काठमाडौं।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको बिहीबार फिफाको वेबसाइटमार्फत् सार्वजनिक गरिएको छ । नेपाली फुटबलमा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले एन्फालाई अनिश्चितकालीन निलम्बन गरेको हो ।
फिफा विधानको धारा १४ को उपधारा १ (आई) र ३ अनुसार तेस्रो पक्षको हस्तक्षेपत्रसँग सम्बन्धित विधानको गम्भीर उल्लघंन भएको ठहर गरिने उल्लेख छ । सोही अनुसार फिफाले एन्फालाई तत्काल लागू हुने गरी निलम्बन गर्ने निर्णय फिफाको द ब्यूरो अफ द काउन्सिलले गरेको हो ।
योसँगैं फिफाको मान्यता पाएको ५४ वर्षमा पहिलो पटक नेपाली फुटबल निलम्बनमा परेको छ । यो निलम्बनसँगै नेपालले पाउँदै आएको अनुदान फिफाले रोक्ने पनि जनायो । साथै पदाधिकारीदेखि नेपालले खेल्ने अन्तर्राष्ट्रिय फुटबल तथा युथ फुटबल नेपालले खेल्न पाउने छैन ।
पंकजविक्रम नेम्वाङ नेतृत्वको चार वर्षे कार्यकाल गत ५ असारबाट सम्पन्न भइसकेको छ । तर, नेम्वाङले पाँच महिनाअघि नै अर्ली इलेक्सन गर्न खोजेपछि नेपाली फुटबलमा विवाद उत्पन्न भएको थियो ।
नेम्वाङ ३० बढी सदस्य संस्थाहरुको चार वर्षे कार्यकाल सकिसकेको अवस्थामा अध्यावधिक निर्वाचन नगरी केन्द्रिय निर्वाचन सम्पन्न गर्ने तयारीमा थिए । त्यसपछि एन्फाकै केही सदस्यको उजुरीको आधारमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एन्फामाथि निगरानी राखेको थियो ।
राखेपले दिएको चेतावनीलाई पनि पटकपटक अटेर गरेपछि गत चैत ११ गते एन्फालाई तीन महिनाको लागि निलम्बन गरिएको निर्णय सार्वजनिक भएको थियो । तर, दुई महिना नै पूरा नभइ राखेपले निलम्बन पनि फुकुवा ग¥यो । तर, एन्फाका पदाधिकारीहरूलाई अध्यागमन विभागले कालो सूचीबाट भने हटाएको थिएन ।
यसले गर्दा एन्फाबाट फिफा विश्वकपमा सहभागिता जनाउन कोही पनि पदाधिकारी जान पाएनन् । एन्फाका अध्यक्ष पंकज नेम्वाङ र महासचिव किरण राई जबर्जस्ती विश्वकपको सहआयोजक राष्ट्र मेक्सिको जान त्रिभुवन विमानस्थलमा पुगेका थिए । त्यहाँबाट उनीहरूलाई फर्काइएको थियो । उनीहरू विश्वकपको उद्घाटनमा सहभागि हुने मनसायका साथ विमानस्थलमा गएका थिए ।
नेम्वाङ र राईलाई विमानस्थलबाट फर्काउनु विषयमाथि फिफा गम्भीरका साथ छलफलमा लागेको थियो । फिफाले यही आधारलाई लिएर नेपाली फुटबलमा तेस्रो पक्षको सीधै हस्तक्षेप भएको फिफाको भनाइ रहेको छ । यसैलाई कारण देखाई नेपाली फुटबलमा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले एन्फालाई निलम्बन गरेको जनायो ।
एन्फा निलम्बनपछि हुने असरहरू
–नेपालको राष्ट्रिय पुरुष, महिला वा उमेर समूहका टोलीले फिफा वा एएफसी (एसियाली फुटबल महासंघ) अन्तर्गत्का कुनै पनि प्रतियोगिताहरू खेल्न पाउने छैनन् ।
–क्लबहरूले एएफसी च्याम्पियन्स लिगलगायतका प्रतियोगिता खेल्न पाउने छैनन् ।
–रेफ्री, प्रशिक्षकहरूको अधिकार पनि रोकिने सक्नेछ ।
–फिफाबाट आउने आर्थिक सहयाग पनि रोकिने छ ।











प्रतिक्रिया