फोन नम्बर लुकाएर ह्वाट्सएप चलाउन मिल्ने, नयाँ ‘युजरनेम’ फिचर आउँदै


काठमाडौं।

लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले प्रयोगकर्ताको गोपनीयता थप मजबुत बनाउन फोन नम्बर सार्वजनिक नगरी युजरनेममार्फत कुराकानी गर्न सकिने नयाँ सुविधा ल्याउने तयारी गरेको छ। कम्पनीका अनुसार प्रयोगकर्ताले अब आफ्नो मनपर्ने युजरनेम पहिले नै रिजर्भ गर्न सक्नेछन्।

आगामी महिनाहरूमा यो सुविधा चरणबद्ध रूपमा विश्वभर उपलब्ध गराइनेछ। नयाँ अपडेट लागू भएपछि अपरिचित व्यक्तिसँग च्याट गर्दा फोन नम्बर साझा गर्नुपर्ने बाध्यता हट्नेछ। विशेषगरी ठूला ग्रुप, व्यवसायिक संवाद र नयाँ सम्पर्कका लागि यो फिचर उपयोगी हुने बताइएको छ। ह्वाट्सएपले सुरक्षालाई थप बलियो बनाउन ‘युजरनेम की’ नामक अतिरिक्त सुरक्षा प्रणाली पनि ल्याउने भएको छ।

यसले युजरनेमसँगै विशेष कोडको प्रयोग गरी अनधिकृत सम्पर्कको जोखिम कम गर्नेछ। प्रयोगकर्ताले अक्षर, संख्या, डट (.) र अन्डरस्कोर (_) प्रयोग गरी अधिकतम ३५ अक्षरसम्मको युजरनेम बनाउन सक्नेछन्। आवश्यकता अनुसार जुनसुकै बेला युजरनेम परिवर्तन वा हटाउन पनि मिल्नेछ। यस्तै, व्यवसाय तथा कन्टेन्ट क्रिएटरहरूले इन्स्टाग्राम र फेसबुकमा प्रयोग गरिरहेको युजरनेमलाई ह्वाट्सएपमा पनि सुरक्षित राख्न सक्ने सुविधा पाउनेछन्। ह्वाट्सएपका अनुसार यो फिचर उपलब्ध भएपछि प्रयोगकर्तालाई एपभित्रै नोटिफिकेसन मार्फत जानकारी दिइनेछ।