सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक र डसना वितरण


काठमाडौं।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत कालिकोट जिल्लाका विपद् प्रभावित ५७ परिवारलाई राहत सामग्री वितरण गरेको छ।

कम्पनीले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रसँगको समन्वयमा शुभकालिका गाउँपालिका, महावै गाउँपालिका, खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिकाका विभिन्न वडाका प्रभावित परिवारलाई स्ट्यान्डर्ड डबल सिरक तथा डसना वितरण गरेको जनाएको छ।

अविरल वर्षाका कारण प्रभावित परिवारलाई आवश्यक न्यानो सामग्री उपलब्ध गराई उनीहरूको दैनिक जीवनयापनमा केही राहत पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ। राहत वितरणमा स्थानीय निकाय तथा सम्बन्धित संस्थाहरूको पनि समन्वय रहेको थियो।

राहत सामग्री वितरण कार्यक्रममा सिटिजन लाइफका एजेन्सी म्यानेजर राजु सिजापतिको विशेष उपस्थिति रहेको थियो। उनले कार्यक्रमको समन्वय गर्दै प्रभावित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेका थिए।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, सामाजिक उत्थान तथा समुदायमुखी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। आगामी दिनमा पनि आवश्यकतामा रहेका समुदायलाई लक्षित गरी यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।