मःम खाएर १२ जना बिरामी परेपछि होटलमा अनुगमन, उपचार खर्च बेहोर्न निर्देशन

3.95k
Shares

धादिङ ।

नीलकण्ठ नगरपालिका वडा नम्बर ३ बिचबजारमा रहेकाे “नुवाकोट फाष्ट फुड एण्ड क्याफे : च्वास्स झोल मःम” पसलमा म:म खाएर १२ जना मानिस बिरामी परेका छन् ।

पसलमा म:म खाएका मानिसहरु बिरामी परेपछि धादिङ अस्पतालमा उपचारका लागि पुर्याइएकाे थियाे । २ दिन अधि अस्पताल लगिएकामध्ये २ जनालाई सोही दिन डिस्चार्ज गरियो भने ६ जना अझै भर्ना गरेर उपचार गरिरहेको धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक महासेठले जानकारी दिनुभयाे ।

“नुवाकोट फाष्ट फुड एण्ड क्याफे : च्वास्स झोल मःम” हाेटलमा म:म खाएर मानिस बिरामी परेकाे जानकारीपछि जिल्ला अनुगमन समितिले क्याफेकाे अनुगमन गरेकाे छ ।

हाेटलकाे सरसफाइ, तथा खानेकुराकाे सुद्धता कायम गर्न ७ दिनकाे म्याद दिइएको र सबै विरामीकाे सबै खर्च व्यहाेर्न निर्देशन दिइएको जिल्ला अनुगमन समितिका सदस्यसचिव तथा उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख चूडामणि पुरीले बताउनुभयाे ।