‘रामारोशन स्काई रन २०२६’ आयोजना हुने


काठमाडौं ।

नेपाल एड्भेन्चर रनिङ फेडरेसन (नार्फ) को आयोजनामा आगामी असार ३ मा सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र अछाममा ‘रामारोशन स्काई रन २०२६’ हुने भएको छ ।

फेडरेसनले आफ्नो पहिलो आधिकारिक स्काई रनिङ प्रतियोगिताका रूपमा यसलाई अघि बढाएको हो । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, रामारोशन गाउँपालिका तथा साँफेबगर नगरपालिकासँगको सहकार्यमा हुन लागेको यस कार्यक्रमको मुख्य उद्देश्य सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, साहसिक खेलकुद, पर्यटन र स्थानीय संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नु रहेको छ ।

“बाह्र बण्ड अठार खण्ड” का नामले प्रख्यात, समुद्री सतहबाट २ हजार ५० मिटरदेखि ३ हजार ८ सय ५० मिटरसम्म फैलिएको रामारोशन क्षेत्रका हिमाली ताल, विशाल पाटन, घना वन र मनोरम हिमशृङ्खलाहरूबीच हुने यस प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय स्काई रनिङ गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा आयोजकले राखेका छन् ।

प्रतियोगिताअन्तर्गत २८ किलोमिटर स्काई रनिङ च्यालेन्जमा पुरुष तथा महिला खुला विधामा प्रतिस्पर्धा हुनेछ भने स्थानीय युवाहरूलाई प्रोत्साहन गर्न २० वर्षमुनिका लागि ५ किलोमिटर सामुदायिक दौडसमेत समावेश गरिएको छ । २८ किलोमिटरको स्काई रनिङ मार्ग २,१५० मिटर उचाइको रामेखण्डबाट सुरु भई जिङ्गाले ताल, लामादह ताल, रोशन पाटन, ३,८२० मिटर उचाइमा रहेको चाँखाटप र किनिमिनीपाटन लगायतका प्रमुख प्राकृतिक स्थलहरू पार गर्दै पुनः रामेखण्डमै पुगेर टुङ्गिनेछ ।

धावकहरूको सुरक्षा र सुविधाका लागि मार्गभरि ६ वटा वाटर पोइन्ट र ६ वटा चेकपोइन्टको व्यवस्था गरिएको छ । प्रतियोगितामा अधिकतम १०० जना धावकलाई मात्र सहभागिताको अवसर प्रदान गरिनेछ, जसका लागि जेठ १९ देखि दर्ता खुला गरिएको छ । प्रतियोगिताको दर्ता शुल्क प्रतिसहभागी २५०० रुपैयाँ तोकिएको छ भने स्थानीय सहभागीका लागि दर्ता निःशुल्क गरिएको छ । साथै, दर्ता गर्ने पहिलो ३० जनालाई काठमाडौं-रामारोशन-काठमाडौं निःशुल्क यातायात सुविधा उपलब्ध गराइनेछ भने दर्ता भएका सबै सहभागीहरूलाई रामारोशनमा आवास, भोजन तथा अछामभित्र तोकिएको स्थानबाट आवतजावतको सुविधा दिइनेछ । सबै सहभागीले प्रमाणपत्र पाउनेछन् भने २८ किमीको मुख्य दौड पूरा गर्नेलाई फिनिसर मेडल प्रदान गरिनेछ ।

यस प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख ५२ हजार रुपैयाँ रहेको छ । २८ किलोमिटर स्काई रनिङ च्यालेन्ज अन्तर्गत पुरुष तथा महिला दुवै विधामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने धावकहरूले क्रमशः १ लाख, ७५ हजार र ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने शीर्ष १० स्थान हासिल गर्ने धावकहरूलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ । त्यसैगरी, स्थानीय प्रतिभा प्रोत्साहनका लागि आयोजना गरिने ५ किलोमिटर सामुदायिक दौडतर्फ पुरुष तथा महिला दुवै विधाका शीर्ष तीन विजेताले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।