सरकारको औचित्य सकिन लाग्योः गच्छदार



काठमाडौं, (नेस)। संविधान कार्यान्वयनको प्रक्रियालाई सरकारले महत्त्व दिन नसकेको भन्दै सरकारको औचित्य सकिन लागेको मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले बताउनुभएको छ।
तीन दिनसम्म चलेको पार्टीको कार्यसम्पादन समिति र संसदीय समितिको बैठकको निर्णय सार्वजनिक गर्न गच्छदारले सरकारको आलोचना गर्नुभएको छ।

गच्छदारले प्रचण्ड सरकारको ९ महिनामा ५ महिना सकिएको र अब चार महिना मात्र बाँकी रहेको अवस्थामा सरकारले सन्तोषजनक काम गर्न नसकेको गच्छदारले बताउनुभयो। उहाँले संविधान संशोधन प्रक्रिया टुंगो लगाएर मधेसी थारूको समस्या समाधान नगरे सरकारबाट समर्थन फिर्ता लिन सक्ने चेतावनी दिनुभएको छ।

लोकतान्त्रिक फोरमको बैठकबाट सरकारले पेस गरेको संशोधन प्रस्ताव अपूरो रहेको ठहर गरेको छ। फोरमले पूर्वको झापा, मोरङ र सुनसरी तथा पश्चिमको कैलाली कञ्चनपुरको विवाद संशोधनमार्फत नै समाधान गर्नुपर्ने माग गरेको छ। अहिले दर्ता भएको संशोधन प्रस्तावअनुसार पाँच नम्बर प्रदेशमा कैलाली र कञ्चनपुरलाई राखिनुपर्ने माग गरिएको छ।

सरकारले संशोधन प्रस्ताव फिर्ता राखे वा स्थगित गरेको खण्डमा पार्टी आन्दोलनमा जाने बताउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहकार्य गरेर जान सक्ने अध्यक्ष गच्छदारले बताउनुभयो। उहाँले प्रमुख तीन पार्टीले नै राजनीतिक समस्या बढाएको बताउँदै तीन पार्टीका नेतृत्व असक्षम रहेको आरोपसमेत लगाउनुभयो। गच्छदारले केही दिनभित्रै पार्टीको नाम परिर्वतन हुने पनि जानकारी गराउनुभयो।

प्रतिक्रिया दिनुहोस्