काठमाडौं।
मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत देशका विभिन्न सरकारी विद्यालयका एक हजारभन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री तथा अध्ययन सहयोग प्रदान गरेको छ।

बैंकले शिक्षाको प्रवर्द्धन र बालबालिकाको शैक्षिक पहुँच विस्तार गर्ने उद्देश्यले विद्यालय पोसाक, स्कुल ब्याग, स्टेशनरी सामग्री, खेलकुद सामग्री, डिजिटल स्मार्ट बोर्ड, सिलिङ पंखालगायत सामग्री वितरण गरेको जनाएको छ। साथै आर्थिक रूपमा कमजोर तथा आगलागीबाट प्रभावित ६ जना बालबालिकाको एक शैक्षिक वर्षको अध्ययन खर्चसमेत व्यहोरेको छ।

बैंकका अनुसार मोरङ, महोत्तरी, अर्घाखाँची, डडेलधुरा, रुपन्देही, उदयपुर, झापा, नवलपरासी, सर्लाही र कञ्चनपुरका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
यसक्रममा मोरङको विराटनगरमा ७८ विद्यार्थीलाई शैक्षिक पोसाक, महोत्तरीको बर्दिबासमा १२८ जनालाई स्टेशनरी सामग्री, अर्घाखाँचीको सन्धिखर्कमा २५ जना अपाङ्गता भएका बालबालिकालाई स्कुल ब्याग तथा स्टेशनरी सामग्री, डडेलधुराको खिन्नेभाडीमा १५० विद्यार्थीलाई स्टेशनरी सामग्री, उदयपुरको बागचौरीमा ५० जना, झापाको कचनकवलमा २०० जना, नवलपरासीको बर्दघाटमा ८५ जना, सर्लाहीको राजघाटमा २०० जना तथा कञ्चनपुरको तिलकपुरमा ११० जना विद्यार्थीलाई स्कुल ब्याग तथा आवश्यक शैक्षिक सामग्री वितरण गरिएको बैंकले जनाएको छ।

यस्तै, सामाजिक संस्था ‘अस्तित्व नेपाल’सँगको सहकार्यमा आगलागीबाट प्रभावित तथा कमजोर आर्थिक अवस्थाका ६ जना बालबालिकाको एक शैक्षिक वर्षको अध्ययन खर्चसमेत उपलब्ध गराइएको छ।

बैंकले सुर्खेतस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, खजुरामा एक थान डिजिटल स्मार्ट बोर्ड, रुपन्देहीको देवदहस्थित विद्यालयमा चार थान सिलिङ पंखा तथा महोत्तरी र रुपन्देहीका दुई विद्यालयलाई खेलकुद सामग्री पनि हस्तान्तरण गरेको जनाएको छ।

विद्यार्थीहरूको अध्ययनलाई सहज बनाउन गरिएको यस सहयोगले स्थानीय विद्यालय, विद्यार्थी र अभिभावकमा सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले व्यक्त गरेको छ। साथै शिक्षा सामाजिक तथा आर्थिक रूपान्तरणको प्रमुख आधार भएकाले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइने बैंकले जनाएको छ।











प्रतिक्रिया