मर्स्याङदीको घेर्मुफाँटमा धान रोपाई शुरु

0
Shares

लमजुङ।

उत्तरी लमजुङको मर्स्याङदी गाँउपालिकामा यस वर्षको धान रोपाइँ सुरु भएको छ । मर्स्याङदी–५ घेर्मुका स्थानीय किसानहरुले धान रोप्न थालेसँगै यस क्षेत्रको कृषि गतिविधि पनि बढ्न थालेको छ ।

नेपालमा यस वर्षको मनसुन औपचारिक रुपमा भित्रिनुअघि नै घेर्मु गाउँका किसानहरु खेतबारीमा व्यस्त बनेका छन् । पर्याप्त सिँचाइ सुविधा भएका कारण रोपाइँ सुरु गरिएको स्थानीय किसान बिर्ख गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार खेतीयोग्य जमिनमा आवश्यक चिस्यान कायम रहेकाले किसानहरुले समयमै रोपाइँ थालेका हुन् । स्थानीय गुरुङका अनुसार मनसुन नआउँदै खेतमा पर्याप्त पानी भएकाले रोपाइँ सुरु गरेको बताउनु भयो ।

धान उत्पादनलाई गाउँको मुख्य आम्दानीको स्रोतका रुपमा लिइने यस क्षेत्रमा अधिकांश परिवार कृषि पेशामा आबद्ध छन् । समयमै रोपाइँ गर्न सके उत्पादन वृद्धि हुने अपेक्षासहित किसानहरु खेतमा जुटेका छन् ।

कृषि विकास कार्यालय लमजुङका अनुसार समयमै रोपाइँ हुँदा धानबालीको वृद्धि राम्रो हुने तथा उत्पादनमा समेत सकारात्मक प्रभाव पर्ने गर्दछ । मनसुन पूर्ण रुपमा सक्रिय भएसँगै जिल्लाका अन्य क्षेत्रमा पनि धान रोपाइँले तीव्रता पाउने अपेक्षा गरिएको छ ।

जिल्लामा पछिल्लो बर्षहरुमा ९ हजार दुई सय ९९ हेक्टर क्षेत्रफलमा बर्खे धान लगाउने कृषि कार्यलयको दावि छ । कृषि विकास कार्यालय लमजुङका कृषि अर्थविज्ञ मदन रेग्मीका अनुसार जिल्लाका ४५ हजार बढि हेक्टर क्षेत्रफलमा विभिन्न खेती हुँदै आएको छ । खेतीयोग्य जमिन मध्ये पछिल्लो समय खेत बाझो हुनेक्रम बढ्दो रहेको छ ।

कार्यालयका अनुसार पछिल्ला वर्षहरुमा श्रमशक्ती र रोपाईको लागी गोरुको अभाव हुँदै आएको छ । गोरुको अभाव भएसँगै अधिकाँश कृषकहरुले पछिल्ला वर्षहरुमा हाते ट्याक्टरको प्रयोगबाट पनि खेत रोप्दै आएका छन् । यद्यपी युवा जनशक्ती विदेश पलायन र गोरु पाल्ने क्रम पनि घट्दा रोपाई पनि घट्ने कार्यालयको अनुमान छ ।