मृगौला तस्करीको जालो घुम्न जाने बहानामा मृगौला चोरी



नेपाल समाचारपत्र
काठमाडौं
भारतमा राम्रो रोजगारीमा लगाइदिने भन्दै भारत पुर्याएर मृगौला झिकेर नेपाल फकाइदिने गरेको एउटा गिरोहलाई महानगरीय अपराध महाशाखाले एउटा गिरोहलाई पक्राउ गरेको छ।

लामो समयदेखि नेपाली युवालाई भारत लगेर उनीहरूको मृगौला झिकेर विक्रीवितरण गर्ने गिरोह सक्रिय रहेको सूचना पाएको महाशाखाले लामो अनुसन्धानपछि गिरोहमा संलग्न रहेकाहरूलाई पक्राउ गरेको छ।

सो गिरोहले केहीलाई भारतमा राम्रो काम लगाइदिने भन्दै र केहीलाई घुम्ने वहानामा भारतको दिल्ली पुर्याएर त्यसरी मृगौला झिक्ने गरेको पीडितहरूले बताएका छन्। गिरोहको फन्दामा परेका दीपक नेपालीले आफूले कुनै जनाकारीबिना नै मृगौला गुमाउनुपरेको गुनासो गरेका छन्।
पोखरामा मजदुरी गर्दै आएका नेपाली साथीहरूसँग रमाइलो गर्ने भन्दै भारत पुगे। भारतमा केही समय बसेर नेपाल फर्किएका नेपालीले आफ्नो मृगौला बेचिएको त्यतिबेला थाहा पाए जतिबेला चिकित्सकले मृगौला नभएको जानकारी गराए। चिकित्सको कुरा सुनेपछि उनी छांगाबाट खसेको जस्तो महसुस भएको बताउँछन्।
नेपालीसँग प्रकाश बस्नेत र भीमप्रसाद न्यौपानेको राम्रै हिमचिम थियो।

उनीहरूले नेपालीलाई विकास नाम गरेका साथीलाई भेटाइदिएका थिए। विकाससँग छोटो समयमै नेपाली नजिक भएका थिए। उनीहरूबीच घनिष्ठता बढेपछि एकदिन विकासले नेपालीलाई भारत घुमाउने प्रस्ताव गरेका थिए। नेपाली विकाससँगै भारत गएका थिए।

भारत गएको केही दिनपछि उनीहरू सँगै बसेर मदिरा सेवन गरेपछि बेहोस भएका नेपाली होसमा आउँदा अस्पतालको बेडमा थिए। उनले विकासलाई सोधे– ‘किन अस्पताल ल्याएको?’ विकासले भने– ‘हिजो मदिरा सेवन गर्दा झगडा परेको थियो। तँलाई छुरा लाग्यो अनि अस्पताल ल्याएको नि।’

नेपाली विकासको त्यो बनावटी कुरालाई पत्याएर केही समय अस्पताल बसेपछि काठमाडौं आए। आएको केही समयपछि बिरामी परेपछि अस्पतालमा चेक गराउन जाँदा आफ्नो मृगौला नभएको थाहा पाएपछि अलमलमा परेका थिए।

नेपालीले उक्त घटना प्रहरीलाई सुनाएपछि प्रहरीले उक्त र्याकेटको खोजी शुरु गरेको थियो। सो गिरोहले नेपालीसहित ५ जनालाई भारत पुर्याएर त्यसरी नै मृगौला झिकेर विक्री गर्ने गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले बताउनुभयो।

नेपालीलाई भारत घुमाउन लैजाने विकासको वास्तविक नाम विनबहादुर तिमल्सिना हो। तिमल्सिनाले दोलखा भिमेश्वरका प्रकाश बस्नेत र कास्कीका भीमप्रसाद न्यौपानेसँग मिलेर अवैधरूपमा मिर्गौला झिक्ने काममा भारतीय गिरोहलाई सहयोग गर्दै आएका थिए।

एसएसपी खनालका अनुसार सो गिरोहले दुई वर्षदेखि त्यसरी अवैध धन्दा चलाउँदै आएको छ। काठमाडौंमा बसेर तिमल्सिना र बस्नेतले मान्छे खोज्ने र न्यौपानेसँग मिलेर भारत पुर्याई मृगौला झिक्ने गरेको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्