काठमाडौँ।
फिफा विश्वकप–२०२६ को समूह ‘एल’ अन्तर्गत इङल्यान्ड र घानाबीचको खेलअघि एउटा अनौठो घटनाले विश्व फुटबलको ध्यान खिच्यो । घानाका चर्चित झाँक्री नाना क्वाकु बोन्सामले इङल्यान्डका कप्तान ह्यारी केनमाथि ‘कालाजादु’ गरेको दाबी गरे । उनले आफूले विशेष आध्यात्मिक शक्ति प्रयोग गरेर केनलाई गोल गर्न नदिने बताएका थिए ।
घानाली भाषामा उनको नामको अर्थ नै बुधबारको शैतान हुन्छ । खेल अघि उनले विभिन्न सञ्चारमाध्यमसँग कुरा गर्दै भनेका थिए कि आफूले ह्यारी केनको प्रदर्शन रोक्न विशेष अनुष्ठान गरिरहेको छु । उनले सन् २०१४ को विश्वकपमा पोर्चुगलका स्टार खेलाडी क्रिटियानो रोनाल्डो आफ्नो भूमिका रहेको दाबी गरेका थिए ।
विश्वकपको खेलमा इङ्ल्यान्ड र घाना ०–० को बराबरीमा रोकिए । खेलको अन्तिम समयमा ह्यारी केनले पाएको उत्कृष्ट अवसर गुमाएपछि सामाजिक सञ्जालमा झाँक्रीको जादु काम ग¥यो कि क्या हो ? भन्ने टिप्पणीहरू व्यापक रूपमा फैलिन थाले ।
खेल सकिएको भोलिपल्ट बोन्सामले अर्को भिडियो सन्देश जारी गर्दै आफूले ह्यारी केनमाथिको श्राप हटाइदिएको दाबी गरे । उनले ह्यारी मेरो साथी हो, अब उसले अर्को खेलमा गोल गर्न सक्छ भनेका थिए ।
भारतीय पत्रिका द इण्डियन एक्सप्रेसले प्रकाशित गरेको समाचारमा विश्वकपमा ह्यारी नेकलाई श्राप दिने घानाका झांक्री शीर्षकको रिपोर्टमा बोन्सामको पृष्ठभूमि पनि उल्लेख गरिएको छ । रिपोर्ट अनुसार उनी केवल गाउँघरका झाँक्री मात्र होइनन् । उनी एक समय राजनीतिमा समेत सक्रिय थिए, अमेरिकाको न्यूयोर्कमा बसोबास गरेका थिए र घानामा उनका आफ्नै धार्मिक स्थल तथा विद्यालयहरू पनि छन् ।
अफ्रिकी फुटबलमा जुजु , भुडु वा आध्यात्मिक शक्तिको प्रयोगबारे विश्वास नयाँ विषय होइन । कतिपय समर्थक र खेलाडीहरूले यस्ता अभ्यासलाई परम्परागत संस्कृतिको हिस्सा मान्छन् भने धेरैले यसलाई अन्धविश्वासका रूपमा हेर्छन् । अफ्रिकी फुटबल महासंघले विगतमा यस्ता गतिविधिलाई मैदानभित्र रोक्नुपर्ने धारणा सार्वजनिक गरिसकेको छ ।
सामाजिक सञ्जालमा अधिकांश समर्थकहरूले यो घटनालाई हास्य र मनोरञ्जनको रूपमा लिएका छन् । कतिपयले यदि जादु साँच्चै काम गर्थ्यो भने घानाले धेरैअघि विश्वकप जितिसक्थ्यो भन्दै ठट्टा गरेका छन् भने केहीले इङ्गल्यान्डको कमजोर प्रदर्शनलाई मजाकमा ‘श्रापको असर’ भनेका छन् ।
यद्यपि, वैज्ञानिक रूपमा कालाजादु वा बोक्सीविद्याले खेलको नतिजा परिवर्तन गर्न सक्छ भन्ने कुनै प्रमाण छैन । खेल विश्लेषकहरूका अनुसार ह्यारी केनको अवसर गुम्नु खेलको सामान्य उतारचढाव र दबाबको परिणाम हो । तर विश्वकपजस्तो ठूलो प्रतियोगितामा यस्ता रहस्यमय दाबीहरूले भने फुटबलबाहिरको बहसलाई पनि रोचक बनाइदिन्छन् ।











प्रतिक्रिया