असाधारण छ, अर्थतन्त्रमा पर्यटनको योगदान

282
Shares

पछिल्लो समयमा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या ठीकठीकै रहेको देखिए तापनि पर्यटनबाट हुने कमाइ अपेक्षा अनुरुप नभएको देखिन्छ । यसले गर्दा विगतको समयमा जस्तो नेपाली अर्थतन्त्रमा पर्यटनको योगदान कम हुँदै गएको हो कि ! भन्ने देखिन्छ । हुन पनि

नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या पछिल्लो समयमा ठीकठीकै रहेको छ तर उनीहरु नेपालमा रहँदा गर्ने गरेको प्रतिदिन, प्रतिव्यक्ति खर्च खर्च न्यून देखिएको छ । लामो समय भइसक्दा पनि एकजना विदेशी पर्यटक बराबर दैनिक ५० अमेरिकी डलर खर्च नाघ्न सकेको छैन ।

तर सन् २०२० मा चाहिँ नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले नेपालमा रहँदा एकजनाले एक दिनमा गरेको खर्च ६५ अमेरिकी डलर पुगेको थियो । तर त्यसअघि र पछिचाहिँ नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले यहाँ बस्दा गर्ने गरेको प्रतिदिन, प्रतिव्यक्ति खर्च ४०.०५ अमेरिकी डलरदेखि ४८ अमेरिकी डलर मात्रै रहेको छ ।

विगतका दिनमा नेपालमा पर्यटनबाट जीडीपीमा योगदान कति रहेको थियो त ? आर्थिक वर्ष २०५९÷०६० देखि २०७०÷०७१ सम्म नेपालको जीडीपीमा पर्यटनको योगदानबारे उल्लेख तल गरिएको छ ः
१) आ.व. २०५९÷०६० मा पर्यटनबाट ११७४.८ करोड नेपाली रुपियाँ बराबरको विदेशी मुद्रा आम्दानी । जीडीपीमा योगदान २.४ प्रतिशत ।
२) आ.व. २०६०÷०६१ मा १८१४.७ करोड नेपाली रुपियाँ बराबरको विदेशी मुद्रा आम्दानी । जीडीपीमा योगदान ३.४ प्रतिशत ।
३) आ.व. २०६१÷०६२ मा १०४६.४ करोड नेपाली रुपियाँ बराबरको विदेशी मुद्रा आम्दानी । जीडीपीमा योगदान १.८ प्रतिशत ।
४) आ.व. २०६२÷०६३ मा ९५५.६ करोड नेपाली रुपियाँ बराबरको विदेशी मुद्रा आम्दानी । जीडीपीमा योगदान १.५ प्रतिशत ।

५) आ.व. २०६३÷०६४ मा १०१२.५ करोड नेपाली रुपियाँ बराबरको विदेशी मुद्रा आम्दानी । जीडीपीमा योगदान १.४ प्रतिशत ।
६) आ.व. २०६४÷०६५ मा १८६५.३ करोड नेपाली रुपियाँ बराबरको विदेशी मुद्रा आम्दानी । जीडीपीमा योगदान २.३ प्रतिशत ।
७) आ.व. २०६५÷०६६ मा २७९६.० करोड नेपाली रुपियाँ बराबरको विदेशी मुद्रा आम्दानी । जीडीपीमा योगदान २.८ प्रतिशत ।

८) आ.व. २०६६÷०६७ मा २८१३.९ करोड नेपाली रुपियाँ बराबरको विदेशी मुद्रा आम्दानी । जीडीपीमा योगदान २.४ प्रतिशत ।
९) आ.व. २०६७÷०६८ मा २४६१.१ करोड नेपाली रुपियाँ बराबरको विदेशी मुद्रा आम्दानी । जीडीपीमा योगदान १.८ प्रतिशत ।
१०) आ.व. २०६८÷०६९ मा ३०७०.४ करोड नेपाली रुपियाँ बराबरको विदेशी मुद्रा आम्दानी । जीडीपीमा योगदान २.० प्रतिशत ।
११) आ.व. २०६९÷०७० मा ३४२१.१ करोड नेपाली रुपियाँ बराबरको विदेशी मुद्रा आम्दानी । जीडीपीमा योगदान २.० प्रतिशत ।

साथै गत आ.व. २०८१÷०८२ अर्थात् गतवर्षचाहिँ ८२ अर्ब १९ करोड ८६ लाख बराबरको विदेशी मुद्रा आम्दानी भएको छ । यो तथ्यांक पूर्ण नभएकोले गर्दा अझ बढ्न सक्ने अनुमान गरिएको छ । तर पर्यटनबाट भएको यो आम्दानीले नेपालको जीडीपीमा दिएको योगदानचाहिँ केवल ०.७५ प्रतिशत मात्रै रहेको अनुमान गरिएको छ । यो प्रतिशतलाई अत्यन्तै न्यून योगदान मान्नुपर्ने हुन्छ, जुन सही ठहरिएमा इतिहासमै पर्यटनबाट सबैभन्दा कम रहनेछ । हुन पनि नेपालमा अब यो वर्षको पर्यटन सिजन सकिनै आँटेको छ ।

त्यसो त नेपालको समग्र अर्थतन्त्रमा पर्यटनको योगदानको कुरो गर्दाखेरि नेपालको कुल गार्हस्थ्य उत्पादन अथवा भनौं जीडीपीमा समग्र पर्यटन क्षेत्रबाट सबैभन्दा धेरै ११ प्रतिशतसम्म पुगेको थियो भन्ने भनाइ रहेको छ । तर त्यो भनेको धेरै अघि अर्थात् पञ्चायतकालको हो भन्ने भनाइ विज्ञहरुको छ । नेपालको समग्र अर्थतन्त्रमा पर्यटनको योगदानको कुरो गर्दाखेरि आ.व. २०८०÷०८१ मा राष्ट्रिय तथ्यांक कार्यालय, नेपाल पर्यटन बोर्ड, राष्ट्र बैंक र विश्व पर्यटन संगठनले संयुक्तरुपमा गरेको ‘टुरिज्म सेटलाइट एकाउन्ट’ को शुरुवाती अध्ययनअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा समग्र पर्यटन क्षेत्रबाट ३.७७ प्रतिशत पुगेको रिपोर्ट प्रकाशित भएको थियो । त्यस्तै तथ्यांकमा जनाइएअनुसार ११.५ प्रतिशत रोजगारी सिर्जना भएको छ, पर्यटन क्षेत्रबाट । तर कोरोनाकाल अर्थात् सन् २०२०÷२०२१ ताकाचाहिँ पर्यटन क्षेत्रबाट नेपालको कुल गार्हस्थ्य उत्पादन योगदान लगभग १.६ प्रतिशत मात्रै रहेको थियो ।

त्यसो त लामो समयदेखि विश्वका विभिन्नि देशको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन उद्योगबाट प्रमुख योगदान रहने गरेको देखिन्छ भने केही देशको कुल गार्हस्थ्य उत्पादनमा चाहिँ पर्यटन क्षेत्रबाट नगन्य मात्रै योगदान रहेको देखिन्छ । यसरी तथ्य–तथ्यांक हेर्दाखेरि विभिन्न देशको जीडीपीमा पर्यटन उद्योगबाट फरक–फरक योगदान रहेको देखिन्छ ।

हुन पनि कुनै वेला (कोरोना महामारीअघि) विश्वको केही देशको जीडीपीमा पर्यटन उद्योगबाट ५२–५३ प्रतिशतदेखि ५७–५८ प्रतिशतसम्म योगदान रहेको थियो भने केही देशको ग्रस डोमेस्टिक प्रडक्टमा केवल ०.००२–००३ देखि ०.००४–००५ प्रतिशतसम्म मात्रै रहेको थियो । यसरी हेर्दाखेरि हरेक देशको जीडीपीमा पर्यटन उद्योगको फरक अंशमा योगदान रहेको देखिन्छ । केही देशको जीडीपीमा देशको आधाभन्दा बढी जीडीपीको योगदान पर्यटन उद्योगबाट रहेको देखिन्छ भने केही देशको चाहिँ जीडीपीमा पर्यटन उद्योगको योगदान अत्यन्तै न्यून रहेको देखिन्छ । जे होस्, अहिले विश्वमा १९५ वटा स्वतन्त्र र अरु देशको छातामुनि रहेका १५ वटा स–साना टापु देशहरु गरेर २२० वटा देश रहेको मानिन्छ । ती २२० देशहरुमध्ये केही देशको जीडीपीमा पर्यटनबाट ०.०१ प्रतिशत योगदान रहेको देखिन्छ ।
[email protected]