काठमाडौं ।
अमेरिका र इरानबीचको सैन्य तनाव झन् चर्किएको छ। आइतबार साँझ अमेरिकाले इरानका दर्जनौँ सैन्य संरचनामाथि नयाँ हवाई आक्रमण गरेपछि इरानले केही घण्टामै कुवेत, बहराइन र जोर्डनस्थित अमेरिकी सैन्य अड्डाहरूमा क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेको छ।
अमेरिकी केन्द्रीय कमाण्डका अनुसार स्थानीय समयअनुसार साँझ ५ बजेबाट सुरु गरिएको नयाँ सैन्य कारबाहीमा इरानका हवाई प्रतिरक्षा प्रणाली, तटीय राडार, मिसाइल प्रक्षेपण केन्द्र तथा ड्रोन क्षमतासहित दर्जनौँ सैन्य लक्ष्य ध्वस्त पारिएको छ। अमेरिकाले अन्तर्राष्ट्रिय जलमार्गमा जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न आवश्यक कारबाही जारी रहने चेतावनी पनि दिएको छ।
यता इरानी सरकारी सञ्चारमाध्यमका अनुसार दक्षिणपश्चिमी इरानको खुजेस्तान प्रान्तमा अमेरिकी आक्रमणमा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। बन्दर अब्बास, कश्म, सिरिक र जास्क क्षेत्रमा समेत शक्तिशाली विस्फोट भएको पुष्टि गरिएको छ।
अमेरिकी आक्रमणको केही घण्टामै इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले कुवेत, बहराइन र जोर्डनस्थित अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल प्रहार गरेको जनाएको छ। कतार र संयुक्त अरब इमिरेट्स ९यूएई० पनि पछिल्ला आक्रमणको दायरामा परेका छन्। यद्यपि, जोर्डनमा भएको भनिएको आक्रमणबारे अमेरिकी सेनाले औपचारिक प्रतिक्रिया दिएको छैन।
यसैबीच, होर्मुज जलडमरूमध्यको अवस्थाबारे अमेरिका र इरानबीच परस्परविरोधी दाबी सार्वजनिक भएका छन्। इरानले अर्को सूचना नभएसम्म जलडमरूमध्य बन्द गरिएको जनाएको छ भने अमेरिकी सेनाले उक्त समुद्री मार्ग अझै खुला रहेको र व्यापारिक जहाजहरूको आवागमन सुरक्षित गरिने दाबी गरेको छ।
विश्वको करिब २० प्रतिशत कच्चा तेल तथा तरलीकृत प्राकृतिक ग्यास यही जलमार्ग हुँदै ओसारपसार हुने भएकाले तनावसँगै अन्तर्राष्ट्रिय तेल बजारमा पनि प्रभाव परेको छ। सोमबार एसियाली कारोबारमा ब्रेन्ट कच्चा तेलको मूल्य ४।३ प्रतिशतले बढेर प्रतिव्यारेल ७९ दशकलव २६ अमेरिकी डलर पुगेको छ भने अमेरिकी डब्लुटीआई कच्चा तेलको मूल्य पनि ४ दशमलव ३ प्रतिशतले वृद्धि भएर ७४ दशमलव ५० डलर पुगेको छ।
गत जुनमा अमेरिका र इरानबीच भएको अन्तरिम युद्धविराम तथा होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने सहमति अहिले गम्भीर संकटमा परेको विश्लेषण गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका पछिल्ला आक्रमणपछि युद्धविराम प्रभावहीन भएको बताएका छन् भने इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिका स्वयंले सम्झौता उल्लङ्घन गरेको आरोप लगाएका छन्।
दुवै पक्षबाट लगातार सैन्य कारबाही जारी रहँदा मध्यपूर्वमा पूर्ण युद्धको जोखिम अझ बढेको छ। कूटनीतिक प्रयास जारी रहेको बताइए पनि पछिल्ला घटनाक्रमले तनाव तत्काल कम हुने सम्भावना कमजोर बन्दै गएको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन्।











प्रतिक्रिया