काठमाडौँ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि बुधबार राति फेरि ठूलो सैन्य आक्रमण हुन सक्ने चेतावनी दिएका छन्। टर्कीमा आयोजित नेटो शिखर सम्मेलनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले आवश्यक परे अमेरिका पुनः बल प्रयोग गर्न तयार रहेको बताएका हुन्।
ट्रम्पले मंगलबार राति इरानमाथि कडा आक्रमण गरिएको उल्लेख गर्दै अबका सम्भावित हमलामा पुल, डिसेलिनेसन प्लान्ट तथा अन्य महत्वपूर्ण पूर्वाधारलाई निशाना बनाउन सकिने संकेत दिए। उनले इरानको मुख्य तेल निर्यात केन्द्र खार्ग टापुमाथि पनि नियन्त्रण गर्न सकिने दाबी गरे।
उनले इरानसँगको वार्ताप्रति असन्तुष्टि व्यक्त गर्दै सम्झौताको प्रक्रिया प्रभावहीन बनेको बताए। “अब म उनीहरूसँग कुरा गर्न चाहन्न, समयको बर्बादी मात्र हो,” ट्रम्पले भने।
यद्यपि उनले वार्ताका लागि ढोका पूर्ण रूपमा बन्द नभएको संकेत पनि दिएका छन्। वार्ता अघि बढ्ने वा नबढ्ने निर्णय तेहरानको हातमा रहेको उनको भनाइ थियो।
ट्रम्पले इरानलाई आणविक हतियार विकास गर्न नदिने अमेरिकी नीति दोहोर्याउँदै आफ्नो उद्देश्य शासन परिवर्तन नभई इरानको आणविक कार्यक्रम अन्त्य गर्नु रहेको स्पष्ट पारे।
अमेरिकी रक्षा सचिव पिट हेगसेथले पनि आवश्यक परे इरानभित्रका रणनीतिक लक्ष्यमा थप आक्रमण हुन सक्ने चेतावनी दिएका छन्।
यता, इरान र अमेरिकाबीच केही महिनाअघि भएको युद्धविराम सम्झौता दुवै पक्षले उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन्। पछिल्ला अभिव्यक्तिले ट्रम्पको अडान वार्ताबाट थप कडा सैन्य रणनीतितर्फ मोडिएको संकेत गरेको विश्लेषण गरिएको छ।











प्रतिक्रिया