साकेला : प्रकृति, संस्कृति र सभ्यताको जीवित उत्सव

752
Shares

नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक पहिचानले समृद्ध राष्ट्र हो । यही विविधताको सुन्दर प्रतिरूपमध्ये किराँत समुदायको महान् सांस्कृतिक पर्व ‘साकेला’ एक विशिष्ट सभ्यता, प्रकृतिप्रतिको श्रद्धा र मानव जीवनको दार्शनिक चेतनाको प्रतीकका रूपमा स्थापित छ । विशेष गरी खोटाङलगायत पूर्वी नेपालका किराँत बहुल भूभागमा भव्यरूपमा मनाइने साकेला पर्व केवल उत्सव मात्र नभई आदिम सभ्यताको जीवित इतिहास, प्रकृतिसँगको सहअस्तित्व र पुर्खाको स्मृतिलाई पुस्तान्तरण गर्ने सांस्कृतिक अभियान हो ।

साकेला पर्वको मूल आधार किराँत समुदायको प्राचीन मौखिक धर्मग्रन्थ ‘मुन्धुम’ हो । मुन्धुमले मानव, प्रकृति, पृथ्वी, वनजंगल, जलस्रोत, पशुपक्षी तथा ब्रह्माण्डबीचको सम्बन्धलाई पवित्र मान्दै जीवन र प्रकृतिको सन्तुलनलाई सर्वोच्च सत्यका रूपमा व्याख्या गर्दछ । इतिहासविद् तथा सांस्कृतिक अनुसन्धानकर्ताहरूका अनुसार किराँत सभ्यता नेपालका सबैभन्दा पुराना सभ्यतामध्ये एक मानिन्छ, जसको सांस्कृतिक निरन्तरता हजारौँ वर्षदेखि मौखिक परम्परा, संस्कार र सामुदायिक अभ्यासमार्फत जोगिँदै आएको छ । साकेला पर्व त्यही आदिम जीवनदर्शनको सांस्कृतिक अभिव्यक्ति हो, जसले प्रकृतिलाई केवल उपयोगको वस्तु नभई जीवनदाता शक्तिका रूपमा सम्मान गर्दछ ।

किराँत समुदायको विश्वासअनुसार मानव जीवनको अस्तित्व प्रकृतिको कृपामाथि निर्भर हुन्छ । प्राचीन समयमा जब मानिसहरू कृषि कर्ममा आबद्ध भए, तब राम्रो वर्षा, उब्जनी, पशुधनको सुरक्षा तथा प्राकृतिक विपत्तिबाट बच्न प्रकृतिसँग प्रार्थना गर्ने परम्परा प्रारम्भ भयो । यही सामूहिक पूजा, प्रार्थना र प्रकृतिप्रतिको कृतज्ञताले क्रमशः साकेला संस्कृतिको रूप लिएको मानिन्छ । यस पर्वमा गरिने पूजा र अनुष्ठानले पृथ्वीलाई मातृशक्ति, वनलाई जीवनको आधार, नदीलाई पवित्रता तथा पुर्खालाई मार्गदर्शक आत्माका रूपमा स्मरण गर्दछ ।

साकेला पर्वको सबैभन्दा आकर्षक र जीवन्त पक्ष ‘साकेला सिली’ नृत्य हो । गोलाकार घेरामा सामूहिक रूपमा प्रस्तुत गरिने यो नृत्य केवल मनोरञ्जनको माध्यम होइन, बरु जीवन र प्रकृतिको सांकेतिक व्याख्या हो । सिलीका प्रत्येक भङ्गीमा र चालमा खेतीपाती, बीउ रोपाइँ, अन्न उत्पादन, चराचुरुङ्गीको उडान, वन्यजन्तुको चाल, सिकार, श्रम, सहकार्य तथा मानव जीवनका विविध गतिविधिहरूको कलात्मक प्रस्तुति समावेश हुन्छ । परम्परागत भेषभूषामा सजिएका पुरुष तथा महिलाहरू ढोल, झ्याम्टा र मौलिक बाजागाजाको तालमा नृत्य गर्दा सम्पूर्ण वातावरण सांस्कृतिक ऊर्जा र सामुदायिक भावनाले गुञ्जायमान बन्छ । यसर्थ साकेला सिलीलाई किराँत सभ्यताको जीवित इतिहास तथा सांस्कृतिक अभिलेखका रूपमा समेत व्याख्या गरिन्छ ।

साकेला पर्व मुख्यतः ‘उँभौली’ र ‘उँधौली’ गरी दुईरूपमा मनाइन्छ । वैशाख पूर्णिमाको अवसरमा मनाइने उँभौलीले उकालो लाग्ने ऋतु, खेतीपातीको प्रारम्भ र नयाँ जीवनचक्रको संकेत गर्दछ । वैशाख पूर्णिमादेखि शुरु गरिने साकेला खोटाङतिर महिनैसम्म गाउँघरमा रमाइलो गर्दै मनाउने गरिन्छ । यस समयमा प्रकृतिसँग समृद्ध खेती, पर्याप्त वर्षा, स्वास्थ्य र शान्तिको कामना गरिन्छ । त्यसै गरी मंसिर पूर्णिमामा मनाइने उँधौलीले बाली भित्र्याएपछिको कृतज्ञता, समृद्धि तथा पुर्खाप्रतिको सम्मानलाई अभिव्यक्त गर्दछ । यी दुबै पर्वले प्रकृतिको चक्रसँग मानव जीवनको अभिन्न सम्बन्धलाई दार्शनिक रूपमा प्रस्तुत गर्दछन् ।

वर्तमान समयमा साकेला पर्वले धार्मिक तथा सांस्कृतिक सीमालाई पार गर्दै पहिचान, एकता र सांस्कृतिक संरक्षणको सशक्त माध्यमका रूपमा नयाँ उचाइ प्राप्त गरेको छ । विशेष गरी खोटाङलगायतका क्षेत्रमा हरेक वर्ष हजारौँ मानिसको सहभागितामा साकेला उत्सव आयोजना गरिन्छ । युवा पुस्ताको सक्रिय सहभागिता, परम्परागत पोशाकप्रतिको आकर्षण, सांस्कृतिक झाँकी, मौलिक गीत–संगीत तथा सामूहिक नृत्यले लोपोन्मुख सांस्कृतिक मूल्यहरूलाई पुनर्जीवित गरिरहेका छन् । नेपालभित्र मात्र होइन, भारत, भुटान, बेलायत, हङकङ, अस्ट्रेलियालगायत विभिन्न मुलुकमा रहेका किराँत समुदायले समेत साकेला पर्वलाई निरन्तरता दिइरहेका छन्, जसले यस संस्कृतिको अन्तर्राष्ट्रिय विस्तार र जीवन्ततालाई प्रमाणित गर्दछ ।

आजको आधुनिक युगमा, जहाँ मानव समाज प्रकृतिबाट क्रमशः टाढिँदै गएको अनुभूति गरिरहेको छ, साकेला पर्वले प्रकृतिसँग सहअस्तित्व, सामूहिकता, श्रमको सम्मान, सामाजिक सद्भाव र सांस्कृतिक आत्मपहिचानको गहन सन्देश प्रवाह गर्दछ । यस पर्वले सिकाउने मूल दर्शन भनेको मानव र प्रकृतिबीचको सम्बन्ध केवल उपयोगितामा सीमित नभई आध्यात्मिक, सांस्कृतिक र अस्तित्वगत सम्बन्ध हो भन्ने चेतना हो । त्यसैले साकेला पर्व केवल किराँत समुदायको पर्व मात्र नभई नेपालको समग्र सांस्कृतिक सम्पदाको अनुपम धरोहरका रूपमा स्थापित भएको छ ।

यस वर्षको साकेला पर्व पनि बैशाख पूर्णिमाको दिनबाट शुरु गरेर जेठ २९ गते खोटाङको दिक्तेलमा भव्यरूपमा समापन समारोह आयोजना गरी हर्षोल्लासका साथ मनाइयो । किराँत समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानलाई जीवन्त राख्ने यस पर्वमा सिली नृत्य, सांस्कृतिक प्रस्तुति तथा सामूहिक सहभागिताले विशेष रौनक थपेको थियो । प्रकृति, पुर्खा र सृष्टिप्रति कृतज्ञता व्यक्त गर्दै मनाइने साकेलाले समुदायबीच एकता, सद्भाव र सांस्कृतिक गौरवको सन्देश प्रवाह गरेको छ ।