नेतासँग हाम्रो यात्रा



प्रज्वल घिमिरे

आँखाहरुबाट नानी झिकेर
तातो तोरीको तेलमा भुट्नुपर्छ
जिब्रो थुत्दै केवल मान्छेका स्वरुप सम्हालेका
जनावरहरुलई छानी छानी कुट्नुपर्छ
मानवतालाई बचाउने तरिका सोच्नुपर्छ
बुझ पचाउने कानहरु बटुल्दै झीरले घोच्नुपर्छ
हेर्न नसकिने दृश्यहरु हेर्नलाई
परिस्थिति पिच्छे कुरा फेर्नेलाई
अनुकूलताभित्र रुमल्लिएर
छल, कपट र झुटलाई सघाउनेहरु
प्रतिकूलताभित्र अलमलिएर
स्वस्थ्य आँखामा कालो चश्मा लगाउनेहरु
अब आँखा, कान र जिब्रोविहीन जीवन बिताएर
जिउँदै गरेको बृहस्पतिलाई बाँच्न देऊ
पुर्खाको संस्कार सम्झी हाँस्न देऊ
किनभने बिरामी देशको शैयाहरुमा
चिकित्सकविहीन रोगीको मुटुझैं
चल्न नपाई रोकियो हाम्रो यात्रा ।

प्रतिक्रिया दिनुहोस्