स्याङ्जा।
गण्डकी र लुम्बिनी प्रदेशको सङ्गमस्थल (रामनदीधाम) राम्दीस्थित कालीगण्डकी नदीमाथि आधुनिक पक्की पुल ‘सिग्नेचर ब्रिज’को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्ने सिद्धार्थ राजमार्गअन्तर्गत निर्माण भइरहेको उक्त पुलको हालसम्म ९५ प्रतिशत काम सम्पन्न भएको छ । पुल सेक्टर पोखराका आयोजना प्रमुख तथा वरिष्ठ डिभिजनल इन्जिनियर (सिडिई) कृष्णराज अधिकारीका अनुसार पुल निर्माणको अधिकांश संरचनात्मक काम सकिएको छ भने बाँकी फिनिसिङ तथा अन्तिम चरणका काम तीव्र गतिमा भइरहेका छन् । निर्माण सम्पन्न भएसँगै यस क्षेत्रको यातायात, व्यापार तथा आवागमनमा उल्लेखनीय सहजता आउने अपेक्षा गरिएको छ ।
सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गअन्तर्गत राम्दीमा कालीगण्डकी नदीमाथि निर्माण भएको नयाँ पुलमा सबैको ध्यान केन्द्रित भएको छ । राम्दीमा विसं २०२८ सालमा निर्माण गरिएको ९३ मिटर लामो स्टिल ट्रस पुल लामो समयदेखि सञ्चालनमा रहे पनि जीर्ण बन्दै गएको र आधुनिक यातायातको आवश्यकता पूरा गर्न नसक्ने अवस्थामा पुगेपछि नयाँ प्रविधिमा आधारित सिग्नेचर ब्रिज निर्माण सुरु गरिएको हो । हाल सञ्चालनमा रहेको पुलभन्दा केही तल १ सय २३ मिटर लामो आधुनिक पुल निर्माण भइरहेको छ । सडक विभागअन्तर्गत पुल महाशाखाले सर्वेक्षण गरी अघि बढाएको यो पुल ‘सिएएफएसआरआई स्टिल ट्युब आर्क’ प्रविधिमा निर्माण भइरहेको छ । ११ मिटर चौडाइको यस पुलमा पैदलयात्रुका लागि छुट्टै फुटपाथको व्यवस्था गरिएको छ । पुलको भारवहन क्षमता ४० टन रहने भएकाले ठूला मालवाहक तथा अन्य सवारीसाधन पनि सहज रुपमा सञ्चालन गर्न सकिनेछ ।
पहिलेको पुल जीर्ण हुँदै जाँदा ठूला भारवहन क्षमताका सवारी साधन सञ्चालन हुन पाएका थिएनन् । आयोजना प्रमुख अधिकारीका अनुसार सुरुमा १ सय २० मिटर लम्बाइको पुल निर्माण गर्ने योजना रहे पनि प्राविधिक आवश्यकताअनुसार थप तीन मिटर विस्तार गरी १ सय २३ मिटर बनाइएको हो । पुल निर्माणका लागि हिम सगरमाथा कन्ट्रक्सन प्रालिसँग विसं २०७९ असार ३० गते ठेक्का सम्झौता भएको थियो । विसं २०८२ असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त आयोजनाको लागत करिब २७ करोड ७१ लाख ९ हजार रुपैयाँ रहेको छ । हाल सञ्चालनमा रहेको पुरानो स्टिल ट्रस पुलमा ठूला भारवहन क्षमताका सवारीसाधन सञ्चालन गर्न कठिनाइ हुने गरेको थियो । यसका कारण दैनिक उपभोग्य वस्तु तथा औद्योगिक सामग्री ढुवानीमा समस्या पर्दै आएको थियो । नयाँ पुल सञ्चालनमा आएपछि मालसामान ढुवानी सहज हुने, ढुवानी लागत घट्ने तथा यात्रु आवागमन सुरक्षित र प्रभावकारी हुने विश्वास गरिएको छ ।
भारत सरकारको सहयोगमा २०२२ सालदेखि सिद्धार्थ राजमार्गको निर्माण सुरु भई २०२८ सालमा सम्पन्न भएको थियो । राम्दी क्षेत्र गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्ने महत्वपूर्ण प्रवेशद्वार मात्र नभई व्यापारिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले पनि विशेष महत्व राख्ने स्थान हो । यहाँ दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्ने भएकाले आधुनिक पुल निर्माणले दुई प्रदेशबीचको आर्थिक तथा सामाजिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । स्थानीय उद्योगी, व्यवसायी, ढुवानी व्यवसायी तथा उपभोक्ताले पुल निर्माण अन्तिम चरणमा पुगेकोमा खुसी व्यक्त गरेका छन् । उनीहरुका अनुसार नयाँ पुल सञ्चालनमा आएपछि यातायात व्यवस्थापन थप सुरक्षित हुने, व्यापारिक गतिविधिमा वृद्धि हुने तथा पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक योगदान पुग्नेछ । आधुनिक प्रविधिमा निर्माण भइरहेको राम्दीको सिग्नेचर ब्रिजले पुरानो पुलको विकल्प मात्र नभई गण्डकी र लुम्बिनी प्रदेशबीचको आवागमनलाई थप सुरक्षित, सहज र दिगो बनाउने विश्वास गरिएको छ । निर्माण कार्य निर्धारित समयमै सम्पन्न गरी सञ्चालनमा ल्याउन सम्बन्धित निकायले अन्तिम चरणका कामलाई तीव्रता दिएको जनाएको छ ।











प्रतिक्रिया