आज शुक्रवार रिलिज हुने फिल्म जाँडको राजधानीमा आयोजित एक समारोहबीच ट्रेलर सार्वजनिक गरिएको छ।
ट्रेलरले मद्यपानको दुष्प्रभाव, पारिवारिक विखण्डन र समाजमा विद्यमान लैंगिक विभेदलाई मुख्य विषयवस्तुका रूपमा उठाएको छ।
निर्देशक राजु शाहको निर्देशनमा बनेको फिल्मको ट्रेलरमा मद्यपानका कारण परिवारमा उत्पन्न हुने तनाव, कलह र त्यसले समाजमा पार्ने नकारात्मक प्रभावलाई यथार्थपरक ढंगले प्रस्तुत गरिएको छ। ट्रेलरले मदिरा सेवन गर्ने व्यक्तिको व्यवहारले परिवारमा सिर्जना गर्ने समस्या, पत्नी र छोरीमाथि पर्ने असर तथा समाजले त्यस्ता व्यक्तिलाई हेर्ने दृष्टिकोणलाई चित्रण गरेको छ।
फिल्मले मद्यपानको लतले पारिवारिक सम्बन्धमा ल्याउने दरारसगै वंश धान्न छोरा नै चाहिन्छ भन्ने परम्परागत सोचमाथि प्रश्न उठाएको छ। छोराप्रतिको मोह र छोरीप्रति गरिने विभेदका कारण परिवार र समाजमा देखिने समस्यालाई कथाको केन्द्रमा राखिएको निर्माण पक्षले जनाएको छ।
सुकुलढोका मिडिया प्रालिको ब्यानरमा राजेन्द्र भट्टको निर्माणमा बनेको फिल्ममा सानबी खतिवडा, पदम गुरुङ, कमला दाहाल, रमेश उप्रेती, मञ्जु श्रेष्ठ, सुवास गजुरेल, रमेश अधिकारी, लक्ष्मी तिमिल्सेना, स्मारिका खनाल, किरणप्रताप केसीलगायतका कलाकारले अभिनय गरेका छन्।
फिल्मको लेखन सुनिलप्रसाद श्रेष्ठ, राजु शाह र राजेन्द्र भट्टले संयुक्त रूपमा गरेका छन् भने गीत श्रीपुरुष ढकाल, संगीत र स्वर रोशन बालुवा, द्वन्द्व निर्देशन योगेन्द्र श्रेष्ठ तथा छायाँकन र सम्पादन दीपेन बस्न्यातको रहेको छ।











प्रतिक्रिया