काठमाडौं ।
नेपाल समाचारपत्रकी पत्रकार भगवती तिमल्सिनालाई पत्रकारितामार्फत समाज रूपान्तरण, जनस्वास्थ्य तथा समसामयिक विषयमा लामो समयदेखि खोजमूलक र प्रभावकारी कलम चलाएको योगदानको कदर गर्दै लायन्स अन्तर्राष्ट्रिय, डिस्ट्रिक्ट ३२५ जी मल्टिपल डिस्ट्रिक्ट, नेपालले ‘लायन्स वरिष्ठ पत्रकार सम्मान–२०८३’ प्रदान गरेको छ ।

बनेपामा शुक्रबार आयोजित लायन्स वर्ष २०२५–२०२६ को चौथो क्याबिनेट बैठक तथा सम्मान समारोहमा डिस्ट्रिक्ट गभर्नर विधान जोशीका साथ लायनहरुको टीमद्धारा तिमल्सिनालाई खादा, माला तथा सम्मान–पत्र प्रदान गरी सम्मान गर्नुभयो । सोही समारोहमा वरिष्ठ साहित्यकार मोहन दुवाललाई ‘लायन्स वरिष्ठ साहित्यकार सम्मान’ प्रदान गरिएको थियो ।





सम्मान–पत्रमा तिमल्सिनाले पत्रकारितालाई केवल पेशा नभई समाजको आवाजका रूपमा स्थापित गर्दै स्वास्थ्य तथा समसामयिक विषयमा खोजमूलक र जिम्मेवार पत्रकारिता गरेको उल्लेख गरिएको छ । व्यावसायिक, निष्पक्ष र समाजप्रति उत्तरदायी पत्रकारिताको निरन्तरताका लागि शुभकामना व्यक्त गर्दै उहाँलाई उक्त सम्मान प्रदान गरिएको जनाइएको छ ।
त्यस्तै दुवाले नेपालको साहित्य श्रीवृद्धिमा विगत लामो समयदेखि निरन्तर समर्पित रहँदै आउनुभएको छ । मासिक साहित्यलाई स्थापित गर्न ूजनमत साहित्य मासिकबाट देश र विदेशमा साहित्यलाई बनेपामा केन्द्रित बनाउँदै स्थापित गर्दै आउनुभएको छ । युवा तथा नयाँ पुस्ताका लेखकहरूलाई मञ्च दिँदै आउनुभएको छ । साहित्यमा निबन्ध, कविता र समालोचनाका क्षेत्रमा पनि उहाँको सक्रिय योगदान रहेको उल्लेख गरिएकोछ ।
कार्यक्रमका प्रमुख अतिथि तथा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले सामाजिक सेवामा लायन्सको योगदान प्रशंसनीय रहेको बताउँदै आफू पनि लायन्सको चार्टर सदस्य भए पनि राजनीतिक जिम्मेवारीका कारण सक्रिय हुन नसकेको उल्लेख गर्नुभयो ।
आगामी दिनमा पुनः सामाजिक सेवामा सक्रिय रहने प्रतिबद्धता जनाउँदै उहाँले बनेपामा सञ्चालन भइरहेको लायन्स हार्ट क्लिनिकलाई नगरपालिकाले निरन्तर सहयोग गर्ने बताउनुभयो । उहाँले निर्माणाधीन छ लेन सडक सम्पन्न भएपछि काठमाडौं–बनेपा यात्रा थप सहज र छोटो हुने विश्वास पनि व्यक्त गर्नुभयो ।
डिस्ट्रिक्ट गभर्नर विधान जोशीले लायन्स सदस्यहरूलाई समाजसेवामा अग्रपंक्तिमा रहेर निःस्वार्थ सेवा गर्न आग्रह गर्दै अन्तर्राष्ट्रिय समन्वय, नेतृत्व विकास र पारिवारिक सहयोगले मात्रै संस्थाको लक्ष्य हासिल गर्न सकिने बताउनुभयो । उहाँले सभामा उठेका जिज्ञासाको जवाफ दिँदै चालु कार्यकालमा संस्थाले लक्ष्यभन्दा बढी उपलब्धि हासिल गरेको जानकारी दिनुभयो ।
जोशीका अनुसार नयाँ लायन्स क्लब स्थापना गर्ने लक्ष्य २९ रहेकोमा एक वर्षभित्र ३३ वटा नयाँ क्लब स्थापना भएका छन् । आर्थिक पारदर्शिता कायम राख्दै विभिन्न सामाजिक सेवा कार्यक्रम तथा योजनाहरू सामुहिक रूपमा सफलतापूर्वक सम्पन्न गरिएको भन्दै सहभागीहरूले वर्तमान नेतृत्वको प्रशंसा गरेका थिए ।
कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने लायन्स क्लब, पदाधिकारी तथा सदस्यहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो । साथै कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन, क्लबहरूको वार्षिक कार्ययोजना तथा अन्य प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरिएको थियो ।
त्यस्तै लायन्स पिन, अन्तराष्ट्र्यि प्रमाणपत्र, बैदेशिक यात्राको शुभकामना आदान प्रदान गरिएको थियो । लायन्स क्लवको सामाजिक कामका लागि सबैको सहभागीता महत्वपूर्ण हुने र लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ जीले प्रत्येक वर्ष पत्रकारिता, साहित्य, समाजसेवा तथा लायन्स आन्दोलनमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्दै जाने जनाएको छ ।











प्रतिक्रिया