चितवन .
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यमा लोकप्रिय मतसहित निर्वाचित भएका सांसद सागर ढकालले पार्टीको आगामी पदाधिकारी निर्वाचनमा महामन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।
बिहीबार सार्वजनिक केन्द्रीय सदस्यको मतपरिणाममा चौथो सर्वाधिक मत प्राप्त गरेलगत्तै ढकालले सामाजिक सञ्जालमार्फत महामन्त्री पदमा उम्मेदवारी दिने निर्णय सार्वजनिक गरेका हुन् ।
ढकालले मतदान प्रक्रियाका क्रममा मतपत्रमा उम्मेदवारको नाम खोज्न चुनौतीपूर्ण अवस्था रहे पनि आफूलाई पहिलो चारभित्र पारेर विजयी गराएकोमा प्रतिनिधि तथा मतदाताप्रति आभार व्यक्त गरेका छन् । उनले आफ्नो विजयलाई व्यक्तिगतभन्दा पनि समर्थक, शुभेच्छुक तथा परिवर्तनको पक्षमा उभिने सबैको साझा जितका रूपमा व्याख्या गरेका छन् ।
निर्वाचन परिणामपछि प्रतिक्रिया दिँदै उनले अब पार्टीभित्र केवल सल्लाहकारको भूमिकामा सीमित नरही नेतृत्वदायी जिम्मेवारी वहन गर्ने बताएका छन् । देश र संगठनलाई सही दिशामा अघि बढाउन आफूले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
महाधिवेशनका क्रममा समय व्यवस्थापनको विषयले विशेष महत्व पाएको उल्लेख गर्दै ढकालले आगामी दिनमा समयको कडा पालना गर्ने र गराउने प्रतिवद्धता समेत जनाएका छन् । संगठनलाई थप व्यवस्थित, अनुशासित र प्रभावकारी बनाउन समयपालना अपरिहार्य रहेको उनको भनाइ छ ।
आफ्नो राजनीतिक यात्राको अर्को चरणबारे स्पष्ट पार्दै ढकालले महामन्त्री पदमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिएका छन् । उनले यस अभियानमा पनि कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूको निरन्तर साथ, सहयोग र सद्भावको अपेक्षा गरेका छन् ।
ढकाल गुल्मीबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भइसकेको छ भने अब पदाधिकारी चयन प्रक्रिया अघि बढ्ने तयारी गरिएको छ ।











प्रतिक्रिया