यालयमा भेला भएका नेताले जनतालाई शान्ति सुरक्षा दिन नसक्ने सरकारविरुद्ध आन्दोलनमा उत्रनुपर्ने बताएका थिए। युवा संघले दिउँसो पौने ३ देखि सवा ३ बजेसम्म चक्काजाम गरेको थियो।

युवा संघका कार्यकर्ताले बानेश्वर अल्फाविटानजिक गाडीमा आजगनी र तोडफोड गरेका थिए। तोडफोडलगत्तै युवा संघ नेपाल भन्दै नाराबाजी गरी भागेका थिए। चक्काजाम गर्न खोज्दा प्रहरीले उपाध्यक्ष पौडेललाई केहीबेर नियन्त्रणमा लिएको थियो। हामी शान्ति चाहन्छौं तर सरकारको यस्तै रबैया रहे जस्तोसुकै आन्दोलनमा उत्रन पछि पर्दैनौं’ –उपाध्यक्ष पौडेलले भने।

प्रतिक्रिया दिनुहोस्