काठमाडौं ।
अमेरिकी चर्चित र्यापर ट्विस्टाले आयकर नतिरेको अभियोगमा अदालतमा दोष स्वीकार गरेका छन्।
अमेरिकी आन्तरिक राजस्व सेवा अन्तर्गतको आपराधिक अनुसन्धान विभागका अनुसार ट्विस्टाले सन् २०१९ देखि २०२३ सम्मको आयकर जानाजानी तिरेका थिएनन् । उनीमाथि चार लाख ४० हजार अमेरिकी डलरभन्दा बढी कर बक्यौता रहेको जनाइएको छ।
गत साता उनले आयकर नतिरेको सम्बन्धी पाँचवटा अभियोगमा दोष स्वीकार गरेका हुन्। उनको सजाय निर्धारणका लागि आगामी अक्टोबर २२ मा अदालतमा सुनुवाइ हुने तय भएको छ। यदि अदालतले अधिकतम सजाय सुनाएमा उनलाई पाँच वर्षसम्म जेल सजाय हुन सक्छ।
सन् २००४ मा सार्वजनिक भएको ‘कामिकाजे’ एल्बमबाट विश्वव्यापी चर्चा कमाएका ट्विस्टाले ये र जेमी फक्ससँग मिलेर ‘स्लो जाम्ज’ जस्ता चर्चित गीतमा पनि सहकार्य गरेका छन्। उनी दुई पटक ग्रामी अवार्डका लागि समेत मनोनयनमा परेका कलाकार हुन्।
अनुसन्धानका अनुसार उनको आम्दानी सांगीतिक कार्यक्रम, एल्बम बिक्री, संगीत स्ट्रिमिङ र रोयल्टीबाट हुने गरेको थियो। आन्तरिक राजस्व सेवा विभागले पटक–पटक कर तिर्न चेतावनी दिँदा पनि ट्विस्टाले भविष्यमा प्राप्त हुने रोयल्टीको अग्रिम रकम तेस्रो पक्ष कम्पनीमार्फत लिने व्यवस्था मिलाएका थिए, जसका कारण कर असुली प्रक्रिया प्रभावित भएको सरकारी आरोप छ।
अनुसन्धानमा सन् २०११ देखि नै उनीमाथि कर बक्यौता रहेको उल्लेख गरिएको छ। साथै उनले आफ्नो जीवनशैली कायम राख्न कम्तीमा चारवटा विलासी सवारीसाधन खरिद गरेको पनि सरकारी पक्षको दाबी छ।
यस विषयमा ट्विस्टाका प्रतिनिधिले भने हालसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।आन्तरिक राजस्व सेवा अन्तर्गतको आपराधिक अनुसन्धान विभागका शिकागो प्रमुख एडम जोब्सले कानुन सबैका लागि समान हुने उल्लेख गर्दै प्रसिद्धि वा सफलताले कर तिर्ने दायित्वबाट कसैलाई छुट नदिने बताएका छन्। उनका अनुसार कर तिर्न जानाजानी अस्वीकार गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याइनेछ।











प्रतिक्रिया