परराष्ट्रमन्त्री खनाल भारत जाँदै


काठमाडौं ।

परराष्ट्रमन्त्री शिशिर खनाल आज शुक्रबार भारतको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । भारतका विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा उहाँ भारतको तीनदिने भ्रमणका लागि जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि जेठ २३ मा परराष्ट्रमन्त्री खनालले भारत भ्रमण गर्ने प्रचार गरिए पनि अन्तिम समयमा भ्रमण एक दिनअघि सारिएको हो ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेको भारत भ्रमणलगत्तै हुन लागेको यो भ्रमणमा परराष्ट्रमन्त्री खनालले भारतीय विदेशमन्त्री जयशंकरसँग द्विपक्षीय भेट गर्नुहुनेछ ।

भेटमा नेपाल र भारतबीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने उल्लेख गर्दै मन्त्रालयको विज्ञप्तिमा भनिएको छ– ‘वार्तामा दुई देशबीचको व्यापार, लगानी, सम्पर्क सञ्जाल, ऊर्जा क्षेत्र र जनता–जनताबीचको सम्बन्धलाई थप सुदृढ र विस्तार गर्नेबारे विचार विमर्श हुनेछ ।

’ यद्यपि, सीमा विवादसम्बन्धी एजेन्डा बैठकमा राखिएको वा नराखिएको बारे भने विज्ञप्तिमा उल्लेख गरिएको छैन । यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा सीमा विवाद वार्ताबाट टुंग्याउने कुरा गर्दैगर्दा बेलायतको पनि नाम लिनुभएपछि भारतले पत्रकार सम्मेलनमार्फत दुई देशबीचको मुद्दामा तेस्रो पक्ष स्वीकार्य नहुने जवाफ दिएको थियो ।