९ हजार ७ सय ३४ विद्यार्थी दीक्षित



नेपाल समाचारपत्र
काठमाडौं
त्रिभुवन विश्वविद्यालयको ४२औं दीक्षान्त समारोहमा ८३ हजार ४ सय २५ मध्ये ९ हजार ७ सय ३४ विद्यार्थी दीक्षित भएका छन्। स्नातकमा ६ हजार ४ सय ९५, स्नातकोत्तर तहमा ३ हजार १ सय ३३, एमफिलमा ३८ र पीएचडीमा ६८ जना दीक्षित भएका थिए।

व्यवस्थापन संकायअन्तर्गत स्नातकदेखि पीएचडीसम्म ३ हजार ६ सय ६३, मानविकी संकायमा २ हजार १ सय १६, इन्जिनियरिङमा १ हजार १ सय ६३, शिक्षामा १ हजार ४३, विज्ञानमा ८ सय ३३, चिकित्साशास्त्रमा ६ सय ७५, कृषिमा ८६, वनविज्ञानमा ५३ र कानुन संकायमा १ सय २ जना दीक्षित भएका छन्।

त्यसै गरी शिक्षाशास्त्र संकायबाट ३१ हजार ४ सय ८, व्यवस्थापन संकायबाट २७ हजार २ सय ३७, मानविकी संकायबाट १५ हजार ९ सय २७, विज्ञान, चिकित्साशास्त्र, इन्जिनियरिङलगायतका अध्ययन संस्थानबाट ७ हजार ९ सय ९४ र कानुन संकायबाट ८ सय ५७ जना विद्यार्थी दीक्षित भएका थिए।

मानविकी र सामाजिक शास्त्र संकायअन्तर्गत विद्यावारिधि (पीएचडी) गरेका ३६ जना, विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत विभिन्न विषयमा विद्यावारिधि गरेका १५ जना, कानुन संकायमा विद्यावारिधि गरेका १ जना, शिक्षाशास्त्र संकायअन्र्तगत विद्यावारिधि गरेका ५ जना, व्यवस्थापन संकायअन्तर्गत रहेर विद्यावारिधि गरेका ७ जना, कृषि तथा पशुपालन संस्थानअन्तर्गतका विषयमा विद्यावारिधि गरेका ४ जनालाई पनि सोही अवसरमा उपाधि प्रदान गरिएको थियो।

त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले विद्यावारिधी गर्ने विद्यार्थीलाई दीक्षान्तको प्रमाणपत्र प्रदान गर्नुभएको थियो।

वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा सम्पन्न दीक्षान्त समारोहमा उहाँले उत्कृष्ट विद्यार्थीलाई पदक प्रदान गर्नुभएको थियो। समारोहमा बोल्दै प्रमुख अतिथि जोशीले नेपालका विश्वविद्यालयको अध्ययन अध्यापनको स्तर सन्तोषजनक रहे पनि अझ उत्तम सीप आर्जन गरेर देश विकासका निम्ति फर्कने प्रतिभाहरूलाई देशभित्रै आकर्षित गर्नु जरुरी रहेको बताउनुभयो।

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री दाहालले आर्थिक हैसियत भएकाहरू मात्रै उच्च शिक्षामा पहुँच हुन नहुने बताउँदै सबैलाई उच्च शिक्षाको पहुँचबाट नजिक बनाउनुपर्ने उल्लेख गर्नुभयो।

उच्च शिक्षाको क्षेत्रमा त्रिविले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपालीलाई आवश्यक पर्ने सीप र दक्षतामासमेत सर्वश्रेष्ठ बन्ने अझै मिहिनेत आवश्यक रहेको औंल्याउनुभयो। उहाँले भन्नुभयो– ‘विश्वविद्यालयबाट उपाधि हासिल गरेका आफ्ना विद्यार्थीलाई विश्व समाजमा प्रतिस्पर्धी र अब्बल बनाउन त्रिविलाई चुनौती थपिएको छ, अबको शिक्षा रोजगारमूलक हुनु आवश्यक छ। आफूलाई सचेत र इमानदार नागरिकका रूपमा स्थापित गरी आफ्नो कर्तव्यलाई कहिल्यै नभुल्न सबै दीक्षित विद्यार्थीलाई आग्रह गर्नुभएको थियो।

त्रिभुवन विश्वविद्यालयका सहकुलपति एवं शिक्षामन्त्री धनिराम पौडेलले नेपालको शिक्षाको ८० प्रतिशत भार बोकेको त्रिविले परिवर्तित मागलाई सम्बोधन गर्न आफूलाई उत्कृष्ट केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभयो।

कार्यक्रममा बोल्दै उपकुलपति प्राडा तीर्थराज खनियाले त्रिविलाई केन्द्रीय विश्वविद्यालयमा परिणत गरे अन्य विश्वविद्यालयसँगको चिसिएका सम्बन्धमा सुधार आउँदै जाने उल्लेख गर्नुभयो। उहाँले शिक्षा मन्त्रालयको निर्देशनअनुसार राष्ट्रिय विश्वविद्यालयको अवधारणा तथा राष्ट्रिय विश्वविद्यालयको स्थापना र संचालन गर्न आवश्यक ऐन नियमहरूको प्रारुप पेस गरिसकेको अवस्थामा त्रिविलाई राष्ट्रिय विश्वविद्यालय बनाउन सरकारले ठोस पहल गर्ने विश्वास रहेको उल्लेख गर्नुभयो। उहाँले दीक्षित विद्यार्थीलाई मुलुकको हितका लागिपर्न आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्