काठमाडौं।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्जको ओपीडी सेवालाई थप छरितो, प्रविधिमैत्री र बिरामीमैत्री बनाउने उद्देश्यले काठमाडौं महानगरपालिकाले १ करोड ७० लाख रुपैयाँभन्दा बढी मूल्यका प्रविधि, साधन तथा उपकरण हस्तान्तरण गरेको छ ।
अस्पताल परिसरमा बिहीबार आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. सुवासप्रसाद आचार्यलाई ती उपकरण हस्तान्तरण गर्नुभएको हो । महानगरपालिकाले उपलब्ध गराएका उपकरण तथा प्रविधिका माध्यमबाट अस्पतालमा सेवा लिन आउने बिरामीले अब विभिन्न प्रशासनिक तथा उपचारसम्बन्धी प्रक्रिया सहज रूपमा पूरा गर्न सक्ने अपेक्षा गरिएको छ ।

महानगरपालिकाका अनुसार अस्पताललाई १६ वटा इन्ट¥याक्टिभ किओक्स मेसिन उपलब्ध गराइएको छ । यी मेसिनमार्फत बिरामीले शुल्क भुक्तानी गर्न, आफ्ना स्वास्थ्य परीक्षण तथा उपचारसम्बन्धी रिपोर्ट आफैं प्रिन्ट गर्न तथा घरबाटै उपचारका लागि आवश्यक रकम जम्मा गर्न सक्ने सुविधा प्राप्त गर्नेछन् ।
त्यसैगरी, उपचारसँग सम्बन्धित सम्पूर्ण विवरण, परीक्षणको नतिजा तथा रिपोर्ट एकै स्थानबाट हेर्न सकिने ६५ वटा ‘अल इन वन’ डेस्कटप कम्प्युटर पनि अस्पताललाई प्रदान गरिएको छ । सेवा प्रवाहलाई अझ चुस्त र प्रभावकारी बनाउन अस्पतालको सर्भर तथा ¥याम क्षमतासमेत वृद्धि गरिएको महानगरपालिकाले जनाएको छ । यी सबै प्रविधि, साधन तथा उपकरण खरिद र जडानका लागि महानगरपालिकाले कुल १ करोड ७० लाख १६ हजार ६७० रुपैयाँ खर्च गरेको जनाएको छ ।
उपकरण हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख डंगोलले सरकारी अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीले लामो समय लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रविधिको प्रयोग अपरिहार्य भएको बताउनुभयो । बिरामी र बिरामीका आफन्तले उपचारको पीडासँगै प्रशासनिक झन्झट पनि व्यहोर्नुपर्ने अवस्थालाई न्यूनीकरण गर्न महानगरपालिकाले सहयोग गरेको उहाको भनाइ थियो ।
“बिरामी र बिरामीका आफन्तहरू उपचारकै कारण तनाव र पीडामा हुन्छन् । त्यसमाथि टिकट काट्न, शुल्क तिर्न वा रिपोर्ट लिन घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था हुनु हुँदैन,” उहाले भन्नुभयो्, “प्रविधिको प्रयोगबाट यस्ता समस्या समाधान गर्न सकिन्छ । यही उद्देश्यले महानगरपालिकाले अस्पताललाई आवश्यक सहयोग उपलब्ध गराएको हो ।” उहाले महानगरपालिकाको सहयोगबाट अस्पतालको सेवा प्रणाली थप आधुनिक र प्रभावकारी बन्ने तथा सर्वसाधारणले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. सुवासप्रसाद आचार्यले महानगरपालिकाबाट प्राप्त सहयोग अस्पतालको सेवा व्यवस्थापनमा महत्वपूर्ण उपलब्धि भएको बताए। उपकरणको प्रयोग तथा अस्पतालमा गरिएको डिजिटल सुधारबारे प्रस्तुतीकरण गर्दै उनले पहिलो चरणको सहयोगबाट सेवामा प्रत्यक्ष सुधार देखिन थालेको उल्लेख गरे।
“महानगरपालिकाको सहयोगले अस्पतालको सेवा व्यवस्थापनमा उल्लेखनीय परिवर्तन सम्भव भएको छ,” उहाले भन्नुभयो, “पहिलो चरणको सहयोगबाट बिरामीले महसुस गर्न सक्ने सेवा दिन सफल भएका छौँ । आगामी चरणमा पनि यस्तै सहयोग प्राप्त हुने अपेक्षा गरेका छौँ ।” उहाका अनुसार आगामी दिनमा अस्पतालको क्यान्सर उपचार सेवासहित धेरै सेवाहरूलाई ‘पेपरलेस’ र ‘फेसलेस’ प्रणालीमा रूपान्तरण गर्ने योजना रहेको छ । यसले बिरामीलाई अस्पतालका विभिन्न शाखामा धाउनुपर्ने बाध्यता कम गर्ने र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विश्वास अस्पताल प्रशासनको छ ।

कार्यक्रममा अस्पतालका उपनिर्देशक प्रा. डा. पवनराज चालिसे र प्रा. डा. गोपाल सेढाइँले महानगरपालिकाले अस्पताललाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै यसले सेवा व्यवस्थापनलाई थप व्यवस्थित बनाउन मद्दत पुगेको बताउनुभयो । उहाहरूले आगामी दिनमा पनि महानगरपालिकाको निरन्तर साथ र सहयोग आवश्यक रहने धारणा व्यक्त गर्नुभयो । यसै अवसरमा वडा अध्यक्ष प्रेम थापाले अस्पतालको पश्चिम क्षेत्रबाट आउने पहुँच मार्ग खुलाउन वडा कार्यालयले सहयोग गरेको जानकारी दिनुभयो । यसबाट अस्पताल पुग्न सेवाग्राहीलाई थप सहज भएको उहाले बताउनुभयो ।
काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसीले महानगरका स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट प्रदान गरिने विशेषज्ञ स्वास्थ्य सेवाका लागि शिक्षण अस्पतालसँग थप सहकार्य गर्ने योजना रहेको जानकारी दिनुभयो । महानगरपालिकाले अस्पतालको सेवा व्यवस्थापनमा आफ्नो दायित्वअनुसार सहयोग उपलब्ध गराएको र यसबाट महानगरवासी प्रत्यक्ष लाभान्वित हुने उहाको भनाइ थियो ।
महानगरपालिकाले यसअघि पनि शिक्षण अस्पताललाई कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि भेन्टिलेटर, सिटी स्क्यान मेसिन तथा अस्पतालको बेड क्यु सिस्टम व्यवस्थापन प्रणालीलगायत विभिन्न उपकरण तथा सेवा व्यवस्थापनसम्बन्धी सहयोग उपलब्ध गराइसकेको छ । पछिल्लो सहयोगले अस्पतालको डिजिटल रूपान्तरणलाई थप गति दिने विश्वास गरिएको छ ।











प्रतिक्रिया