काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। पार्टीका महामन्त्री धवलशम्शेर राणासहितका प्रभावशाली नेताहरूले सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेपछि राप्रपा गम्भीर राजनीतिक संकटमा फसेको छ।
बिहीबार जारी संयुक्त विज्ञप्तिअनुसार उपत्यकामा उपलब्ध पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, जनवर्गीय संगठनका प्रतिनिधि तथा अगुवा कार्यकर्ताहरूले पहिलो चरणमा सामूहिक राजीनामा दिएका हुन्।
राजीनामा दिने प्रमुख नेताहरूमा महामन्त्री धवलशम्शेर राणा, उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी तथा नेता केशवराज श्रेष्ठ रहेका छन्।
नेतृत्वमाथि वैचारिक विचलनको आरोप
राजीनामा दिने समूहले पार्टीको वर्तमान नेतृत्वमाथि गम्भीर वैचारिक विचलन, स्वेच्छाचारिता र संगठनात्मक अनुशासन उल्लंघनको आरोप लगाएको छ।
विज्ञप्तिमा राप्रपाले बोकेको राजसंस्था पुनर्स्थापनाको मूल एजेन्डाबाट नेतृत्व विचलित भएको दाबी गरिएको छ। असन्तुष्ट पक्षले केन्द्रीय कार्यसमितिलाई समेत जानकारी नदिई तत्कालीन प्रधानमन्त्री पुष्प कमल दाहाल नेतृत्वको सरकारको ‘न्यूनतम साझा कार्यक्रम’ मा सहभागी हुनु पार्टीको सिद्धान्तविपरीत र आत्मघाती निर्णय भएको आरोप लगाएको छ।
उनीहरूले पार्टी विधानको पालना नभएको, आन्तरिक लोकतन्त्र कमजोर बनाइएको, निष्ठा र इमानदारी संकटमा परेको तथा राजसंस्था पुनर्स्थापनाका आन्दोलनहरूलाई नेतृत्वकै कारण कमजोर पारिएको समेत उल्लेख गरेका छन्।
निर्वाचन परिणामप्रति असन्तुष्टि
असन्तुष्ट नेताहरूले २०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीले अपेक्षित सफलता हासिल गर्न नसक्नुको मुख्य कारण नेतृत्वको गलत कार्यशैली रहेको दाबी गरेका छन्।
विज्ञप्तिमा नेतृत्वको कमजोरीका कारण जनविश्वास घट्दै गएको र निर्वाचनमा पार्टीका अधिकांश उम्मेदवारको जमानत जफत भएको उल्लेख गरिएको छ। साथै, संस्थापक तथा पुराना नेताहरूको योगदानलाई बेवास्ता गरिएको आरोप पनि लगाइएको छ।
राप्रपामा थप विभाजनको संकेत
पटक–पटक नेतृत्वलाई सचेत गराउँदा पनि सुधारको कुनै संकेत नदेखिएपछि आफूहरू पार्टीसँग सम्बन्धित सम्पूर्ण जिम्मेवारीबाट अलग भएको राजीनामा दिने समूहले जनाएको छ।
राप्रपाका प्रभावशाली नेताहरूको यस कदमले पार्टीभित्र थप ध्रुवीकरण र विभाजनको सम्भावना बढाएको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ। आगामी दिनमा अन्य नेता तथा कार्यकर्ताले पनि यही समूहलाई साथ दिने वा नदिने विषयले राप्रपाको भविष्यको दिशा तय गर्ने देखिएको छ।

















प्रतिक्रिया