नेपाल समाचारपत्रका म्याग्दी संवाददाता बानियाँ पत्रकारिता पुरस्कारबाट सम्मानित


म्याग्दी।

नेपाल समाचारपत्र राष्ट्रिय दैनिकको म्याग्दी जिल्ला संवाददाता प्रताप बानियाँ पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । म्याग्दीको बेनी नगरपालिका ५ पुलाचौरको जनकल्याण माविमा स्थापित ‘धनेश्वरी–तारानाथ स्मृति कोष’को पत्रकारिता पुरस्कार २०८३ उहाँलाई प्रदान गरिएको हो ।

सोमबार विद्यालयमा आयोजित एक समारोहबीच संवाददाता बानियाँलाई कोषमार्फत नगद १० हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो । उहाँलाई कोषका संस्थापक सचिव माधवप्रसाद रेग्मी, सदस्य खगेश्वरी सुवदी, बेनी नगरपालिका ५ नम्बर वडाका वडा अध्यक्ष गाविन्द बानियाँ र विद्यालयका अध्यक्ष खड्कप्रसाद श्रेष्ठले सम्मान प्रदान गर्नुभएको थियो ।

स्मृति कोषमार्फत हरेक वर्ष जिल्लाका एकजना साहित्यकार, एकजना पत्रकार र जनकल्याण माविमा अध्ययनरत उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिँदै आएको छ । कोषले स्थापना गरेको पत्रकारितातर्फको पुरस्कार यसवर्ष संवाददाता बानियाँलाई प्रदान गरिएको हो । यसैगरी साहित्यकारतर्फ म्याग्दी बहुमुखी क्याम्पसका सह–प्राध्यापक रेखाकौशल रेग्मीलाई पनि नगद १० हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको कोषले जनाएको छ ।

म्याग्दीको बेनी नगरपालिका ५ चिप्लेटी स्थायी घर भएका बानियाँ विगत डेढ दशकदेखि म्याग्दी जिल्लाको पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ । म्याग्दीको बेनीमा बसेर पत्रकारिता गर्दै आइरहनुभएका संवाददाता बानियाँ सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजनको पनि म्याग्दी संवाददाताको रुपमा रहनुभएको छ ।

हाल नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको सहसचिव रहुनभएका बानियाँले पत्रकारिता क्षेत्रमार्फत समग्र जिल्लाको पहिचान र विकासमा पु¥याएको योगदानको कदरस्वरुप आफूलाई सम्मान गरेकोमा कोषलाई धन्यवाद दिनुभयो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।