हुलाक टिकटमा पुस्तकालयकर्मी : इतिहासको जगेर्ना र पेसाको राष्ट्रिय सम्मान

470
Shares

कुनै विशेष क्षेत्रमा देशका लागि अभूतपूर्व योगदान दिएका विशिष्ट व्यक्तित्वहरूलाई राष्ट्रले विभिन्न माध्यमबाट सम्मान गर्ने परम्परा रहिआएको छ । यसमध्ये त्यस्ता योगदानी व्यक्तिहरुको तस्वीर अङ्कित हुलाक टिकट प्रकाशनलाई पनि एक ऐतिहासिक र स्मरणीय सम्मानका रूपमा लिइन्छ ।

विशेषतः हुलाक टिकट प्रकाशनले त्यस्ता व्यक्तिको योगदानलाई स्वदेशमा मात्र नभई विश्व समुदायसमक्ष पनि परिचित गराउने महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । नेपालमा साहित्यकार, राजनीतिज्ञ, कलाकार, वैज्ञानिक तथा राष्ट्रिय विभूतिका रूपमा स्थापित व्यक्तित्वहरूको सम्मानमा हुलाक टिकट प्रकाशन हुँदै आएको पाइन्छ । तर शायद पहिलोपटक हुलाक सेवा विभागको ध्यान पेसागतरूपमा अपेक्षाकृत कम प्राथमिकता पाउने पुस्तकालय क्षेत्रतर्फ केन्द्रित भएको छ । यसले ज्ञान, सूचना व्यवस्थापन र पुस्तकालय सेवाप्रति राज्यको सम्मान तथा प्रतिबद्धतालाई नयाँ उचाइ दिएको छ ।

नेपालमा आधुनिक रूपमा पुस्तकादि ज्ञान सामग्रीको व्यवस्थापन तथा पाठकहरूलाई सूचनामा सहज र सरल पहुँच उपलब्ध गराउन आफ्नो जीवन समर्पित गरेका पुस्तकालयकर्मी स्वर्गीय शान्ति मिश्रको अतुलनीय योगदानमा हुलाक विभागको दृष्टि पुग्यो । फलस्वरुप विभागको सिफारिसमा २०८३ असार ०९ गते सूचना तथा सञ्चार मन्त्रालयका सचिवबाट त्रि.वि. केन्द्रीय पुस्तकालय र यसको विकासकर्ता स्व. शान्ति मिश्रको तस्वीर अङ्कित हुलाक टिकटमा प्रथम दिवसीय आवरणमा टाँचा लगाउने कार्य भयो । यस टाँचा लगाउने काम सामान्य देखिए तापनि यसले पुस्तकादि ज्ञान सामग्री, पाठक सेवा र पुस्तकालय पेसामा समर्पित सम्पूर्ण व्यक्तित्वहरूलाई उच्च राष्ट्रिय सम्मानको गौरवपूर्ण उपलब्धि महसुस गराएको छ ।

यो सम्मान केवल स्व. शान्ति मिश्रको व्यक्तिगत योगदानको कदरमा मात्र सीमित नरहेर ज्ञान र सूचना व्यवस्थापन तथा पुस्तकालय सेवाप्रति राज्यको सम्मान र प्रतिबद्धताको सशक्त प्रतिक पनि हो । यस पुनित कार्यले त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको विकास, आधुनिकीकरण तथा नेपालको समग्र पुस्तकालय क्षेत्रलाई नै अन्तर्राष्ट्रिय स्तरसँग जोड्ने अभियानमा उहाँले निर्वाह गरेको ऐतिहासिक भूमिकालाई स्थायी रूपमा अभिलेखीकरण गरेको छ । यसका साथै यस कार्यले यहाँका नयाँ पुस्तालाई पुस्तकालय पेसाको गर्विलो इतिहाससँग परिचित गराउँदै यस पेसामा समर्पित व्यक्तिहरूप्रति सम्मान र प्रेरणाको भावना विकास गर्ने अवसर प्रदान गरेको छ ।

स्वर्गीय शान्ति मिश्रको जन्म वि.संं. १९९५ असार ७ गते काठमाडौंको झोँछेमा पिता जानकीलाल श्रेष्ठ र माता कृष्णदेवी श्रेष्ठको कोखबाट भएको थियो । उहाँले प्रारम्भिक शिक्षा काठमाडौंस्थित कन्या मन्दिर हाइस्कुलबाट प्राप्त गरी त्यही विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गर्नुभएको थियो । उहाँले भारतको कलकत्ता विश्वविद्यालयबाट इतिहास विषयमा स्नातकोत्तर उपाधि हासिल गरी सन् १९६२ मा त्रिभुवन विश्वविद्यालयमा प्रवेश गरी पूर्णकालीन अध्यापन गर्ने पहिलो महिला प्राध्यापकका रूपमा आफ्नो पहिचान स्थापित गर्नुभयो ।

यद्यपि सोही वर्ष उहाँलाई संयुक्त राज्य अमेरिकाको दक्षिण–पूर्वस्थित टेनेसी राज्यको जर्ज पिबडी लाइब्रेरी स्कुलमा पुस्तकालय तथा सूचना विज्ञानमा उच्च शिक्षा प्राप्त गर्ने अवसर प्राप्त भयो । अमेरिकाबाट पुस्तकालय विज्ञान विषयमा अध्ययन सम्पन्न गरी स्वदेश फर्किएपछि वि.सं. २०२० मा उहाँ त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको पहिलो प्रमुख पुस्तकालयाध्यक्षका रूपमा नियुक्त हुनुभयो ।

उहाँको नेतृत्वसँगै त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयले आधुनिक व्यवस्थापन प्रणाली लागू गर्ने क्रममा वर्गीकरण, सूचीकरण, सन्दर्भ सेवा तथा पाठक सेवामा आमूल परिवर्तनका साथ पुस्तकालयको समग्र व्यवस्थापनमा समर्पित रहेको पाइन्छ । यसका अतिरिक्त आधुनिक पुस्तकालय प्रणालीको विकास, अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा विस्तार तथा पुस्तकालयकर्मीहरूको पेसागत विकासमार्फत उहाँले त्रि.वि. केन्द्रीय पुस्तकालयलाई नेपालको अग्रणी र बृहत् पुस्तकालयका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पु¥याउनुभयो ।

करिब २८ वर्षसम्म त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा सेवा गर्दै उहाँले पुस्तकालयलाई अन्तर्राष्ट्रिय मान्यताअनुसार आधुनिक रूपमा पुस्तकालय सञ्चालन गर्ने आधार तयार गर्ने क्रममा ड्युयी डेसिमल वर्गीकरण प्रणाली तथा एङ्ग्लो–अमेरिकन क्याटलगिङ नियमको प्रयोगलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउनुभयो । यसले पुस्तकालय व्यवस्थापनलाई सरल, व्यवस्थित, वैज्ञानिक र अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल बनाउन महत्वपूर्ण योगदान पु¥याउन सफल भयो । त्यसैले उहाँकै कार्यकालमा सन् १९६० मा बीबीसीले त्रिवि केन्द्रीय पुस्तकालयलाई दक्षिण–पूर्वी एसियाकै अद्वितीय पुस्तकालयहरूमध्ये एक भनेर रिपोर्टिङ गरेको थियो ।

स्व. शान्ति मिश्रको अर्को अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको महत्वपूर्ण उपलब्धि त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयलाई संयुक्त राष्ट्रसंघको डिपोजिटरी पुस्तकालयका रूपमा विकास गर्नु पनि हो । यस क्रममा उहाँले सन् १९६४ देखि संयुक्त राष्ट्रसंघका प्रकाशन तथा दस्तावेजहरू उपलब्ध हुने व्यवस्था मिलाएर अनुसन्धानकर्ता, शिक्षक तथा विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय ज्ञानस्रोतमा पहुँच दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । यसले नेपालको उच्च शिक्षामा अनुसन्धान संस्कृति विकास गर्न तथा विश्वव्यापी सूचना स्रोतसँग शैक्षिक समुदायलाई जोड्न महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।

अन्तर्राष्ट्रिय स्तरमा पनि श्रीमती शान्ति मिश्रले नेपालको पुस्तकालय क्षेत्रलाई परिचित गराउने क्रममा सन् १९८८ मा अस्ट्रेलियामा आयोजित अन्तर्राष्ट्रिय पुस्तकालय महासंघ (आईएफ्एलए) को महासम्मेलनमा सहभागी भई उहाँले त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयलाई आईएफ्एलएको सदस्यता दिलाउन सफल हुनुभयो । यससँगै नेपाल पहिलोपटक विश्व पुस्तकालय समुदायसँग औपचारिक रूपमा जोडिन सफल भयो । यस उपलब्धिले नेपालका पुस्तकालय र पुस्तकालय पेसाकर्मीहरूलाई अन्तर्राष्ट्रिय सञ्जालसँग जोड्दै व्यावसायिक विकासका नयाँ सम्भावनाहरूका लागि ढोका खोल्यो ।

स्व. शान्ति मिश्र केवल पुस्तकालय प्रशासक मात्र नभई एक सक्षम लेखक, अनुवादक तथा बौद्धिकताको क्षेत्रमा पनि उहाँको योगदान उत्तिकै उल्लेखनीय रहेको छ । उहाँद्वारा लिखित तथा सम्पादित पुस्तकहरूमध्ये ‘भ्वाइस अफ् ट्रथः द च्यालेन्जेज एन्ड स्ट्रगल अफ् अ नेप्लिज वमन’ एक विशेष चर्चित कृति हो । त्यसै गरी उहाँका श्रीमान् नारायण मिश्रसँग सहलेखकको रूपमा लिखित पुस्तक ‘पुस्तकालय विज्ञानको रूपरेखा’ नेपाली पुस्तकालय क्षेत्रको एक महत्वपूर्ण पेसागत पुस्तकका रूपमा स्थापित छ ।

उहाँको नारायण मिश्रसँगै ‘त्रि.वि. केन्द्रीय पुस्तकालयको गौरवशाली कहानी र हाम्रो सेवा’ नामक पुस्तकले नेपालको पुस्तकालय विकास यात्रालाई प्रामाणिक रूपमा अभिलेखीकरण गरेको छ । यसबाहेक प्रसिद्ध साहित्यकार रुद्रराज पाण्डेको नेपाली सामाजिक उपन्यास ‘रूपमती’लाई अंग्रेजीमा ‘अ विन्डोज गिफ्ट’ शीर्षकमा अनुवाद गरी नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय पाठकमाझ पु¥याउने महत्वपूर्ण कार्य पनि गर्नुभएको थियो ।

पुस्तक लेखनका अतिरिक्त उहाँले पुस्तकालय विज्ञान, महिला सशक्तीकरण, शिक्षा तथा सामाजिक विकाससम्बन्धी अनेकौँ लेख, अनुसन्धानात्मक रचनाहरू तथा विचारमूलक सामग्री प्रकाशित गर्नुभएको छ । नेपाली महिला अधिकार र सामाजिक चेतनासँग सम्बन्धित विषयमा उहाँको सक्रियता विशेष उल्लेखनीय रहेको छ । अन्तर्राष्ट्रिय नारी वर्ष १९७५ का अवसरमा गठित अन्तर्राष्ट्रिय नारी वर्ष समिति, नेपालको महासभामा उहाँले सदस्य–सचिवका रूपमा आफ्नो सामाजिक दायित्व कुशलतापूर्वक पूरा गर्नुभएको पाइन्छ ।

यसै गरी सन् १९७७ मा संयुक्त राष्ट्रसंघको साधारणसभामा नेपाली प्रतिनिधिमण्डलको सदस्यका रूपमा सहभागिता जनाउनु, सन् १९८५ मा भुटानमा आधुनिक पुस्तकालय निर्माणका लागि युनेस्कोको सल्लाहकार रहनु तथा अन्तर्राष्ट्रिय लेखकहरूको संस्था ‘इन्टरनेसनल पेन–नेपाल’ को संस्थापक अध्यक्षसमेत हुनु उहाँको अन्तर्राष्ट्रिय प्रतिष्ठाको महत्वपूर्ण उदाहरण हुन् । मार्टिन चौतारीलगायतका विभिन्न बौद्धिक तथा सामाजिक संस्थामा उहाँको सक्रिय संलग्नताले शिक्षा, ज्ञान र सामाजिक विकासप्रतिको उहाँको प्रतिबद्धतालाई अझ स्पष्ट बनाउँछ ।

उहाँको योगदानको सम्मानस्वरूप उहाँलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान प्रदान गरिएको छ । वि.सं. २०२८ मा गोरखा दक्षिणबाहु चौथो श्रेणी, सन् १९८५ मा ‘इन्टरनेसनल लाइब्रेरी मोभमेन्ट अवार्ड’ अन्तर्गत ‘सूर्य’ नामक पदकबाट उहाँ विभूषित हुनुभएको छ । त्यसै गरी नारी साहित्य प्रतिष्ठान सम्मानपत्र (२०५०), पाँचौँ पुस्तकालय दिवस प्रशंसापत्र (२०६०) तथा विश्व नारी नेपाल साहित्य सम्मान (२०७१) लगायतका सम्मानहरूले उहाँको बहुआयामिक योगदानलाई थप उजागर गरेका छन् ।

वि.सं. २०४९ भदौ १ गतेदेखि त्रिभुवन विश्वविद्यालय सेवाबाट स्वेच्छिक अवकाश लिनुभएपछि पनि उहाँको बौद्धिक, साहित्यिक तथा सामाजिक योगदान निरन्तर कायम रह्यो । त्रिभुवन विश्वविद्यालयमा पुस्तकालय तथा सूचना विज्ञान विषयको स्नातकोत्तर तहमा उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्र्थीलाई ‘शान्ति–नारायण मिश्र पुरस्कार’ प्रदान गर्ने व्यवस्था गर्नुभएको छ । यस पुरस्कारले पुस्तकालय तथा सूचना विज्ञान विषय अध्ययनरत विद्यार्र्थीलाई उत्कृष्टता हासिल गर्न प्रेरित गर्दै आएको छ । उहाँले पुस्तकालय क्षेत्रमा पु¥याउनुभएको योगदानमा आधारित भई चन्द्रिका पण्डितद्वारा त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहमा शोधकार्यसमेत गरिएको छ ।

नेपालमा आधुनिक पुस्तकालय सेवाको आधारशिला निर्माण, पुस्तकालय व्यवस्थापन र पुस्तकालय सेवाको पेसालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापना तथा महिला नेतृत्वको प्रेरणादायी उदाहरण प्रस्तुत गर्ने व्यक्तित्वका रूपमा स्वर्गीय शान्ति मिश्रको योगदान सधैँ सम्मानका साथ स्मरण गरिनेछ । स्व. शान्ति मिश्रको योगदानको कदरस्वरूप नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत हुलाक सेवा विभागले ४५ गुणन ३५ मिलिमिटर आकारको ६ रङ्गयुक्त ४ लाख ७५ हजार प्रति हुलाक टिकट प्रकाशन गरेको छ । यो केवल एक स्मारक हुलाक टिकट मात्र नभएर नेपालको पुस्तकालय इतिहास, ज्ञान संस्कृतिको विकास र पुस्तकालय पेसाप्रतिको राष्ट्रिय सम्मानको स्थायी अभिलेख पनि हो ।

विश्वव्यापी हुलाक सञ्जाल तथा विश्व हुलाक संघको माध्यमबाट यो हुलाक टिकटले नेपालको आधुनिक पुस्तकालय अभियान र शान्ति मिश्रको योगदानलाई अन्तर्राष्ट्रिय समुदायसम्म परिचित गराउने सांस्कृतिक तथा बौद्धिक दूतको भूमिका निर्वाह गर्नेछ । साथै यसले त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयलाई नेपालको पहिलो आधुनिक पुस्तकालयका रूपमा इतिहासमा अझ स्पष्टरूपमा अभिलेखित गर्नेछ ।

हरेक व्यक्तिको जीवनकालका उपलब्धिहरू समयसँगै स्मृतिमा सीमित र विलय हुन सक्छन् तर हुलाक टिकटमा अङ्कित सम्मानले त्यस व्यक्तिको योगदानलाई राष्ट्रिय इतिहाससँग स्थायी रूपमा जोडिदिन्छ । यस अर्थमा स्व. शान्ति मिश्रको कर्म, समर्पण, त्याग र दूरदर्शी नेतृत्वलाई यस हुलाक टिकट प्रकाशनले अमरत्व प्रदान गरेको छ । ज्ञान, अनुसन्धान र सूचना सेवाको विकासमा समर्पित व्यक्तित्वप्रति राज्यले व्यक्त गरेको यो सम्मानले पुस्तकालय र पुस्तकालय पेसाको प्रतिष्ठा अभिवृद्धि गर्नुका साथै भावी पुस्तालाई अध्ययन, अनुसन्धान, ज्ञान व्यवस्थापन र सार्वजनिक सेवाप्रति समर्पित हुन उत्प्रेरणा प्रदान गर्ने विश्वास गर्न सकिन्छ ।