ग्रामीण भेगका विद्यालयमा घट्दै विद्यार्थी



कृष्णउदास खनाल, वीरगन्ज
पर्साको ग्रामीण विद्यालयहरूमा परीक्षा दिने कक्षा दशका विद्यार्थीहरू न्यून हुन थालेका छन्। ग्रामीण माध्यामिक तहका विद्यालयहरूमा पठनपाठन ठीक नभएको भन्दै विद्यार्थीहरू शहर छिर्न थालेपछि गाउँमा विद्यार्थीहरूको अभाव खड्किन थालेको हो।

पर्साको ग्रामीण भेगमा रहेको ज्ञानबाटिका मावि सुवर्णपुर, मावि सेढवा , वितो महतो जनता मावि जीतपुर नौकाटोला, मावि निचुटा ,मावि भीखमपुरलगायतका विद्यालयहरूका कक्षा दशका ५० प्रतिशतभन्दा बढी विद्यार्थी न्यून भएको शिक्षकहरूले जनाएका छन्।

मावि सेढवामा कक्षा दशमा अध्ययनरत मुस्कान चौधरीका आनुसार करिब एक सय विद्यार्थीमध्ये जम्मा पच्चिस जना मात्रै विद्यालय आउने गरेका बाँकी विद्यार्थीहरू ट्युसन पढ्ने भनी वीरगन्जलगायतका शहरतिर जाने गरेको बताइन्।
विद्यार्थीहरू परीक्षाको तयारीमा गर्ने भनेर वीरगन्ज, सिमरा, हेटौंडा तथा चितवनसम्म पुग्ने गरेका छन्। विद्यार्थीहरूले शहरमा गई कठिन भएका भनिएका विषयकहरू अंग्रेजी, गणित, इच्छाधीन गणित, विज्ञानलगायतका विषयका ट्युसन सिमरामा गरिरहेकी विद्यार्थी श्रृजना चौधरीले बताइन्।

पढाइ राम्रो भए पनि विद्यार्थीहरूको मनोविज्ञान नै गाउँका विद्यालयहरूमा पढाइको स्तर खस्केको भन्ने लागेका कारण शहरतिर विद्यार्थी पलायन भएको सेढवा माविका शिक्षक ओम प्रकाश चौधरीले बताए।

अभिभावकहरूले नै विद्यार्थीहरूलाई शहरतिर पढाउन लाने गरेको उनी बताउँछन्। मानिसको ध्यान नै शहर केन्द्रित भएका कारण पनि विद्यार्थीहरूको चाप शहरमा बढी हुने गरेको उनको बुझाइ छ।

पर्साका शिक्षा अधिकारी केदार तिवारीले भने ग्रामीण भेगका विद्यालयहरूमा पठनपाठन बिग्रन नदिन आफूले दक्ष शिक्षकहरूलाई गाउँमा पठाएको बताएका छन्। उनले गाउँमा रहेका विद्यालयहरूमा पढाइको स्तर बढिरहेको पनि दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्