काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाले नदीकिनार तथा सार्वजनिक जग्गाबाट हटाएका सुकुम्वासी परिवारलाई अस्थायी रूपमा राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टर शनिवार मध्यराति बाढीले डुबाएपछि त्यहाँ आश्रय लिइरहेका सयौँ नागरिकको अवस्था थप दयनीय बनेको छ । राति करिब १२ः४० बजेदेखि सेन्टरभित्र पानी पस्न थालेपछि बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी तथा गर्भवती महिलासमेत प्रभावित भएका छन् ।
पीडितहरूका अनुसार सरकारले १५ दिनभित्र स्थायी व्यवस्थापन गर्ने आश्वासन दिएर होल्डिङ सेन्टरमा सारेको भए पनि तीन महिना बितिसक्दासमेत कुनै दीर्घकालीन समाधान नहुँदा उनीहरू असुरक्षित र अव्यवस्थित जीवन बिताउन बाध्य भएका छन् । वर्षायामको बीचमा बाढी पसेपछि उनीहरूको आक्रोश थप चुलिएको छ ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका नेता ओजश्वीराज थापाले व्यवस्थापनमा केही प्राविधिक कमजोरी भएको स्वीकार गर्नु भएको छ । उहाँले प्रभावित परिवारका लागि तत्काल खाना, डस्ना, ब्ल्याङ्केट तथा स्वास्थ्य सेवा उपलब्ध गराउने काम भइरहेको दाबी गर्नु भएको छ । उहाँले भन्नुभयो–‘बाढीले समस्या सिर्जना गरेको सत्य हो । राज्यले यसको जिम्मेवारी लिनुपर्छ । अहिले तत्काल राहत उपलब्ध गराउने र दीर्घकालीन रूपमा सुरक्षित स्थानको खोजी गरेर पुनःस्थापनाको काम अघि बढाइरहेका छौँ ।’
बाढीका कारण अधिकांश परिवारको लत्ताकपडा,खाद्यान्न, ओढ्ने–ओछ्याउने तथा दैनिक उपभोगका सामग्रीहरू पूर्णरूपमा भिजेका छन् । कतिपयको विद्युतीय सामग्री,कागजात र नगदसमेत नष्ट भएको पीडितहरूले बताएका छन् ।
पीडित दलमर्दन कामीले सरकारले राहतभन्दा पनि आश्वासन मात्रै बाँडिरहेको आरोप लगाउनुभयो । उहाँका अनुसार बाढीले रातभर सुत्न नदिँदा बिरामी, वृद्धवृद्धा र बालबालिकाको अवस्था झन् नाजुक बनेको छ ।
उहाँले भन्नुभयो–‘हामीलाई एउटा मिठाइ दिएर खाजा खुवाएको जस्तो देखाइयो, तर वास्तविक समस्या कसैले सुनेन । हामी बसेको ठाउँमा फर्किन पनि दिइएको छैन । निमोनियाका बिरामी,मिर्गौलाका बिरामी, वृद्धवृद्धा सबै यहीँ छन् । अब हामीसँग बाँच्ने आशा नै हराउन थालेको छ ।’
होल्डिङ सेन्टरमा बस्दै आएकी कान्छीमाया घलानका अनुसार राति सबै सुतिरहेका बेला एक्कासि पानी पसेपछि ज्यान जोगाउनु नै पहिलो प्राथमिकता बन्यो । ‘छाता र हातमा भएको मोबाइल मात्रै समातेर बाहिर निस्कियौँ । लत्ताकपडा, खाद्यान्न सबै पानीले बगायो । राति करिब तीन बजे मात्रै उद्धारका लागि सुरक्षाकर्मी आइपुगे’ उहाँले भन्नुभयो । उहाँले सरकारले आफूहरूलाई नागरिकको रूपमा नभई बोझका रूपमा व्यवहार गरेको गुनासो गर्नुभयो ।
“हाम्रो पनि बाँच्ने अधिकार छ । हाम्रा पनि बालबच्चा छन् । हामी कसैको लालपुर्जा भएको जग्गा मिचेर बसेका थिएनौँ । सरकारले हाम्रो ठाउँमा आफू बसेर एक रात बिताएको भए हाम्रो पीडा बुझ्थ्यो,’ उहाँले भन्नुभयो । होल्डिङ सेन्टरमा बस्दै आउनु भएकी रमा बस्नेतले १५ दिनका लागि भनेर ल्याएर महिनौँसम्म अलपत्र छाडिएको भन्दै सरकारमाथि आक्रोश पोख्नुभयो ।
उहाँले भन्नुभयो–‘सरकारमा भएका मानिसहरूले पनि एक दिन मर्नुपर्छ भन्ने हेक्का राख्नुपर्छ । हामीलाई किन झूटो आश्वासन दिइयो, हाम्रो जीवन नै बर्बाद भयो ।’
अर्का पीडित डम्बर तामाङले बाढीले करिब एक लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको बताउनुभयो । ‘सामान निकाल्नसमेत पाइएन । सबै हिलोले पुरियो । बालबच्चा चप्पलबिना हिँडिरहेका छन् । उद्धारका लागि सुरक्षाकर्मी ढिलो आए, हामी आफैँले ज्यान जोगायौँ,’उहाँंले भन्नुभयो ।
होल्डिङ सेन्टरमा मुटु, मिर्गौला, दमलगायतका दीर्घरोगी बिरामीहरू पनि बस्दै आएका छन् । लगातारको वर्षा, चिसो र ओसिलो वातावरणले उनीहरूको स्वास्थ्य अवस्था थप जटिल बन्न थालेको स्थानीयले बताएका छन् । पीडितहरूले आफूहरूलाई आफन्तसँग भेट्नसमेत सहज अनुमति नदिएको र बाहिर निस्कन पनि विभिन्न अवरोध गरिएको आरोप लगाएका छन् ।
काठमाडौँ उपत्यकामा नदी किनार,सार्वजनिक तथा सरकारी जग्गामा दशकौँदेखि बसोबास गर्दै आएका सुकुम्बासीहरूको व्यवस्थापन नेपालका सरकारहरूका लागि लामो समयदेखि चुनौती बनेको छ । विभिन्न सरकारले पटक–पटक स्थायी आवास, जग्गा व्यवस्थापन तथा पुनःस्थापनाको प्रतिबद्धता जनाए पनि अधिकांश योजना घोषणामै सीमित भएका छन् ।
अहिले पनि धेरै परिवारसँग वैकल्पिक आवास छैन । महानगरले अतिक्रमण हटाउने अभियान सञ्चालन गरेपछि उनीहरूलाई अस्थायी रूपमा कीर्तिपुरको होल्डिङ सेन्टरमा सारिएको थियो । त्यतिबेला १५ दिनभित्र स्थायी व्यवस्थापन गरिने आश्वासन दिइएको थियो । तर तीन महिना बितिसक्दा पनि उनीहरू अस्थायी टहरामै बस्न बाध्य छन् ।
पीडितहरूको भनाइमा, अस्थायी आश्रयस्थलसमेत सुरक्षित स्थानमा निर्माण नगरिएकाले अहिलेको बाढीले उनीहरूको अवस्था झन् दयनीय बनाएको हो ।
बाढीको पानी केही घटे पनि होल्डिङ सेन्टरभित्र हिलो, फोहोर र दुर्गन्ध फैलिएको छ । धेरै परिवार अझै भिजेका कपडा र ओढ्ने–ओछ्याउनेमै बस्न बाध्य छन् । स्वास्थ्यकर्मीहरूले सरसफाइ अभावका कारण झाडापखाला, छालाजन्य संक्रमण तथा अन्य संक्रामक रोग फैलिन सक्ने चेतावनी दिएका छन् ।
प्रभावितहरूले तत्काल सुरक्षित स्थानमा स्थानान्तरण, बाढीबाट भएको क्षतिको उचित मूल्याङ्कन, राहत तथा दीर्घकालीन पुनःस्थापनाको माग गरेका छन् । वर्षायाम अझै बाँकी रहेकाले तत्काल प्रभावकारी व्यवस्थापन नभए होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी परिवारको मानवीय संकट अझ गम्भीर बन्न सक्ने देखिएको छ । अहिलेको अवस्था केवल बाढीको समस्या मात्र नभई वषौंँदेखि समाधान हुन नसकेको सुकुम्बासी व्यवस्थापनको नीतिगत असफलताको अर्को उदाहरणका रूपमा समेत हेरिन थालेको छ ।











प्रतिक्रिया