विराज फेरि एक्सन अवतारमा


लोकप्रिय अभिनेता तथा निर्देशक विराज भट्ट आफनो व्यावसायिक रूपमा सफल एक्सन फिल्म १२ गाउको सिक्वेल १२ गाउँ २ लिएर दर्शकमाझ फर्किने भएका छन्।

छायाँकनमा रहेको फिल्म वर्षको दशैंको फूलपातीमा प्रदर्शन गर्ने तयारी निर्माण टिमले गरेको छ। विराजकै निर्देशनमा निर्माणाधीन फिल्मको सुटिङ गीत छायाँकनबाट सुरु गरिएको थियो। काठमाडौं, सिन्धुपाल्चोक र चितवनलगायत विभिन्न स्थानमा छायाँकन हुने फिल्मको पहिलो भागले एक्सन र मनोरञ्जनमार्फत दर्शकमाझ बनाएको प्रभावपछि सिक्वेलप्रति उत्सुकता बढेको निर्माण पक्षको विश्वास छ।

लामो समयदेखि नेपाली फिल्मबाट टाढिएका राज हमाल करिब २० वर्षपछि पुनः यही फिल्मबाट नेपाली पर्दामा फर्किन लागेका छन्। बाटुली, जय शिव शंकर, म छुनी तिम्रोलगायतका फिल्ममा अभिनय गरेका हमाल यो फिल्मबाट पुनः नेपाली रजतपटमा फर्कन लागेका हुन्। फिल्ममा पहिलो भागमा चर्चामा आएका कलाकार कालु राना पनि निरन्तर रहने भएका छन्। १२ गाउ“मा विराज भट्टको किक लागेर नाक भाँचिएको दृश्यपछि चर्चामा आएका कालुको भूमिका सिक्वेलमा पनि रहने निर्माण टिमले जनाएको छ।

विराजसँगै समिर भट्ट, अनुप विक्रम शाही, काफिया शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, पुष्कर भट्ट, शिवकुमार सिंह, साहित सिंह ठकुरी, पूर्णबहादुर गन्धर्वलगायतका कलाकारले पनि अभिय गर्ने फिल्ममा कथा र पटकथा सन्तोष सरकार, संगीत युग भुसाल, देवेन्द्र बराल र डीपी खनाल, गायन सुगम पोखरेल, समीक्षा अधिकारी, प्रेरणा सिंह, किरण भुजेल र निशान भट्टराई र डीओपी महेश पौडेलको रहनेछ। एक्सन, ड्रामा र पारिवारिक भावनाको मिश्रण रहने बताइएको १२ गाउँ २ को वितरणतर्फ उपत्यकामा काफिया फिल्म्स् प्रालिले र उपत्यकाबाहिर कुबेर फिल्म्स्ले गर्नेछ।