काठमाडौं ।
फिफा विश्वकप–२०२६ को पूर्वसन्ध्यामा आयोजित अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बलियो टोली फ्रान्स स्तब्ध भएको छ भने अर्को दाबेदार टोली स्पेन बराबरीमा रोकिएको छ ।
रोमाञ्चक भिडन्तमा फ्रान्सलाई आइभरी कोस्टले २–१ गोलअन्तरले पराजित गरेको हो । खेलमा सुरुवाती अग्रता फ्रान्सले नै लिएको थियो । पहिलो हाफको अन्तिम मिनेट अर्थात् ४५औँ मिनेटमा रायन चेर्कीले गोल गर्दै फ्रान्सलाई अघि बढाए पनि टोलीले त्यसलाई दोस्रो हाफमा जोगाउन सकेन ।
खेलको ५३औँ मिनेटमा आइभरी कोस्टका गुएला डुएले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि आक्रामक बनेको आइभरी कोस्टका लागि ८४औँ मिनेटमा अमद डायलोले निर्णायक गोल गर्दै फ्रान्स विरुद्ध ऐतिहासिक जित पक्का गरे ।
त्यसैगरी, अर्को बहुप्रतीक्षित मैत्रीपूर्ण खेलमा पूर्व विश्वविजेता स्पेन एसियाली प्रतिद्वन्द्वी इराकसँग १–१ गोलको बराबरीमा रोकिन पुगेको छ । खेलको १६औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए, जसका कारण स्पेनिस टोली खेलमा हाबी हुने संकेत देखिएको थियो । तर, स्पेनको त्यो खुसी धेरै समय टिक्न पाएन ।
उत्कृष्ट पुनरागमन गरेको इराकका लागि २७औँ मिनेटमा मर्चास डोस्कीले गोल गर्दै खेललाई १–१ को रोमाञ्चक बराबरीमा ल्याए । त्यसपछिको समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल बराबरीमै टुङ्गियो ।











प्रतिक्रिया