भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प

मृतकको संख्या १६४ पुग्यो, भग्नावशेषमा जीवितको खोजी जारी


काराकास, (एजेन्सी) ।

दक्षिण अमेरिकी राष्ट्र भेनेजुएला यतिबेला एक शताब्दीभन्दा बढी अवधिपछिको सबैभन्दा ठूलो प्राकृतिक विपत्तिसँग जुधिरहेको छ । बुधवार साँझ ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प लगातार आएपछि मृत्यु हुनेको संख्या कम्तीमा १६४ पुगेको छ भने ९७१ भन्दा बढी व्यक्ति घाइते भएका छन् । उद्धारकर्मीहरू भत्किएका भवनका भग्नावशेषमा पुरिएकाहरूको खोजीमा रातदिन खटिएका छन् । अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन् ।

कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजका अनुसार राजधानी काराकास, ला ग्वाइरा, काराबोबो, अरागुआ र मिरान्डा प्रदेशमा व्यापक क्षति पुगेको छ । विशेषगरी ला ग्वाइरा क्षेत्रमा सयौँ भवन पूर्णरूपमा ध्वस्त भएका छन् भने हजारौँ परिवार विस्थापित भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको विवरणअनुसार भूकम्पका कारण हजारौँ मानिस अझै सम्पर्कविहीन छन् ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार दुवै भूकम्प ३९ सेकेन्डको अन्तरमा आएका थिए । भूकम्पको केन्द्रबिन्दु काराकासबाट करिब १६० किलोमिटर पश्चिमतर्फ मोरोन क्षेत्र आसपास रहेको थियो । विज्ञहरूले यसलाई सन् १९०० यताकै सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक बताएका छन् ।

काराकासका विभिन्न क्षेत्रमा उद्धार टोलीहरूले भारी उपकरण, खोजी कुकुर तथा अत्याधुनिक स्क्यानिङ उपकरण प्रयोग गरेर जीवित व्यक्तिको खोजी गरिरहेका छन् । सामाजिक सञ्जाल र स्थानीय टेलिभिजनमा प्रसारित दृश्यहरूमा उद्धारकर्मीहरू भत्किएका बहुउद्देश्यसीय भवनका अवशेष हटाउँदै मानिसहरूलाई निकाल्ने प्रयास गरिरहेको देखिन्छ ।

धेरै परिवारजन अस्पताल, राहत शिविर र दुर्घटनास्थलमा आफ्ना आफन्तको खोजीमा भौतारिरहेका छन् । कतिपय स्थानमा भग्नावशेषबाट अझै मानिसको आवाज सुनिएको बताइएपछि उद्धार कार्यलाई थप तीव्र बनाइएको छ ।
भूकम्पपछि राजधानी काराकासको जनजीवन पूर्णरूपमा प्रभावित भएको छ । विद्युत् आपूर्ति अवरुद्ध भएको छ भने दूरसञ्चार सेवा पटक–पटक अवरुद्ध भइरहेको छ । मुख्य अन्तर्राष्ट्रिय विमानस्थल सिमोन बोलिभार एयरपोर्टमा संरचनागत क्षति पुगेपछि उडानहरू स्थगित गरिएका छन् ।

त्यस्तै, मेट्रो सेवा, रेल सेवा तथा ग्यास आपूर्ति अस्थायी रूपमा बन्द गरिएको छ । विद्यालयहरू बन्द गरिएका छन् भने सार्वजनिक भवनहरूलाई अस्थायी राहत शिविरमा परिणत गरिएको छ ।
भूकम्पपछि हालसम्म २० भन्दा बढी पराकम्प रेकर्ड गरिएको छ । निरन्तर पराकम्प आइरहेकाले लाखौँ नागरिक खुला स्थान, पार्क तथा अस्थायी टेन्टमा रात बिताउन बाध्य भएका छन् ।

अधिकारीहरूले क्षतिग्रस्त भवनमा प्रवेश नगर्न र सतर्क रहन आग्रह गरेका छन् । कतिपय स्थानमा पहिरो र थप संरचनागत क्षतिको जोखिम कायमै रहेको जनाइएको छ ।

विपत्तिपछि विभिन्न देश तथा अन्तर्राष्ट्रिय संस्थाहरूले भेनेजुएलालाई सहयोगको प्रस्ताव गरेका छन् । अमेरिका, मेक्सिको,इक्वेडर,एल साल्भाडोर,कतार तथा युरोपेली मुलुकहरूले उद्धार टोली, चिकित्सा सामग्री र राहत सहायता पठाउने प्रतिबद्धता जनाएका छन् ।

संयुक्त राष्ट्रसंघले पनि राहत तथा पुनःस्थापनामा सहयोग गर्ने जनाएको छ । विभिन्न अन्तर्राष्ट्रिय खोज तथा उद्धार टोलीहरू प्रभावित क्षेत्रमा पुग्न थालेका छन् ।

युएसजीएसले प्रारम्भिक क्षति मूल्यांकनका आधारमा मानवीय क्षति निकै ठूलो हुन सक्ने चेतावनी दिएको छ । केही प्रारम्भिक मोडलिङले अन्तिम मृतक संख्या हजारौँ पुग्न सक्ने सम्भावना औँल्याएका छन् । यद्यपि अधिकारीहरूले हाल पुष्टि भएका तथ्यांक मात्र सार्वजनिक गरिरहेका छन् ।

भूकम्पले अस्पताल, विद्यालय, सरकारी कार्यालय, आवासीय भवन र व्यापारिक संरचनामा व्यापक क्षति पु¥याएको छ । पुनर्निर्माणका लागि सरकारले विशेष आपतकालीन कोष स्थापना गर्ने घोषणा गरेको छ ।

भेनेजुएलाको इतिहासमै दुर्लभ मानिएको यस दोहोरो भूकम्पले देशलाई गम्भीर मानवीय संकटतर्फ धकेलेको छ । उद्धार कार्य जारी रहेकाले मृतक तथा घाइतेको संख्या अझै बढ्ने सम्भावना रहेको अधिकारीहरूले बताएका छन् । अहिले सम्पूर्ण राष्ट्रको ध्यान भग्नावशेषमा पुरिएका मानिसहरूलाई सुरक्षित उद्धार गर्ने र प्रभावित समुदायलाई राहत पु¥याउने दिशामा केन्द्रित छ ।