फेसन व्यवसायमा पाइला चाल्दै गायिका एलिना‘रमणी बाइ एलिना’ सञ्चालनमा ल्याउने


काठमाडौं

चर्चित गायिका एलिना चौहानले फेसन तथा सौन्दर्यसम्बन्धी व्यवसायमा प्रवेश गर्ने भएकी छन्। उनले काठमाडौंको मध्यबानेश्वरमा ‘रमणी बाइ एलिना’ नामक कपडा तथा फेसन सामग्रीको स्टोर सञ्चालनमा ल्याउने तयारी गरेकी हुन्।

महिलालाई लक्षित गरेर खोलिन लागेको उक्त स्टोरमा साडी, कुर्ता, लेहेङ्गा, फेसन एक्सेसरिज तथा श्रृंगारका विभिन्न सामग्री उपलब्ध हुने जनाइएको छ। एलिनाका अनुसार महिलाको सौन्दर्य र पहिरनसँग सम्बन्धित आवश्यक सामग्री एउटै स्थानमा उपलब्ध गराउने उद्देश्यले यो व्यवसाय सुरु गर्न लागिएको हो।

‘रमणी’ शब्दले सुन्दर महिला वा युवतीलाई जनाउने बताउँदै एलिनाले यस नाममार्फत नेपाली संस्कृति र सौन्दर्यको भावलाई जोड्न खोजिएको बताएकी छन्। उनका अनुसार महिलालाई आकर्षक र आत्मविश्वासी बनाउन आवश्यक पर्ने विभिन्न सामग्री स्टोरमा समावेश गरिनेछ।

एलिनाले यो व्यवसायमा आफ्नो लामो समयको मेहनतबाट कमाएको रकम लगानी गरेको जानकारी दिएकी छन्। आर्थिक लगानीसँगै आफूले सांगीतिक यात्रा र सार्वजनिक जीवनबाट हासिल गरेको अनुभव तथा सिकाइलाई पनि व्यवसायमा उपयोग गर्ने योजना रहेको उनको भनाइ छ।

पछिल्लो समय धेरै कलाकारहरू विदेशतर्फ आकर्षित भइरहेका बेला आफू भने नेपालमै रहेर केही नयाँ गर्ने सोचका साथ व्यवसायमा लागेको उनले बताएकी छन्। सांगीतिक करिअरलाई निरन्तरता दिँदै व्यवसायलाई पनि सँगसँगै अघि बढाउने लक्ष्य रहेको उनको भनाइ छ।

उनले इमानदार मेहनतबाट कमाएको रकम लगानी गरेकाले यस प्रयासप्रति आफू निकै आशावादी रहेको बताएकी छन्। साथै शिवभक्त रहेकाले पसलको औपचारिक शुभारम्भ साउन महिनामा गर्ने तयारी रहेको जानकारी पनि दिएकी छन्।

हाल ‘रमणी बाइ एलिना’को निर्माण तथा आन्तरिक व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। स्टोर सञ्चालनमा आएपछि महिलाका लागि फेसन र सौन्दर्य सामग्रीको नयाँ गन्तव्य बन्ने अपेक्षा गरिएको छ।