–दीपकेको आन्दोलनले भारतीय राजनीतिमा नयाँ तरंग
–शिक्षामन्त्रीको राजीनामा माग्दै हजारौं युवा प्रदर्शनमा
काठमाडौं ।
सामाजिक सञ्जालमा व्यंग्य र ‘मिम’ अभियानका रूपमा सुरु भएको ‘कक्रोज जनता पार्टी’ अहिले भारतको राजधानी नयाँ दिल्लीको सडकमा उत्रिएको छ । पार्टीका संस्थापक अभिजित दीपकेको नेतृत्वमा शनिवार जन्तर–मन्तरमा भएको प्रदर्शनले भारतीय राजनीतिमा नयाँ बहस सुरु गराएको छ ।
अमेरिकाबाट शनिवार बिहान दिल्ली फर्किनुभएका ३० वर्षीय अभिजित दीपके सीधै आन्दोलनमा सहभागी हुनुभएको थियो । उहाँ नेतृत्वको आन्दोलनमा हजारौं युवाको उपस्थिति देखिएको छ भने शिक्षाविद् तथा जलवायु अभियन्ता सोनम वाङ्चुकसहित विभिन्न क्षेत्रका व्यक्तिहरूले पनि ऐक्यबद्धता जनाएका छन् ।
आन्दोलनकारीहरूले राष्ट्रिय प्रवेश परीक्षालगायत विभिन्न परीक्षामा देखिएको प्रश्नपत्र चुहावट, बेरोजगारी र शिक्षा क्षेत्रमा देखिएको अव्यवस्थाविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरूले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यक रहेको बताएका छन् ।
को हुन् अभिजित दीपके
महाराष्ट्रका स्थायी बासिन्दा अभिजित दीपके राजनीतिक सञ्चार रणनीतिकारका रूपमा परिचित हुनुहुन्छ । पुणेबाट पत्रकारितामा स्नातक गरेका दीपके हाल अमेरिकाको बोस्टन विश्वविद्यालयमा सार्वजनिक सम्बन्ध विषयमा स्नातकोत्तर अध्ययनरत हुनुहुन्छ ।
सन् २०२० देखि २०२२ सम्म उहाँले आम आदमी पार्टीका लागि सामाजिक सञ्जाल रणनीतिकारका रूपमा काम गर्नुभएको थियो । पछिल्लो समय भने उहाँ युवाको बेरोजगारी, शिक्षा र सामाजिक असन्तुष्टिका विषयलाई केन्द्रमा राखेर अभियान सञ्चालन गर्दै आउनुभएको छ । ‘कक्रोज जनता पार्टी’को सुरुवात कुनै परम्परागत राजनीतिक दलको रूपमा नभई सामाजिक सञ्जालमा गरिएको व्यंग्यात्मक अभियानबाट भएको थियो ।
गत मे महिनामा भारतका प्रधानन्यायाधीश सूर्यकान्तले एक सुनुवाइका क्रममा युवाहरूलाई लक्षित गर्दै ‘कतिपय युवा कक्रोजजस्तै छन्, जसलाई न रोजगारी छ, न कुनै स्पष्ट उद्देश्य’ भन्ने आशयको टिप्पणी गर्नुभएको थियो । उक्त अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आएको थियो ।
यही प्रसंगलाई आधार बनाएर अभिजित दीपकेले सामाजिक सञ्जालमार्फत ‘यदि सबै कक्रोजहरू एकजुट भए भने के हुन्छ ?’ भन्ने प्रश्न उठाउनुभएको थियो । त्यसपछि १६ मे २०२६ मा उहाँले ‘कक्रोज जनता पार्टी’ स्थापना भएको घोषणा गर्नुभएको थियो ।
सुरुवातमा यसलाई धेरैले मजाकका रूपमा लिए पनि केही सातामै यो अभियान युवामाझ लोकप्रिय बन्न पुग्यो । पार्टीको सदस्य बन्न बेरोजगार हुनुपर्ने, धेरै समय अनलाइन बस्ने र आफूलाई ‘प्रणालीबाट निराश’ ठान्नेजस्ता व्यंग्यात्मक मापदण्ड तय गरिएका थिए ।
शनिवार बिहान ७ः४५ बजे दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका दीपकेलाई प्रहरीले प्रारम्भिक सोधपुछपछि जन्तर–मन्तरमा प्रदर्शन गर्न अनुमति दिएको थियो । अनुमति साँझ ५ बजेसम्मका लागिमात्र प्रदान गरिएको बताइएको छ । प्रदर्शनलाई लक्षित गरी दिल्ली प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको थियो । जन्तर–मन्तर क्षेत्र र आसपासमा एक हजारभन्दा बढी प्रहरी तथा ¥यापिड एक्सन फोर्स परिचालन गरिएको थियो ।
प्रहरीका अनुसार प्रदर्शनका क्रममा सम्भावित झडप रोक्न छ जनालाई सुरक्षात्मक नियन्त्रणमा लिइएको छ । यद्यपि, आन्दोलन समग्रमा शान्तिपूर्ण रहेको जनाइएको छ । प्रदर्शनकारीहरूले तीन प्रमुख माग अघि सारेका छन् । जसमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, परीक्षा प्रणालीमा पारदर्शिता र सुधार, युवा बेरोजगारी समस्या समाधानका लागि ठोस नीति ल्याउनुपर्ने माग गरेका छन् ।
प्रदर्शनमा सहभागी युवाहरूले भारतीय झण्डा, संविधानका प्रति, डा. भीमराव अम्बेडकरका तस्वीर तथा विभिन्न प्लेकार्ड बोकेका थिए । कतिपयले कक्रोजको मुखौटा लगाएर विरोध जनाएका थिए ।











प्रतिक्रिया