विश्वकप २०२६ मा चम्कन सक्ने नयाँ पुस्ता

0
Shares

फुटबलको महाकुम्भ नजिकिँदै गर्दा विश्वभरका खेलप्रेमीहरूको नजर ती युवा प्रतिभाहरूमा अडिएको छ, जसले आफ्नो खुट्टाको जादुले खेलको इतिहास बदल्ने सामथ्र्य राख्छन् । मैदानमा उनीहरूको परिपक्वता, असाधारण गति र गजबको रणनीतिले स्थापित दिग्गजहरूलाई समेत चुनौती दिइरहेको छ । यहाँ यस्तै केही उदीयमान र बहुआयामिक विश्वस्तरीय खेलाडीहरूको चर्चा गर्दैछौं, जो आगामी प्रतियोगितामा विश्वकै केन्द्रबिन्दु बन्ने निश्चित छ ।

डिजिरे डुए (फ्रान्स) : फरवार्ड

गत वर्ष यूईएफए च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानविरुद्ध दुई गोल गर्दै २० वर्षीय डिजिरे डुएले पीएसजीका लागि आफ्नो वास्तविक परिचय दिएका थिए । त्यो प्रदर्शनलाई उनले अर्को उत्कृष्ट सिजनमार्फत अझ मजबुत बनाएका छन् । बायाँ विङबाट आक्रमण गर्न रुचाउने डुएले फरवार्ड लाइनका सबै भूमिकामा खेल्न सक्छन् । जसमा ‘फल्स नाइन’ को भूमिका पनि समावेश छ । उनी फ्रान्सका लागि क्षणभरमै खेलको दिशा बदल्न सक्ने प्रहारक हुन् । जुनसुकै भूमिकामा खेले पनि डुएले टिमका साथीहरूसँग छिट्टै तालमेल मिलाउँछन् । उनी केवल गतिका भरमा होइन, असाधारण सन्तुलन र शरीर नियन्त्रणका कारण रक्षकहरूलाई सजिलै छल्न सक्छन् । साथै, उनी उत्कृष्ट फिनिसरका रूपमा पनि विकसित भएका छन् । ठूला प्रतियोगिताका खेलहरू प्रायः एउटा विशेष क्षणले खुल्ने गर्छन् । डुएको अप्रत्याशित शैली तथा ठूला खेलमा चम्किने क्षमताले निर्णायक भूमिका खेल्न सक्छ ।

आर्दा गुलर (टर्की) : मिडफिल्डर

यो विश्वकपमा २१ वर्षीय गुलरले टर्कीका लागि नम्बर १० को भूमिका निभाउने अपेक्षा गरिएको छ । यद्यपि, उनले यस सिजन रियल मेड्रिडमा प्रायः मिडफिल्डको गहिरो स्थानबाट खेलेका थिए । मैदानको माथिल्लो भागमा खेल्दा उनको बायाँ खुट्टाको सटिक प्रहारले गोलरक्षकहरूलाई लगातार चुनौती दिनेछ । जबकि उनको चर्चित ड्रिब्लिङले उनलाई गोल नजिक पुग्न मद्दत गर्नेछ । गुलर प्राविधिक रूपमा अत्यन्तै उत्कृष्ट खेलाडी हुन् । उनको पहिलो स्पर्श र बल नियन्त्रण असाधारण छ । खेललाई पढ्ने क्षमता र तीव्र सोचका कारण अरूले उनको उद्देश्य बुझ्नुअघि नै उनी अर्को चालको तयारी गरिसकेका हुन्छन् । उनले एकै क्षणमा खेलको रूप बदल्न सक्छन् । त्यसैले टर्कीका लागि उनलाई सकेसम्म धेरै बल उपलब्ध गराउनु महत्त्वपूर्ण हुनेछ ।

लामिन यामाल (स्पेन) : विंगर

१८ वर्षको उमेरमै यामाल आफ्नो पुस्ताका सबैभन्दा उत्कृष्ट खेलाडी हुन् र उमेरको हिसाब नगर्दा उनी विश्वकै उत्कृष्ट खेलाडीमध्ये एक मानिन्छन् । सामान्यतः दायाँ विङबाट खेल्न सहज महसुस गर्ने यामाल केवल विङर मात्र होइनन् । उनको अद्भुत प्राविधिक क्षमता र उच्च खेल बौद्धिकताले उनलाई विशेष बनाउँछ । पहिलो रक्षकलाई पार गरेपछि उनीसँग धेरै विकल्प हुन्छन् । उनले गतिका साथ गोलतर्फ अघि बढ्न सक्छन्, पास दिन सक्छन्, उत्कृष्ट क्रस गर्न सक्छन् वा बायाँ खुट्टाबाट पास वा प्रहार गर्न सक्छन् । तीव्र गतिमा बल नियन्त्रण गर्ने क्षमता र कहिले गति बढाउने वा रोक्ने भन्ने समय छनोट असाधारण छ । बार्सिलोनाका लागि जस्तै स्पेनका अधिकांश आक्रमण पनि उनीमार्फत सञ्चालन हुन्छन् । तर, ह्यामस्ट्रिङको समस्याले समूह चरणमा उनको सहभागितामाथि केही प्रश्न उठाएको छ ।


निको ओ राइली (इङ्ग्ल्यान्ड) : इनभर्टेड फुलब्याक

यो सिजन २१ वर्षीय निको ओ राइलीका लागि वास्तविक रूपमा उदय भएको वर्ष साबित भयो । उनले ९ गोल र ६ असिस्ट गरे भने प्रिमियर लिग योङ प्लेयर अफ द सिजन अवार्डसमेत जिते । यद्यपि उनका अधिकांश खेल लेफ्ट–ब्याकको भूमिकामा आएका थिए । उनको खेलशैलीमा अझै पनि मिडफिल्डरको विशेषता स्पष्ट देखिन्छ । साँघुरा स्थानमा बल ग्रहण गर्ने क्षमता, गतिका साथ बल अगाडि बढाउने कला, खाली स्थानमा बुद्धिमतापूर्वक प्रवेश गर्ने बानी तथा सही समयमा पेनाल्टी क्षेत्रमा पुग्ने उनको क्षमताले उनलाई विशेष बनाएको छ । काराबाओ कपको फाइनलमा आर्सेनलविरुद्ध गरेका दुई हेडर गोलले उनको उत्कृष्ट टाइमिङ र खेल बुझेको क्षमता प्रमाणित गरेको थियो । बल बिना खेल्दा पनि उनी अत्यन्तै छिटो गतिमा मैदान कभर गर्न सक्छन् । आफ्नो शारीरिक बल राम्रोसँग प्रयोग गर्छन् र ठूलो क्षेत्रको रक्षात्मक जिम्मेवारी सम्हाल्न आवश्यक सहनशक्ति राख्छन् । उनको बहुआयामिक क्षमताले प्रशिक्षक थोमस टुचेलको रणनीतिसँग पनि राम्रो मेल खान्छ ।

एन्ड्रिक (ब्राजिल) : सेन्टर फरवार्ड

जनवरीदेखि लियोनमा बिताएको अत्यन्त सफल लोन अवधिले १९ वर्षीय एन्ड्रिकको प्रतिष्ठालाई पुनः मजबुत बनाएको छ । उनले १६ खेलमा ५ गोल र ७ असिस्ट गर्दै प्रभावशाली प्रदर्शन गरे । सन् २०२४ मा ७२ मिलियन युरोमा रियल मड्रिड पुगेपछि उनको करियरमाथि उठ्न थालेका प्रश्नहरूलाई यस प्रदर्शनले धेरै हदसम्म मेटाएको छ । एन्ड्रिकले लियोनलाई च्याम्पियन्स लिगमा छनोट गराउन तथा अपेक्षाभन्दा बाहिरको चौथो स्थान हासिल गर्न महत्वपूर्ण योगदान दिए । यसले प्रशिक्षक कार्लो एन्सेलोटीले उनीभित्र देखेको विशाल सम्भावनालाई फेरि प्रमाणित ग¥यो । विश्वकपमा ब्राजिलका लागि एन्ड्रिकले कहिले सेन्टर फरवार्ड त कहिले दायाँ विङमा खेल्ने अपेक्षा गरिएको छ । दायाँतर्फबाट भित्रतिर कट गर्दै जाने उनको दौडले उनको शक्तिशाली बायाँ खुट्टाको चर्चित फिनिसिङका लागि उपयुक्त कोण सिर्जना गर्छ । छोटो दूरीमा अत्यन्त तीव्र गति भएका एन्ड्रिक चुनौतीहरूबाट उम्किन, रक्षकहरूलाई छल्न र न्यूनतम ब्याकलिफ्टमै प्रहारका लागि स्थान बनाउन सक्षम छन् ।


निको पाज (अर्जेन्टिना) : आक्रामक मिडफिल्डर

कोमोका लागि खेल्दा २१ वर्षीय निको पाज बायाँ खुट्टाका सिर्जनात्मक खेलाडी हुन् । सामान्यतया स्ट्राइकरको पछाडि नम्बर १० को भूमिकामा खेल्ने उनी पासको बाटो र प्रहारको कोण खेल्न बायाँतर्फ सर्ने गर्छन् । उनले विपक्षी टिमका रक्षकहरूको सन्तुलन बिगार्न सक्छन् । उनका थ्रु–बलहरू मिलिमिटर स्तरको सटिकतासहित पुग्ने गर्छन् । तर, उनको सबैभन्दा खतरनाक हतियार भनेको प्रहार गर्ने क्षमता हो । जब उनले ठाउँ पाउँछन्, बायाँ खुट्टाले बललाई अत्यन्त शक्तिशाली रूपमा प्रहार गर्न सक्छन् । बलबिना पनि उनी प्रभावकारी रूपमा प्रेसिङ गर्छन्, जसले प्रशिक्षक लियोनेल स्कालोनीको योजनामा उनलाई उपयोगी बनाउँछ । तर, यस विश्वकपमा उनको भूमिका अझै स्पष्ट छैन, किनकि उनी टिममा तुलनात्मक रूपमा नयाँ सदस्य हुन् । उनले हालसम्म ८ अन्तर्राष्ट्रिय म्याच खेलेका छन् र मार्चमा मौरिटानियाविरुद्ध आफ्नो पहिलो गोल गरेका थिए ।
पाउ कुबार्सी (स्पेन) : सेन्टर–ब्याक


बार्सिलोनाका १९ वर्षीय डिफेन्डर पाउ कुबार्सी स्पेनको परम्परागत खेल शैलीसँग पूर्णरूपमा मेल खान्छन् । उनी बल नियन्त्रणमा उत्कृष्ट छन्, दबाबमा पनि शान्त रहन्छन् र मैदानको माथिल्लो भागमा रक्षा गर्न झन् सहज बन्दै गएका छन् । १९ वर्षको उमेरमै उनले क्लबका लागि १ सयभन्दा बढी म्याच खेलिसकेका छन् । खेल पढ्ने क्षमतामा विश्वास राख्ने अनुभवी सेन्टर–ब्याकजस्तै उनको टाइमिङ देखिन्छ । कुबार्सीको प्रमुख विशेषता उनको पासिङ हो । उनी केवल सुरक्षित पास खेल्ने खेलाडी मात्र होइनन्, विपक्षीको प्रेस तोड्ने लाइन–ब्रेकिङ पास दिन पनि सक्षम छन् । जसले स्पेनलाई दवाबबाट बाहिर निस्कन मद्दत गर्छ । रक्षात्मक पक्ष पनि अहिले निकै उच्चस्तरमा पुगेको छ । उनी प्रायः पूर्वानुमानका आधारमा चुनौतीमा जान्छन् र भावनात्मक निर्णयका कारण आफ्नो स्थान छोड्ने सम्भावना कम हुन्छ ।

जोआओ नेभेस (पोर्चुगल) : सेन्ट्रल मिडफिल्डर

पीएसजीमा जस्तै, २१ वर्षीय जोआओ नेभेसले पोर्चुगललाई पनि सफल टिमका लागि आवश्यक पर्ने धेरै महत्वपूर्ण गुणहरू प्रदान गर्छन् । उनी छिटो र सतर्क छन्, दबाबमा पनि बललाई सटिक रूपमा प्रयोग गर्छन् । डिफेन्सिभ नम्बर ६ र बक्स–टु–बक्स नम्बर ८ को मिश्रित भूमिकामा खेल्ने नेभेसले जोखिमपूर्ण पहिलो–स्पर्श पासको सट्टा छोटा र सटिक पासमार्फत मिडफिल्डलाई जोड्ने काम गर्छन् । अन्य चर्चित युवा प्रतिभाहरूभन्दा फरक उनको मूल्य सूक्ष्म पक्षमा लुकेको छ । खतरा चाँडै पहिचान गर्ने, दोस्रो बल जित्ने, खाली स्थान ढाक्ने र खेल खुला हुँदा टिमलाई संगठित राख्ने । सामान्य तथ्याङ्क हेर्दा उनको प्रभाव कम देखिन सक्छ, तर पोर्चुगललाई भरपर्दो, जिम्मेवार, अनुशासित र पार गर्न गाह्रो मिडफिल्डरको आवश्यकता छ । जुन भूमिका नेभेसले उत्कृष्ट रूपमा पूरा गर्छन् । खेलको गति नियन्त्रण गर्ने क्षमता, सन्तुलन र प्रतिस्पर्धात्मक धारका कारण उनी पोर्चुगलका लागि झन् महत्वपूर्ण बन्दै गएका छन् ।