नेताहरूले देशमा सिन्डिकेट लादेः अध्यक्ष थापा



भक्तपुर, (नेस) राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सीमित दलका सीमित नेताहरूले देशमा सिन्डिकेट लादिरहेको बताउनुभएको छ।

भक्तपुरको तौमढी (पाँचतले मन्दिर) मा राप्रपा भक्तपुरले आयोजना गरेको राप्रपा मध्यमाञ्चलस्तरीय बृहत् आमसभा एवम् राप्रपा भक्तपुरका संस्थापक अध्यक्ष सुरेन्द्रप्रताप शाहको वार्षिक स्मृतिसभामा उहाँले सो कुरा बताउनुभएको हो।
उहाँले भन्नुभयो– ‘उनीहरूका कोठे बैठक, जालझेल, सहमति र असहमतिका नाममा देशलाई बन्दक बनाएका छन्, उनीहरूको स्वार्थकै कारण फेरि पनि निर्वाचन नहुने हो कि, संविधान असफल हुने हो कि भन्ने आंशका पैदा गरेको छ।’

प्रजातन्त्रको आडमा विगत १० वर्षदेखि मुलुकमा ब्रह्मलुट मच्चाउने नेताहरूले जनतालाई मालिक बनाउने नाममा आफैले करोडौं भ्रष्टाचार गरेर मालिक भएको आरोप लगाउनुभयो। ‘राष्ट्रघाती नागरिकता ऐन ल्याएर १०औं लाख विदेशी नागरिकलाई अंगीकृत नागरिकता बाँडियो’, उहाँले भन्नुभयो– ‘त्यसैले गर्दा इतिहासमै कहिल्यै नसुनिएको विखण्डनको आवाज सुनिएको छ, संविधान संशोधनको नाममा फेरि पनि यस्तै भूल गर्न खोजिँदै छ।’

उहाँले ठूला दलहरूले सत्तामा पुग्न र टिक्नका लागि बाह्य शक्तिको आड खोज्दा अहिले देश गम्भीर संकटमा परेको बताउनुभयो। उहाँले देश विदेशीको चपेटामा फस्दै गएको बताउनुभयो। परिवर्तनलाई संस्थागत गर्ने नाममा जनताको अभिमतबिना नै हिन्दू धर्मलाई मास्ने काम भएको भन्दै उहाँले देश र जनताको राष्ट्रिय पहिचान र एकतालाई खलबल्याउने काम ठूला दलबाट भएको भन्दै आक्रोस व्यक्त गर्नुभयो।

प्रजातन्त्रको आडमा विगत १० वर्षदेखि मुलुकमा ब्रह्मलुट मच्चाउने नेताहरूले जनतालाई मालिक बनाउने नाममा आफैले करोडौं भ्रष्टाचार गरेर मालिक भएको आरोप लगाउनुभयो। राष्ट्रिय एकता र अखण्डतालाई जोगाउन पार्टीभित्रको मतभेदलाई पन्छाएर दुई राप्रपा एक भएको उहाँले बताउनुभयो।

सोही कार्यक्रममा राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणाले दिशाहीन भएर भौंतारिएको देशलाई दह्रो राष्ट्रवादी शक्ति आवश्यक भएकाले राप्रपा र राप्रपा नेपालको एकीकरण भएको बताउनुभयो। जनताको चाहनाविपरीत मेटिएको हिन्दू राष्ट्रको पहिचानलाई राप्रपाले कुनै हालतमा फर्काउने राणाले उद्घोष गर्नुभयो।

कार्यक्रममा भूमिसुधार मन्त्री विक्रम पाण्डे, मन्त्री दिपक बोहराले नेपाललाई विकासमा अगाडि बढाउन आमयुवा वर्गलाई एकत्रित बनाएर लैजानुपर्नेमा जोड दिनुभयो। त्यस अवसरमा राप्रपाका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी, महामन्त्री टंक ढकाल, उपाध्यक्षहरू बुद्धिमान तामाङ, राजिव पराजुली, केन्द्रीय सदस्य दिनेश श्रेष्ठ, रवीन्द्रप्रताप शाह, राप्रपा भक्तपुर जिल्ला अध्यक्ष रामशरण लामिछाने, कलाकारहरू कोमल वली, मीरा राणालगायतले देशलाई अस्थिरताको जन्जिरबाट मुक्त गर्नुपर्नेमा जोड दिनुभयो। यसअघि भक्तपुरको दूधपाटी र कमलविनायकबाट निस्किएको र्यालीले भक्तपुर नगर परिक्रमा गरेर तौमढीमा पुगी आमसभामा परिणत भएको थियो।

प्रतिक्रिया दिनुहोस्