हवाईमाथि ट्रम्प प्रशासनको कडा कारबाही, मेडिकेड ठगी नियन्त्रण इकाईको संघीय मान्यता खारेज


वाशिङ्टन डीसी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले मेडिकेड (गरिब तथा न्यून आय भएका नागरिकका लागि स्वास्थ्य बीमा कार्यक्रम) मा हुने ठगी नियन्त्रणका लागि देशभरका राज्यलाई कडा चेतावनी दिएको छ। यसैक्रममा हवाई राज्यको मेडिकेड फ्रड कन्ट्रोल युनिट (MFCU) को संघीय मान्यता (Certification) खारेज गरिएको छ।

अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभाग (HHS) का निरीक्षक जनरल मार्च बेलले हवाईका महान्यायाधिवक्ता एनी लोपेजलाई पठाएको पत्रमा सन् २०२२ देखि २०२५ सम्म मेडिकेड ठगी, बिरामीमाथिको दुर्व्यवहार तथा लापरबाहीसम्बन्धी कुनै पनि आपराधिक अभियोग वा सजाय सुनिश्चित गर्न नसकेको उल्लेख गर्दै संघीय मान्यता हटाइएको जनाएका छन्।

यस निर्णयसँगै हवाईको मेडिकेड ठगी नियन्त्रण इकाईले प्राप्त गर्दै आएको करिब ३० लाख अमेरिकी डलर बराबरको वार्षिक संघीय सहायता गुमाउने भएको छ। संघीय अधिकारीहरूले भविष्यमा राज्यको व्यापक मेडिकेड कोषसमेत जोखिममा पर्न सक्ने चेतावनी दिएका छन्।

ट्रम्प प्रशासनले यस कदमलाई स्वास्थ्य क्षेत्रमा हुने ठगीविरुद्धको राष्ट्रिय अभियानको हिस्सा भएको जनाएको छ। प्रशासनका अधिकारीहरूले आवश्यक सुधार नगर्ने अन्य राज्यहरूलाई पनि यस्तै कारबाही हुन सक्ने संकेत दिएका छन्।

यद्यपि हवाई राज्यका अधिकारीहरूले संघीय सरकारको आरोप अस्वीकार गरेका छन्। महान्यायाधिवक्ता लोपेजले सन् २०२१ यता नागरिक (सिभिल) मुद्दामार्फत करिब १ करोड ४० लाख डलर फिर्ता गराइएको र सन् २०२६ मा दुईवटा आपराधिक स्वास्थ्य ठगीका मुद्दा दर्ता गरिएको दाबी गरेकी छन्।

संघीय तथ्यांकअनुसार अमेरिकाभरका मेडिकेड ठगी नियन्त्रण इकाईहरूले सन् २०२२ देखि २०२५ बीच ४,८०० भन्दा बढी आपराधिक दोषसिद्धि गराएका छन्।