लन्डन, (एजेन्सी) ।
वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलिया आठौँ पटक आईसीसी महिला टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । ओभलमा सम्पन्न खेलमा अस्ट्रेलियाले उत्कृष्ट बलिङ र बेथ मुनीको सानदार अर्धशतकको मद्दतले सहज जित दर्ता गरेको हो ।
१ सय २६ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले १३ ओभरमा २ विकेटको नोक्सानमै प्राप्त गरेको थियो । सो लक्ष्य पछ्याउन क्रममा टोलीले ४३ रनमै दुई विकेट गुमाउनु परेको थियो । त्यसपछि बेथ मुनीले उत्कृष्ट ब्याटिङ गरेर जित दिलाइन् । उनले नटआउट हुँदैं ६१ रनको योगदान दिएकी थिइन् ।
यो अर्धशतकसँगै मुनीले महिला टी–२० विश्वकप इतिहासमा कीर्तिमानसमेत रचिन् । उनले न्यूजिल्यान्डकी महान ब्याटर सुजी बेट्सको सर्वाधिक आठ अर्धशतकसँगको कीर्तिमान बराबर गरेकी हुन् ।
महिला टी २० विश्वकपमा अस्टे«लियाले सर्वाधिक ६ पटक उपाधि जितिसकेको छ । अब, टोली सातौं उपाधितिर अग्रसर रहेको छ । जुलाई ५ मा लड्र्समा हुने फाइनलमा अस्ट्रेलियाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले सुरुआत राम्रो गरे पनि पावरप्लेपछि अस्ट्रेलियाली स्पिनरहरूको कसिलो बलिङसामु टिक्न सकेन।
१२ रनको अन्तरमा चार विकेट गुमाउँदै धराशायी भएपछि क्यारेबियन टोली दबाबमा परेको थियो । खेलअघि अचानक अस्वस्थ भएकी अनुभवी ब्याटर डिएन्ड्रा डोटिनले फेरि खेल्दै अन्तिमतिर १६ बलमा २६ रन बनाइन् । कप्तान हेइली म्याथ्युजले टोलीका लागि सर्वाधिक ३० रन जोडेकी थिइन् ।
अस्ट्रेलियाका अफस्पिनर एश्ली गार्डनरले चार ओभरमा केवल १३ रन खर्चेर दुई विकेट लिइन् । लेगस्पिनर जर्जिया वेयरह्याम र बायाँहाते स्पिनर सोफी मोलिनेक्सले समान दुई–दुई विकेट हात पारेका थिए ।











प्रतिक्रिया