संविधान कार्यान्वयन चुनौतीपूर्णः प्रधानमन्त्री



काठमाडौं, (नेस)। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको स्वीकार्यता बढाएर त्यसको कार्यान्वयन गर्नु आजको राष्ट्रियता आवश्यकता रहेको बताउनुभएको छ। तमु ल्होसारको पूर्वसन्ध्यामा शुभकामना दिँदै उहाँले सो कुरा बताउनुभएको हो। प्रधानमन्त्री ‘प्रचण्ड’ ले संविधानको स्वीकार्यता बढाएर मात्र हिमाल, पहाड र तराईका सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धिको दिशामा अगाडि बढ्न सकिने विश्वास पनि व्यक्त गर्नुभयो।

‘यसका लागि सरकार संवाद र सहमतिका आधारमा लक्ष्य हासिल गर्न क्रियाशील रहेको छ। राष्ट्रिय एकता र संविधान कार्यान्वयनको अभियानमा हातेमालो गर्न सबैमा अनुरोध गर्दछु –शुभकामना सन्देशमा भनिएको छ।

उहाँले मुलुककको बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताहरू विश्व समुदायका लागि पनि एक महत्त्वपूर्ण पुँजी रहेको बताउँदै भाषा, संस्कृति, भेषभूषा र संस्कार आ–आफ्नो जातीय पहिचान र मौलिक सभ्यताका आधार स्तम्भ रहेको धारणा राख्नुभयो। प्रधानमन्त्री ‘प्रचण्ड’ ले विविधताको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको दायित्व रहेको पनि बताउनुभयो।

प्रधानमन्त्री ‘प्रचण्ड’ ले तमु ल्होसारले तमु जातिलगायत सम्पूर्ण नेपालीको बीचमा बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने विश्वास पनि व्यक्त गर्नुभयो।

तमु (गुरुङ) जातिले नयाँ वर्ष तथा बाँदर वर्ग (प्र ल्हो) को अन्त्य भएर चरा वर्ग (च्यो ल्हो) को आरम्भ भएको दिन आज शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ। नेपालका तमु जातिमा नयाँ वर्षको आगमनको खुसीयालीस्वरूप विशेष उत्साह र उमंगसाथ मनाइने गरिन्छ। सांस्कृतिक परम्पराको धनी मानिने नेपालका तमु जातिले सदियौंदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै आइरहेका सन्दर्भमा तमु ल्होसारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्त्व रहेको प्रधानमन्त्रीको सन्देशमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्