पौरखी हात : गाई फार्मबाट गाउँमै वार्षिक ३५ लाख आम्दानी

376
Shares

हेटौंडा ।

गाउँमा बसेर पनि मेहनत, योजना र धैर्यसाथ काम गरे सफल हुन सकिन्छ भन्ने उदाहरण बनेका छन् मकवानपुरगढी गाउँपालिका–३, मरंगे कालीदेवी टोलका युवा मधुसूदन दाहाल । धेरै युवा विदेशिन बाध्य भइरहेका बेला उनले भने गाईपालन व्यवसाय रोजे र २०७६ सालमा ९ वटा गाईबाट शुरु गरेको यात्रामा हाल ४९ वटा गाई भएको व्यवस्थित कृषि फार्ममा रुपान्तरण गरेका छन् ।

लक्ष्मीनारायण बहुउद्देश्यीय कृषि फार्ममार्फत उनले केवल दूध उत्पादनमात्र गरेका छैनन्, उन्नत जातका गाई र बाछी उत्पादनमा समेत आफूलाई स्थापित गरिरहेका छन् । हाल फार्ममा २४ वटा माउ गाई र २५ वटा बाछी गरी ४९ गाई छन् । १६ गाईले नियमित दूध दिइरहेका छन् भने आठवटा ब्याउने तयारीमा छन् ।
उनको सोच शुरुदेखि नै फरक थियो । उनले संख्या बढाउनेभन्दा गुणस्तरीय नस्ल विकासलाई प्राथमिकता दिए । अमेरिकन सिमेनलगायत उन्नत सिमेन प्रयोग गरी कृत्रिम गर्भाधानमार्फत उच्च उत्पादन दिने बाछी उत्पादनमा जोड दिए । गाईमा कृत्रिम गर्भाधान भनेको उन्नत जातको साँढेबाट संकलित वीर्यलाई प्राविधिकको मद्दतले गाईको पाठेघरमा पु¥याउने वैज्ञानिक प्रविधि हो । यसले गर्दा उन्नत सन्तति उत्पादन हुने, रोग सर्ने सम्भावना कम हुने र खर्च पनि घट्ने हुन्छ । यसो गर्दा उन्नत जातको साँढे पाल्नुपर्ने झन्झट पनि हुँदैन । साँढेबाट सर्ने विभिन्न यौनजन्य सरुवा रोगहरुबाट गाईलाई बचाउन सकिन्छ । एउटै साँढेको वीर्यबाट धेरै गाईमा सन्तान उत्पादन गराउन सकिन्छ । दूध उत्पादन बढाउने र उन्नत नस्ल विकास गर्न यो प्रविधि अत्यन्त प्रभावकारी छ ।

यही कारण हाल फार्ममा रहेका ४९ गाईमध्ये ४२ वटा आफ्नै फार्ममा जन्मिएका छन् । ‘हामीले बाहिरबाट गाई किनेर संख्या बढाएका होइनौं’, मधुसूदन भन्छन्, ‘आफ्नै गोठमा जन्मिएका बाछी हुर्काएर फार्म विस्तार गरेका हौं ।’ पछिल्ला दुई वर्षदेखि उनले उन्नत जातका बाछी बिक्रीसमेत गरिरहेका छन् । आवश्यक परे अन्य किसानलाई पनि बाछी उपलब्ध गराउन तयार रहेको उनी बताउँछन् ।

फार्ममा भारतबाट ल्याइएको शुद्ध होलस्टेन जातको एउटा साँढे पनि छ । उक्त साँढेको बाबु अमेरिकन एबीएसको उच्च आनुवंशिक क्षमता भएको साँढे हो भने आमाबाट दैनिक ४२ लिटरसम्म दूध उत्पादन भएको रेकर्ड छ । यस्ता आनुवंशिक गुणलाई आधार बनाएर उनले भविष्यमा उच्च उत्पादनशील गाई तयार गर्ने लक्ष्य राखेका छन् ।

उनको फार्मका केही गाईले दैनिक ३२ लिटरसम्म दूध दिएका छन् । यही कारण मकवानपुर जिल्लामै सहकारीमार्फत धेरै दूध बिक्री गर्ने फार्ममध्ये यो पनि एक मानिन्छ । तथ्यांकअनुसार गतवर्षको साउनदेखि जेठसम्म फार्मबाट ५७ हजार लिटर दूध बिक्री भइसकेको छ । २०७६ सालमा करिब साढे ११ लाख खर्च गरेर नौवटा गाई खरिद गरी व्यवसाय शुरु गरेका मधुसूदनले गोठ निर्माण तथा पूर्वाधार विकासमा करिब साढे १७ लाख लगानी गरेका थिए । त्यसयता फार्मबाट आएको आम्दानीलाई पुनः लगानी गर्दै व्यवसाय विस्तार गरिरहेका छन् ।

हाल उनको लक्ष्य फार्मलाई आधुनिक र व्यवस्थित बनाउनु हो । गाईलाई नुहाएर भित्र प्रवेश गराउने, व्यवस्थितरुपमा दूध दुहेर अर्कोतर्फबाट बाहिर निस्कने प्रणालीसहित आधुनिक पार्लर निर्माण गर्ने तयारी भइरहेको छ । दाना, चोकर र पशुआहारका लागि छुट्टै स्टोर, माथिल्लो भागमा भुसा तथा पराल भण्डारण गर्ने गरी संरचना निर्माणको काम पनि अघि बढिरहेको छ । ‘हामी फार्मलाई सामान्य गोठ होइन, व्यवस्थित र नमुना डेरी फार्मका रुपमा विकास गर्न चाहन्छौं’, उनी भन्छन् ।

फार्म सञ्चालनमा परिवार नै मुख्य शक्ति बनेको छ । भाइ मदन दाहाल प्राविधिक पक्ष सम्हाल्छन् भने बुबा ठाकुरप्रसाद दाहाल व्यवस्थापन र बाहिरी समन्वयमा सक्रिय छन् । आमा र पत्नीले दैनिक स्याहारसुसार तथा दूध दुहुने काम सम्हाल्छन् । फार्मले थप दुईजनालाई रोजगारीसमेत दिएको छ । पशुआहारमा आत्मनिर्भर बन्न चार बिघा जमिनमा नेपियर, सुपर नेपियर, रेड नेपियरलगायत बहुवर्षीय घाँस उत्पादन भइरहेको छ । स्टाइलो, बर्सिम र जैजस्ता मौसमी घाँसका साथै लिजमा लिएको जमिनमा मकै खेतीसमेत गरिन्छ ।

व्यवसाय विस्तारका क्रममा मधुसूदनले एउटा तीतो अनुभव पनि सँगालेका छन् । प्रदेश सरकारअन्तर्गत निकायसँग अनुदान सम्झौतापछि पूर्वाधार निर्माणमा ठूलो लगानी गरे पनि अपेक्षित अनुदान रकम प्राप्त गर्न नसकेको उनी बताउँछन् । त्यस क्रममा करिब ४१ लाखको लगानी संरचना निर्माणमा अड्किएको उनको भनाइ छ । उनका अनुसार किसानलाई अनुदान दिने नीतिमा स्पष्टता र निरन्तरता नहुँदा धेरै व्यवसायी अन्यौलमा पर्ने गरेका छन् । त्यसैले उनी अनुदानको आशभन्दा आफ्नै उत्पादन र आम्दानीको आधारमा व्यवसाय विस्तार गर्नु सुरक्षित हुने अनुभव सुनाउँछन् ।

वार्षिक खर्च कटाएर ३५ लाख रुपियाँसम्म आम्दानी गरिरहेका मधुसूदन गाईपालन व्यवसायप्रति पूर्ण सन्तुष्ट छन् । उनका अनुसार यस व्यवसायको सबभन्दा ठूलो विशेषता निरन्तर आम्दानी हो । उनी भन्छन्– पैसा कमाउन विदेश जानै पर्छ भन्ने छैन, आफ्नै गाउँमा बसेर पनि भविष्य राम्रो बनाउन सकिन्छ । उनले युवाहरुलाई सानोबाट शुरु गर्न, धैर्य राख्न र आफैं खट्न सुझाव दिन्छन् । ‘गाईपालनमा सफल हुन ठूलो पुँजी होइन, निरन्तरता चाहिन्छ’, उनी भन्छन्, ‘गाई पाल्ने हो भने संख्या बढाउनेभन्दा गुणस्तर बढाऔं । राम्रो सिमेन प्रयोग गरौं, आफ्नै गोठमा बाछी उत्पादन गरौं । नेपालमै उच्च उत्पादन दिने गाई उत्पादन गर्न सकिन्छ ।’
मकवानपुरगढीका मेहनती युवा मधुसूदनको व्यावसायिक यात्रा धेरै युवाका लागि प्रेरणाको स्रोत बनेको छ । विदेशिने भीडबीच उनले आफ्नै माटोमा पसिना बगाएर देखाएका छन्– सफलताको बाटो टाढा होइन, आफू उभिएको ठाउँबाट पनि शुरु गर्न सकिन्छ ।